काठमाडौं– सेयर बजार परिसूचक नेप्सेमा आज बुधबार दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार आज नेप्से सूचक १५.१३ अंकले बढ्दै १९ सय २०.१२ अंकको विन्दुमा पुगेर बजार बन्द भएको हो । अघिल्लो दिन ३.०७ अंकले नेप्से घट्दै १९ सय ४ अंकको विन्दुमा अडिएको थियो ।
त्यसो त १५ अंकले नेप्से बढ्दै गर्दा आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.८५ अंकले बढ्दै ३६५.९० अंकमा उक्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । तर, कारोबार रकम भने ८७ करोड २१ लाख ४१ हजार रुपैयाँमा खुम्चिन पुगेको छ ।
आज म्युचुअल फण्ड बाहेकका १२ वटा उपसूचक धनात्मक भएका छन् । डेभलपमेन्ट बैंक समूहको उपसूचक १.२७ प्रतिशतले बढेको छ भने आज ट्रेडिङ र फाइनान्स समूहको उपसूचक समान १.१३ प्रतिशतले बढेका छन् । अन्य ९ वटा उपसूचक भने १ प्रतिशत कमले वृद्धि भएका छन् ।
आज म्युचुअल फण्डको उपसूचक भने ०.४७ प्रतिशतले घट्न पुगेको छ । कालिन्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनीका सेयर धनीहरूले समान ९.९९ प्रतिशतले कमाएका छन् भने आज आदर्श लघुवित्त वित्तीय संस्थाका सेयर धनीहरूले १० प्रतिशतले गुमाउन पुगेका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८० १५:५४