फोहोर व्यवस्थापनको जिम्मेवारी संघीय सरकारले स्थानीय तहलाई दिएको छ । कंक्रिटका संरचना बढ्दै गएसँगै फोहोर व्यवस्थापन असजिलो बन्दा यही बाध्यतालाई नेतृत्व तहले भने ‘बार्गेनिङ टुल’ बनाउन थालेका छन् । केही दिनअघि काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) साहले यसरी नै फोहोरलाई ‘बार्गेनिङ टुल’ बनाए ।
जनस्वास्थ्यजस्तो गम्भीर विषयलाई असर पर्ने गरी मेयर बालेनले सिंहदरबारको फोहोर नउठाउने अड्डी कस्दा उनले बिर्सनै नहुने कुरा हो गएको जेठमा सिसडोलमा स्थानीयलाई नमस्ते गर्दै विन्ती बिसाएको विषय । मेयरमा निर्वाचित हुनसाथ मेयर बालेन बञ्चरेडाँडा र सिसडोलको ल्याण्डफिल्ड साइट कुद्नुप¥यो किनकि तीन महिनादेखि काठमाडौंको फोहोर उठ्न सकेको थिएन । विभिन्न माग राख्दै ल्याण्डफिल्ड साइटका स्थानीय आन्दोलित भएपछि काठमाडौंको फोहोर चोकचोकमा थन्क्याइयो ।
काठमाडौं डुङ्डुङ गन्हाउन थालेपछि बालेन त्यता कुदे । हरतरहका हारगुहार गरे र जेठको दोस्रो हप्तादेखिको प्रयास बल्ल तेस्रो हप्तामा सफल भयो । धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र काठमाडौं महानगरपालिकाबीच १८ बुँदे सहमति भएपछि फोहोर व्यवस्थापन हुन थाल्यो ।
फोहोर थुपार्दा कतिको सकस हुन्छ भन्ने कुरा सायद बुझेरै होला बालेनले सिंहदरबारसँग आफ्नो माग सम्झाउँदै एक्सनमा उत्रिए फोहोर नउठाउने भन्दै । बालेनले यो थ्योरी दुई साता नबित्दै डम्पिङ साइटका स्थानीयले ‘क्यारी अन’ गरिसकेका छन् ।
मंगलबार बञ्चरेडाँडा र सिसडोल ल्याण्डफिल्ड साइटका स्थानीयले सरकारले महानगरलगायत १८ स्थानीय तहले सम्झौताहरु पूरा नगरेको भन्दै छ बुँदे माग राखेका छन् । ती माग पूरा गर्न धुनिवेसीका मेयर बालकृष्ण आचार्य र ककनी गाउँपालिकाका अध्यक्ष सुमन लामाले प्रेस विज्ञप्ति जारी गर्र्दै १५ दिने अल्टिमेटम दिइसकेका छन् ।हुन पनि ल्याण्डफिल्ड साइटका बासिन्दाले नाक थुन्दै, आँखा थुन्दै काठमाडौं महानगरसँग १७० पटकभन्दा बढी सम्झौता गरिसकेको रहेछ ।
फोहोर निष्कासनमा पहिलो नम्बरमा पर्छ काठमाडौं महानगर । त्यसैले यो मामलामा महानगरमाथि नै प्रश्न उठ्दै आएको छ । ल्याण्डफिल्ड साइटबासीले २०७९ जेठ २६ गते भएको सम्झौताका बुँदाहरु कार्यान्वयन गर्न जोडदार माग गरेको छ । आफू सम्झौताबाट भाग्ने अनि अरुको शैली पछ्याएर बार्गेनिङ गर्ने जोसुकै शासक जनताका सेवक हुन सक्दैनन् । कामै नगर्ने, आफ्नै बोलीमात्र ठूलो गर्ने जनप्रतिनिधि ककनीका होस् या काठमाडौंका त्यो काम छैन । अझ फोहोर देखाएर आफ्नो पावर एक्सरसाइज गर्ने शासकलाई सबैले नो भन्न सक्नुपर्छ । अझैबाट सबैले भनौं– जनस्वास्थ्यमा गम्भीर असर पुग्ने फोहोरमा गरिने राजनीति बन्द गर ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० १७:५६