काठमाडौं - गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले दोस्रोपटक विश्वासको मत लिँदै छन् । उनले आज अपराह्न ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए।
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको थियो । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले प्रदेशसभाबाट विश्वासको मत लिन लागको हो ।
संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ । साठी सदस्यीय प्रदेशसभाको विश्वास लिन मुख्यमन्त्रीलाई ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । गत पुस २५ मा एमालेसहित माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्री बनेको हो ।
मुख्यमन्त्री अधिकारीले संवैधानिक व्यवस्थाको पूर्ण पालना गर्दै आफूले २९औँ दिनमा विश्वासको मतको सामना गर्न लागेको बताए । प्रदेशसभाको अङ्कगणित हेर्दा उनले विश्वासको मत पाउने सम्भावना भने कम देखिन्छ । सरकार गठनका लागि निर्णायक माओवादी केन्द्रले समर्थन फिर्ता लिएर नेपाली कांग्रेससँगको गठबन्धनमा पुगेको छ ।
प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका आठ (सभामुखसहित), राप्रपाका दुई र एक स्वतन्त्र सदस्य रहेका छन् । मुख्यमन्त्री अधिकारी विश्वासको मत प्राप्त गर्न नसके स्वतः पदमुक्त हुनेछन् । वर्तमान सरकार ढलेपछि संवैधानिक व्यवस्था अनुसार नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ ।
प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८० ११:४५