काठमाडौं– चन्द्रसूर्य अंकित हाम्रो नेपाली झण्डाको गौरव गाथा झल्काउँदै तयार भएको राष्ट्रिय गीतको भिडियो ‘गुराँसको रातो रंग’ हालै सार्वजनिक भएको छ । बरिष्ठ गीतकार टेक तामाङको शब्दमा गायक जगदिश समालको स्वर र बुद्ध स्याङबाको संगीत रहेको छ ।
‘झण्डा कुनै पनि देशको पहिचानको प्रतिक हो । राष्ट्रको सार्वभौमिकता, स्वतन्त्रता र गौरवको प्रतिक बनेर राष्ट्रिय ध्वजा फहराएको हुन्छ । झण्डाले राष्ट्रिय भावनालाई प्रतिनिधित्व गर्ने हुनाले नै झण्डा सधैँ देशवासीको मन, मुटुमा बसेको हुन्छ, चाहे त्यो संसारको जुनसुकै ठाउँमा बसेको होस् । आफनो देशको झण्डाले देशवासीको छाती गर्वले फुल्दछ र शीर श्रद्धाले झुक्दछ ।’ गीतको भावमा यस्तो व्याख्या गरिएको छ ।
सिने नेपालको निर्माणमा बनेको भिडियोेकोे छायांकन मलेसियाको विभिन्न स्थानमा गरिएको छ । भिडियो प्रकाश वाइबाले निर्देशन र छायांकन गरेका हुन् । कञ्च क्रियटिभ प्रालिले बजारमा ल्याएको भिडियोमा दिनेश थिङ, रक्की तामाङ, वाङठुले शेर्पा, ङिमा तामाङ, अविरल तामाङ, सविन लामा, संगीता जिम्बा, मन्जु तामाङ, महेन्द्र चौधरी, विमल वाइबा, बुद्ध तामाङ, राज थिङ र तुलशा तामाङ रहेका छन् ।
यसैगरी राज मगर, रमेश तामाङ, वाङजेन लामा, नयन बान्तवा राई, बुद्धि स्याङ्तान, प्रकाश वाइबा, फुलमाया थिङ, भिमस तामाङ, मनिष स्याङ्तान, सन्तोष बमजन, सिंगम तामाङ, विराज तामाङ, दिनेश सापकोटा, मीन पौडेल, राजन राई, ममता राई लगायतका कलाकारहरूले अभिनय गरेका छन । यसरी विभिन्न समुदायको उपस्थिति देखाएर बहुजातीय फूलहरूले सजिएको सुन्दर बगैंचा स्वरूप नेपाल रहेको उल्लेख भएको छ ।
गीतकार तामाङको यसअघि नजिक भएर पनि, ‘तिमीलाई माया गर्छु, आमा, जीवनसाथी, माया गरेर हेर, मै खुकुरी अघिसरी’ सहित आधुनिक, राष्ट्रिय र सेलो गरेर १ हजार गीत रेकर्डिङ र प्रकाशन भएर आइसकेका छन् । नेपाल प्रहरी सेवाको एसएसपी पदमा कार्यरत तामाङले एक हातमा कर्तव्यबोध बन्दुक भएपनि अर्को हातमा कलम बोकेर सिर्जना गरिरहेका छन् ।