काठमाडौं– महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित घर (कविकुञ्ज)लाई सरकारले सङ्ग्रहालय बनाउने प्रक्रिया अगाडि बढाएसँगै मूर्धन्य नाटककार तथा कवि बालकृष्ण समको ज्ञानेश्वरस्थित निवासलाई पनि सङ्ग्रहालय बनाउने चर्चा सुरु भएको छ । समको ११८ औँ जन्मजयन्तीको सन्दर्भमा शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्द्वारा प्रज्ञा भवनमा आयोजित ‘नेपाली काव्यमा बालकृष्ण समको योगदान’ विषयक कार्यक्रममा वक्ताहरूले यस्तो चर्चा गरेका हन् ।
कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले काठमाडौंको ज्ञानेश्वस्थित समको निवासलाई प्रज्ञा–प्रतिष्ठानले सङ्ग्रहालय बनाउन चाहेको बताए । ‘समका परिवारजनले अनुमति दिएमा प्रज्ञा–प्रतिष्ठान समको घरलाई सङ्ग्रहालय बनाउन तयार छ’ उनले भने, ‘यस विषयमा तत्कालै सरकारसँग प्रस्ताव राख्छौँ र समका परिवारजनसँग छलफल चलाउँछौँ ।’ उनले प्रज्ञा–प्रतिष्ठानमा नेपाली वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका मूर्धन्य स्रष्टाहरूको सामूहिक सङ्ग्रहालय बनाउने प्रक्रिया पनि अघि बढाइएको जानकारी दिए ।
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले राणा कुलमा जन्मिएर पनि समले साहित्य सिर्जना, नाटकमा अभिनय र चित्रकलामार्फत् समानता र न्यायको पक्षमा सशक्त आवाज बुलन्द गरेको बताए । उनले नाटक र छन्द कवितामार्फत नेपाली भाषा तथा वाङ्मयको श्रीबृद्धिमा समले विशिष्ट योगदान पुर्याएको बताए ।
प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले सम नाटक र कविता विधामा मात्र नभएर निबन्ध विधामा पनि उत्तिकै अब्बल रहेको बताए । उनले सम समन्वयवादी चिन्तक, दार्शनिक एवम् वैचारिक स्रष्टा भएको उल्लेख गरे । प्रा.डा. देवीप्रसाद सुवेदीले ‘नेपाली काव्यमा बालकृष्ण समको योगदान’ विषयमा बोल्दै समलाई नाट्य सम्राट भनिए पनि उहाँको मुख्य विधा कविता नै भएको बताए । उनले भने, ‘समले जीवनको अन्तिम घडीसम्म पनि कविता विधालाई निरन्तरता दिएका थिए ।
नेपाली शिक्षा परिषद्की सदस्य सचिव प्राज्ञ रमा शर्माले समको निवासलाई सङ्ग्रहालय बनाउने विषयमा आवश्यक सहयोग गर्न परिषद् तयार रहेको बताए । कार्यक्रम अघि कुलपति, सदस्य सचिव, प्राज्ञ एवं विशिष्ट स्रष्टा–सर्जकहरूले कमलपोखरी र प्रज्ञा परिसरमा रहेको समको प्रतिमामा माल्यार्पण गरी समप्रति श्रद्धा अर्पण गरेका थिए ।