वायु प्रदूषण यतिखेर जटिल बन्दै गएको छ । विशेषगरी काठमाडौ उपत्यका यसबाट बढी प्रभावित भएको छ । विगत केही दिनयता उच्च बन्दै गएको वायु प्रदूषण स्वास्थ्यका लागि प्रतिकूल बन्दै गएको छ । वातावरण विभागका अनुसार अझै तीन दिन वायु प्रदूषण कायमै रहनेछ ।
केही दिनयतादेखि डढेलोका कारण काठमाडौंसहित देशभर वायु प्रदूषण बढ्दै गएको बताइएको छ । काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको हो । पदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा नचल्ने र पानी पर्ने पनि सम्भावना नरहेकाले प्रदूषण अझै केही दिन स्थिर रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका केही ठाउँमा लामो समयदेखि पानी नपरेको र धेरै ठाउँमा डढेलो लागेकाले वायु प्रदूषण उच्च भएको महाशाखाको भनाइ छ ।डढेलोबाट निस्किएको धुवाँसँगै पानी नपर्नु र हावा कम चल्नाले प्रदूषण सतह नजिक थुप्रिएको बताइएको छ । स्याटेलाइट तस्बिर हेर्दा काठमाडौं उपत्यकामा बारा, पर्सा र चितवनबाट निस्किएको धुवाँका कारण प्रदूषण बढेको विभागको भनाइ छ । बारा, पर्सा र चितवनबाट बागमती कोरिडोर हुँदै काठमाडौंमा आएको हावा अन्यत्र वहन नसक्दा काठमाडौं उपत्यकामा प्रदूषणको मात्रा बढेको हो ।
प्रदूषणबाट जोगिन सावधानी अपनाउन तथा वायु प्रदूषण बढिरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्क र चस्माको अनिवार्य प्रयोग गर्न विभागले आग्रह गरेको छ । जलवायु तथा विपद्विज्ञ डा. धर्म उप्रेतीले सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने र अत्यावश्यक काम नभई घरबाट बाहिर निस्कन नहुने बताए । उनले प्रदूषण हट्न अझै केही दिन लाग्ने पनि बताए ।
वायु प्रदूषणका कारण ब्लड प्रेसर बढ्ने, मुटुको समस्या, क्यान्सरलगायतका समस्याहरू बढ्ने भएकाले सावधानी अपनाउनसमेत वातावरण विभागका प्रवक्ता पौडेलले जानकारी दिए ।बढ्दो वायु प्रदूषणको प्रभावबाट जोगिन विज्ञहरुले दिएको सुझावलाई मनन गर्न जरुरी छ । वायु प्रदूषणको मुख्य स्रोत अहिले डढेलो देखिएकोले डढेलो नियन्त्रणमा सरकारले ध्यान दिनुपर्छ ।
त्यसबाहेक वायु प्रदूषण बढाउने अन्य कार्यहरु न्यूनीकरणमा पनि सरोकारवाला सबैको ध्यान दिनुपर्छ । वायु प्रदूषणको प्रभाव न्यूनीकरणमा सरकारले तत्काल काम गर्नुपर्छ । जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने वायु प्रदूषणबाट जनतालाई जोगाउनु सरकारको दायित्व हो । यसप्रति तीनै तहका सरकार जिम्मेवार बन्नुपर्छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८० १५:२५