काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर पाँचौँ कागेश्वरी महोत्सव आगामी फागुन ५, ६ र ७ गते आयोजना हुने भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी धाम क्षेत्रलाई प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
धामलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आर्थिक वर्ष २०७३÷७४ मा प्रदेशसभा सदस्य रामेश्वर फुयाँलको सांसद कोषबाट रु पाँच लाखको लागतमा २२७ किलो अष्टधातुबाट कागको मूर्ति निर्माण गरिएको छ । यसलाई हालसम्म नेपालकै ठूलो कागको मूर्ति मानिन्छ ।
लिच्छवीकालीन गणेश मूर्ति र गुफा पनि यहाँको आकर्षणको केन्द्र हो । यहाँका धार्मिक एवं पर्यटकीयस्थललाई चिनाउन ०७२ सालदेखि प्रत्येक वर्ष फागुन ७ गते महोत्सव आयोजना गर्ने गरिएको छ । रासस
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६ ०८:३८