शून्यमा झरेको कोरोना भाइरसको संक्रमण अहिले बढ्दै गइरहेको छ । पछिल्लो समय संक्रमदर बढ्ने मात्रै होइन संक्रमितको मृत्युसमेत हुन थालेको छ । मंगलबार पनि कोरोना भाइरसको संक्रमणबाट दुई जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार संक्रमित दुई जनाको मृत्यु भएको हो । यसले कोरोनाको संक्रमणले फेरि खतराको संकेत गरेको छ ।
मन्त्रालयका अनुसार मंगलबार दुई हजार २९२ जनामा गरिएको परीक्षणमा १७१ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्ला दिनहरुमा एक सयको हाराहारीमा संक्रमित थपिँदै आएका छन् । काठमाडौं उपत्यकामा २२ जना आइसोलेसन, आठ जना सघन उपचार कक्ष (आइसियू), चार जना भेन्टिलेटरमा उपचाररत रहेका मन्त्रालयको भनाइ छ ।
छिमेकी मुलुक भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सबिबी १.१६’ नेपालमा पनि देखिएसँगै संक्रमित बढ्न थालेको हो । नेपाल–भारत खुला सीमा तथा ठूलो संख्यामा आउजाउ हुने भएकोले कोरोनाको नयाँ भेरियण्ट नेपालमा आइपुग्नु कुनै नौलो कुरा होइन । बरु, भारतमा नयाँ भेरियण्टको संक्रमण बढ्दै जाँदा सीमानाकामा सतर्कता नअपनाउनु नेपाल सरकारको कमजोरी हो ।
कोरोनाले मुलुकलाई थिलोथिलो बनाएको घट्ना ताजै छ । उक्त महामारीले थला पारेको मुलुकको अर्थतन्त्र अहिलेसम्म उठ्न सकेको छैन । मानवीय क्षतिको पक्ष अलग्गै छ । त्यसैले फेरि संक्रमण बढ्न नदिन सरकारले सचेतता अपनाउन सक्नुपथ्र्यो, त्यो देखिएन ।पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै जानुले सरकारी बेवास्ता प्रस्ट हुन्छ । भारतमा देखिएको नयाँ भेरियण्ट तीव्र गतिमा संक्रमण हुने बताइएको छ ।
नेपालमा पनि यसको प्रवेश भइसकेकोले जनस्वास्थ्यका मापदण्डहरुको पूर्णपालना गराउनु सरकारको दायित्व हो । साथै, जनस्तरबाट पनि स्वयंले सतर्कता अपनाउन जरुरी छ । महामारीबाट बच्नु र महामारी फैलन नदिनु आमनागरिकको कर्तव्य हो ।पछिल्लो समय दैनिक संक्रमण बढ्दै गएको संक्रमणले सतर्कता अपनाउन ढिलाइ गर्न नहुने प्रस्ट पार्दछ ।
मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार अहिले देखापरेको भेरियन्ट संक्रामक रहेको छ । संक्रमण बढ्न थालेपछि मन्त्रालयले अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ । महामारी नियन्त्रण सरकारको एक्लो प्रयासले मात्र सम्भव छैन । त्यसैले हरेक नागरिक यसमा जिम्मेवार बन्नुपर्छ । कोरोना संक्रमण फैलिन नदिन सबैले आ–आफ्नो स्थानबाट भूमिका खेल्नुपर्छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८० १२:५४