काठमाडौं– आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले पहिलो जित हासिल गरेको छ । राजधानीको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा लिगमा आप्mनो दोस्रो खेल खेल्दै नेपालले अमेरिकामाथि शानदार जित हासिल गरेको हो । शनिबार सम्पन्न खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात गर्दै अमेरिकामाथि मध्यम लक्ष्य प्रस्तुत गरेको थियो । जहिलेपनि ब्याटिङमा समस्या देखिँदै आएको नेपाली क्रिकेटमा शनिबार पनि सोही समस्यामा अल्झिन पुग्यो । नेपालले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनायो । एक सय ९१ रनको विजय लक्ष्य पछ््याउने क्रममा अमेरिकाको पारी ४४ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५५ रनमा समेटिएको थियो ।
नेपालका ओपनर ब्याट्सम्यान सुवास खकुरेलले आफ्नो विकेट तीन रनमै गुमाएपछि नेपालको इनिङ पूर्वकप्तान पारस खड्का र वर्तमान कप्तान ज्ञानेन्द्र मल्लले सम्हाल्ने प्रयास गरे । तर व्यक्तिगत २१ रनमा आउट भएपछि उपकप्तान दीपेन्द्रसिंह ऐरी शून्य रनमै आउट भए । त्यसपछि १८औँ ओभरमा पूर्वकप्तान पारस खड्का १९ रन बनाएर आउट भए । त्यसपछि आरिफ शेख दुई रन बनाउँदै आउट भएपछि नेपालले ४९ रन छँदा पाँच विकेट गुमाएको थियो ।
त्यसपछि एकदिवसिय क्रिकेटमा डेब्यू गर्दै छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका अलराउण्डर कुशल मल्ल र विनोद भण्डारीले नेपालको पारी सम्हाले । कुशलले डेब्यू खेलमै विस्फोटक पारि खेल्दै ५१ बल खेल्दै ५० रन बनाउँदै कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान बनाउँदै रोहित कुमार पौडेलको नाममा रहेको कीर्तिमान तोडे । कुशलले १५ वर्ष ३४० दिनको उमेरमा सो कीर्तिमान बनाएका हुन् । यसअघि रोहितले १६ वर्ष १४६ दिनको उमेरमा युनाइटेड अरब इमिरेटस् (युएई)विरुद्धको एकदिवसीय सिरिजमा उक्त कीर्तिमान बनाएका थिए ।
नेपालका लागि सातौं नम्बरमा ब्याटिङका लागि आएका विनोद भण्डारीले ७९ बल खेल्दै एक छक्का र छ चौकाका साथ ५९ रन बनाए । त्यस्तै नेपालका लाग करन केसीले १२ तथा सुशन भारीले ११ रन बनाए भने सन्दीप लामिछाने शुन्य रनमा आउट भए ।
बलिङतर्फ अमेरिकाका लागि क्यामरोन स्टिभनले तीन तथा रुस्टी थेरन र कप्तान सौरभ नेत्रवल्कारले २÷२ विकेट लिए । करिमा गोर, इयान होल्यान्ड र एलमोर हुचिसेनले १÷१ विकेट लिएका थिए ।
१ सय ९१ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको अमेरिकाका लागि नेपाली प्रारम्भिक बलहरूले प्रभावशाली बलिङ गर्दै दबाब राख्न सफल भए । अमेरिकाले चार ओभरमा १३ रन बनाउँदा चार विकेट गुमाएको थियो । तर, अमेरिकाका लागि इयान होल्यान्डले ७५ रनको अर्धशतकीय पारी खेल्दै खेल लम्ब्याएका थिए । उनलाई नेपालका करण केसीले ४४ औं ओभरमा टिमको स्कोर १४४ रन बनाउँदा आउट गरेपछि खेल नेपालतर्फ ढल्किएको थियो ।
अमेरिकाका होल्यान्डले ७५ रन, क्यामरेन स्टेभेनले १९ र करिमा गोरेले १० रन बनाउनुबाहेक अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि म्यान अफ द म्यान घोषित करण केसीले ७.१ ओभरमा १५ रन दिँदै ४ विकेट लिएका थिए भने, सुसन भारीले १० ओभरमा १ मेडन राख्दै ४३ रन खर्चिएर ३ विकेट हात पारे ।
सन्दीपले १० ओभर बलिङ गर्दै दुई मेडन राखी २७ रन खर्चिदै २ विकेट हात पारेका थिए । डेब्यूम्यान कुशल मल्लले दश ओभरमा एक मेडनसहित ३० रन दिएर १ विकेट हात पारेका थिए । नेपालले आइतबार तेस्रो खेल ओमानसित खेल्ने छ । यसअघि पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो ।