काठमाडौं– साउदी अरेबियाले आप्रवासी श्रमिकहरुलाई तीन महिने अस्थायी ‘वर्क भिसा’ दिने भएको छ । रोजगारदाताहरुलाई छोटो अवधिका लागि विदेशी श्रमिक भित्र्याउन सहयोग पु¥याउने उद्देश्यका साथ साउदीले उक्त नियम ल्याएको हो ।
साउदीले जारी गर्ने अस्थायी कामदार भिसा विनाकागजात र विनाश्रम प्रक्रिया सजिलै लिन सकिने त्यहाँको सञ्चारमाध्यम गल्फ न्युजले उल्लेख गरेको छ । उक्त भिसा जारी गर्ने ‘क्विवा’ प्लाटफर्मका अनुसार भिसा स्वीकृति पाउने विदेशी श्रमिकले तीन महिनासम्म साउदीमा काम गर्न पाउने छन् । यदि तीन महिनाको म्याद सकिए श्रमिकको आवश्यकता अनुसार पुनः तीन महिना अवधिकै भिसा थप गर्न सक्ने व्यवस्था गरिएको छ ।
यो भिसा पाउन रोजगारदाता वा क्विवाका आयुक्तहरुले आवेदन पेस गरेको हुनुपर्ने बताइएको छ । क्विवा साउदीको मानव संसाधन मन्त्रालयअन्तर्गत रहेको श्रम क्षेत्रका विभिन्न सेवाहरु प्रदान गर्न तयार गरिएको विद्युतीय प्लेटफर्म हो । यस भिसामार्फत छोटो समयका लागि विदेशी श्रमिक मगाउन चाहने रोजगारदाता व्यावसायिकरुपमा दर्ता भएको र भिसा माग गरेको समयसम्म सक्रिय भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
रोजगारीका लागि अस्थायी भिसा लिएका विदेशी श्रमिकलाई इकामा (बसोवास अनुमति) लिनुपर्ने आवश्यकता नपर्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै भिसा प्राप्त गरेका श्रमिकलाई काम गर्नका लागि वर्क परमिट र रेजिडेन्सीको आवश्यक पर्ने छैन । रोजगारदाताले माग गरेअनुसार अनलाइन निवेदन दिएलगत्तै विनाकागजात क्विवामार्फत भिसा जारी हुनेछ । यो भिसा इलेक्ट्रोनिक हुनुका साथै एक वर्ष मान्य अवधि हुनेछ । रोजगारदाताले चाहेमा अस्थायी कामदार भिसा ब्यालेन्स प्याकेज रद्द गर्न र सरकारी शुल्क फिर्ता गर्न सकिने उल्लेख छ । यसका लागि रोजगारदाता वा क्विवाका आयुक्तहरुले निवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।
साउदी सरकारले अस्थायी कामदार भिसालाई एउटा कार्यक्रमकै रुपमा अघि सारेको गल्फ न्युजले जनाएको छ । यस कार्यक्रममार्फत साउदीमा रहेका निजी कम्पनीहरुलाई छोटो समयका लागि तत्कालै विदेशी कामदार चाहिए परिपूर्ति गर्न सजिलो होस् भन्ने उद्देश्य राखिएको छ । साउदीमा आफ्नै नागरिकलाई रोजगारीका लागि पहिलो प्रथमिकता दिनुपर्ने प्रावधान राखिए पनि अस्थायी कामदार भिसाले कुनै फरक नपार्ने बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८० १२:२१