काठमाडाैं - एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षमा एघार प्रतिशतले नाफा आर्जन गरेको छ।
चालु आर्थिक चैत मसान्तसम्ममा चार अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरी बैंकले जनाएकाे छ।
विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।यो गत आर्थिक वर्षको तुलनामा ११.३८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.६१ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १४.२७ प्रतिशत बढेको छ।
त्यसैगरी, बैंकको सञ्चालन मुनाफा १३.१० प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब २ करोड ३१ लाख रुपैयाँ रहेको छ।नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ।
समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ३५ पैसा बढेर ४६ रुपैयाँ २९ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.४४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४८ रुपैयाँ ८८ पैसा रहेको छ।
पछिल्लो दुई वर्षदेखि लाभांश वितरण गर्न नपाएको यस बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड रहेको छ भने जगेडा कोषमा १७ अर्ब २१ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो ९ महिनामा बैंकको निक्षेप ८.५९ प्रतिशत बढेको छ भने कर्जा ५.४५ प्रतिशत बढेको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० ०८:०४