काठमाडौं– पछिल्लो दिन काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दो छ । काठमाडौंको रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा केही दिनअघि राखिएको फोक्सोमा कालो मात्रा थुप्रिएकोले पनि प्रस्टिन्छ– प्रदूषणको स्थिति ।वातावरण विभागले डढेलोका कारण काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको जनाएको छ ।
हावाको गुणस्तर मापक सूचक (एक्युआई) का अनुसार आइतबार साँझसम्म काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा रहेको छ ।
एक्युआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने १०० भन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ ।काठमाडौंको एक्युआई अहिले १९२ सम्म पुगेको छ । सूचीको पहिलो स्थानमा इरानको तेहरान सहर रहेको जनाइएको छ ।
तेहरानको एक्युआई २९० पुग्दा तेस्रो स्थानमा बंगलादेशको ढाका चौथोमा थाइल्यान्डको च्याङमइ सहर रहेको छ । आइतबार बिहानमात्र च्याङमइ सहर पहिलो नम्बरमा रहेको थियो ।५१ देखि १०० सम्म एक्युआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिने गरिन्छ । त्यसभन्दा माथिको एक्युआई अस्वस्थकर हुन्छ । एक्युआई ३०० भन्दा माथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुने बताइएको छ । विज्ञह?ले वायु प्रदूषणबाट जोगिन सकेसम्म घरबाट ननिस्कन र निस्कनै परे मास्क लगाउन आग्रह गरेका छन् ।
आँखा जोगाउने कसरी ?
वायु प्रदूषण बढेसँगै आँखा पोल्ने समस्या देखिन थालेको छ । सर्वसाधारणले आँखा पोल्ने, पिरो हुनेजस्ता समस्या आउन थालेका बताएका छन् । प्रदूषणले आँखा पोल्दा आँखा ढाक्ने खालका चश्मा प्रयोग गर्न सकिने चिकित्सकको सुझाव छ ।
त्यसैगरी आँखा पोल्दा मिच्ने, जोडले धुने गर्न नहुने वरिष्ठ आँखा विशेषज्ञ डा. बेन लिम्बूको सुझाव छ । ‘आँखा पोल्दा हातले मिच्ने गर्नुहुँदैन । पानीले जोडले छ्याप्ने काम पनि गर्नुहुन्न । यसले दीर्घकालका लागि समस्या निम्तिन सक्छ,’ उनले भने ।
यसै सन्दर्भमा वरिष्ठ आँखा विशेषज्ञ डा. लिम्बूसँग
प्रभावले गरेको संक्षिप्त कुराकानीः
डा. बेन लिम्बू
वरिष्ठ आँखा विशेषज्ञ
- पछिल्ला दिनहरुमा आँखा पोल्ने, पिरो हुने समस्या बढेका छन्, कारण के होला ?
प्रदूषणको कारण पनि आँखा पिरो हुने गर्छ । अर्को कुरा जीवनशैली पनि हो । डिभाइसहरु धेरै समय चलाउँदा आँखा ड्राइ हुने गर्छ । र, आँखा पिरो हुने गर्छ ।
- अहिले काठमाडौं विश्वकै पहिलो प्रदूषित सहर बनेको छ, यसले आँखामा के असर गर्छ ?
आँखा सुक्खा हुने, धेरै पोलेमा इन्फेक्सन हुनसक्छ । आँखाको नानीमा घाउ हुनसक्छ र आँखा पाक्ने समस्याहरु पनि देखिन सक्छ ।आँखा पूरै छोपिने खालका चश्माहरु बजारमा पाइन्छन् । बाइक, स्कुटर प्रयोग गर्दा भाइजर प्रयोग गर्ने । घर फर्केपछि पानीले आँखा सफा गर्दा राम्रो हुन्छ । आँखा पोल्दा हातले मिच्ने गर्नुहुँदैन । पानीले जोडले छ्याप्ने काम पनि गर्नुहुन्न । यसले दीर्घाकालका लागि समस्या निम्त्याउन सक्छ ।
- आँखा धेरै पोलेमा समाधानका तत्कालीन उपाय के हुन सक्छन् ?
सकेसम्म त पानीले पखाल्ने । यतिले नभए औषधि पसलमा कृत्रिम आँशु निकाल्ने ‘आइ ड्रप’ पाइन्छ । आइ ड्रप प्रयोग गर्दा केही हदसम्म पोल्ने कम हुन्छ । यतिले नभए आँखा डाक्टरकहाँ पुगेर जाँच गर्दा राम्रो हुन्छ ।
- आँखालाई जोगाउन थप उपायहरु के छन् ?
धेरै समय एअर कन्डिसन कोठामा नबस्ने । सन्तुलित भोजन खाने । धुवाँधुलोबाट बच्ने । धूमपान मध्यपान नगर्ने । यस्तो गरेमा आँखालाई धेरै हदसम्म सुरक्षित बनाउन सकिन्छ ।