७० को दशक हामीबाट बिदा भएको छ । यस दशकमा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिसन (प्राप्ति)मा केन्द्रित हुन पुगे । १० वर्षमा १८३ बैंक तथा वित्तीय संस्था घट्न पुगे ।
एक दशकअघिसम्म ३२ वटा वाणिज्य बैंक, ९२ वटा विकास बैंक, ७८ वटा फाइनान्स कम्पनी र १०१ वटा लघुवित्त वित्तीय संस्था थिए । ठूलो संख्यामा रहेका बैंक तथा वित्तीय संस्थाहरु आपसमा गभिँदै गए । हाल यो संख्या घटेर २२ वटा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी १७/१७ वटा र लघुवित्त वित्तीय संस्था ६४ वटामा आएका छन् ।
एकातिर बैंक तथा वित्तीय संस्था यो दशकमा घट्न पुगे भने अर्कोतिर यही दशकमा बैंक तथा वित्तीय संस्थाले कोरोनाको मार बेहोर्नुप¥यो । कोरोनाको समयमा बैंकहरुमा अत्यधिक लगानीयोग्य रकम (तरलता) छ्यालब्यालती हुँदा सर्वसाधारणले बैंकमा राखेको पैसाको ब्याज नगन्य मात्रमा पाए । बैंकले प्रवाह गर्ने ऋणको ब्याजदर पनि घट्न पुग्यो र एकल अंकमा झ¥यो ।
तर, यो दशकको अन्त्यमा अर्थात् करिब एक वर्षदेखि बैंकमा लगानीयोग्य रकमको अभाव हुन पुग्दा बैंकको ब्याजदर चुलिन पुग्यो । सात–आठ प्रतिशतमा पाइने ऋणको ब्याजदर दोब्बर १७–१८ प्रतिशतसम्म पुग्यो । ब्याजदर बढेका कारण आर्थिक गतिविधि शिथिल हुन पुग्यो ।यसैगरी, यो दशकमा नै नेपालका बैंक तथा वित्तीय संस्थाले निकै उत्तारचढाव बेहोर्नुप¥यो । बैंकको उच्च ब्याजदरका कारण बैंकर र व्यवसायीबीच वाकयुद्ध नै चल्यो । बैंकका कर्मचारीमाथि हमलासमेत हुन पुग्यो ।
यो दशकमा नेपालका मात्रै होइन, विदेशी बैंकहरु पनि धर्मराउन पुगे । खासगरी, अमेरिकाका दुई बैंक र स्वीजरल्याण्डको एक बैंकका कारण सम्पूर्ण विश्व नै त्रसित हुन पुग्यो । नेपालका बैंक पनि डुब्ने हुन् कि भन्ने त्रासमा बस्नुप¥यो । केन्द्रीय बैंकले यही दशकमा विदेशी मुद्राको सञ्चिति बढाउन पुग्यो ।नेपालका बैंक तथा वित्तीय संस्थाहरुलाई बलियो बनाउँदै लैजाने नीति राष्ट्र बैंकले लियो । जसका कारण ठूलो संख्यामा बैंक तथा वित्तीय संस्थाले मर्जर तथा एक्विजिसनका लागि जोडी खोज्ने काम गरे ।मर्जर तथा एक्विजिसनका कारण करिब एक दशकमा १८३ वटा बैंक तथा वित्तीय संस्था घट्न पुगे । कूल ३०३ संख्या रहेकामा गत महिनासम्म घटेर १२० कायम भएका छन् ।
३२ वाणिज्य बैंक मर्जरपछि २२ वटामा झरे
कुनै समय ३२ वटासम्म पुगेका वाणिज्य बैंकहरु अहिले २२ वटामा झरेका छन् । लक्ष्मी र सनराइज बैंकले पनि मर्जरका लागि समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् । यी दुवै बैंकको मर्जर पूरा भएपछि वाणिज्य बैंकको संख्या २० मा झर्नेछ । वि.सं. २०७० मा नेपाल इण्डस्ट्रियल एण्ड कमर्सियल बैंक र बैंक अफ एसियाबीच मर्जर भएर एनआइसी एसिया बैंक बनेको थियो । यो वाणिज्य बैंकहरुबीचमा भएको पहिलो मर्जर थियो । त्यसपछि नै वाणिज्य बैंकहरु एकआपसमा गाभ्ने तथा गाभिने प्रक्रिया सुरु भएको थियो । पछिल्लो समय भने एनआइसी एसिया बैंकले अन्य वाणिज्य बैंकसँग मर्जर सम्झौता गरेको छैन ।
ग्लोबल आइएमई बैंकमा कमर्स एण्ड ट्रस्ट बैंक, जनता बैंक र बैंक अफ काठमाण्डू गाभिएका छन् । ग्लोबल आइएमई बैंकमा सबैभन्दा धेरै वाणिज्य बैंकहरु गाभिन पुगेका हुन् ।
यस्तै, प्रभु बैंकले पनि किस्ट बैंक, ग्राण्ड बैंक र पछिल्लोपटक सेञ्चुरी बैंकलाई गाभेको छ । नबिल बैंकले पनि नेपाल बंगलादेश बैंकलाई आफूमा गाभेको छ ।हिमालयन बैंंकले सिभिल बैंकलाई गाभेर हिमालयन बैंकको रुपमा र कुमारी बैंकले नेपाल क्रेडिट एण्ड कमर्स बैंकलाई गाभेर एकीकृत कारोबार गर्दै आएको छ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक मर्जर भएर नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको रुपमा एकीकृत कारोबार गर्दै आएका छन् ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको चुक्ता पुँजी दुई अर्ब रुपैयाँबाट बढाएर आठ अर्ब रुपैयाँ पु¥याएपछि बैंकहरुलाई मर्जरमा जान दबाब परेको थियो । तर, राष्ट्र बैंकको योजनाअनुसार मर्जरमा नगई अधिकांश बैंकले हकप्रद सेयर र विकास बैंक र फाइनान्स कम्पनीहरुलाई गाभेर चुक्ता पुँजी पु¥याएका थिए ।चिरञ्जीवि नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा बैंकहरुलाई आपसमा मर्ज गराउनका लागि पुँजी वृद्धिको योजना ल्याएका थिए । सोपश्चात केन्द्रीय बैंकले बैंकहरुलाई आपसमा गाभिन आग्रह गर्दै आएको थियो ।
आर्थिक वर्ष ०७८/७९ को मौद्रिक नीतिमार्फत मर्जर तथा एक्विजिसनमा जाने वाणिज्य बैंकहरुका लागि राष्ट्र बैंकले विभिन्न सुविधा थपेको थियो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ०७९ पुस मसान्तभित्र एकीकृत कारोबार गर्ने वाणिज्य बैंकलाई यसअघिका सुविधा प्रदान गर्ने राष्ट्र बैंकको घोषणा थियो । सोही नीतिका कारण गएको पुस मसान्तभित्र एकीकृत कारोबार गर्न बैंकहरु हतारोमा थिए ।राष्ट्र बैंकले मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई विभिन्न सुविधा दिएर मर्जरमा प्रोत्सान गर्न थाल्यो । मर्जरमा जाने बैंकहरुलाई सहुलियतको व्यवस्था गर्दा पनि बैंकहरुले फाइनान्स र विकास बैंक गाभेर यस्तो सुविधा लिन थालेपछि गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई गाभ्दा यस्तो सहुलियत नपाउने व्यवस्था गरेको छ । त्यसले गर्दा पछिल्लो समय भने वाणिज्य बैंकहरुले विकास बैंक र फाइनान्स कम्पनीलाई गाभ्ने सम्झौता गरेका छैनन् ।
नम्बर १ बन्ने प्रतिस्पर्धाले पनि बढायो मर्जर
ठूला बैंकहरुले आफू नम्बर १ बन्नका लागि पनि साना बैंकलाई गाभ्न थालेका छन् । मर्जरबाटै अरु बैंक आफूभन्दा अगाडि जान थालेपछि धेरै बैंकहरु मर्जरमा जान तात्तिएका थिए ।
पछिल्लो समय ग्लोबल आइएमई बैंक पुँजीको हिसाबले सबैभन्दा ठूलो बैंक बनेको छ । सो बैंकको चुक्ता पुँजी ३४ अर्बभन्दा बढी छ । बैंकिङ क्षेत्रमा नम्बर १ बैंकको ताज ग्लोबल आइएमई बैंकले लिन थालेपछि अन्य ठूला बैंकहरुले पनि मर्जरमा बढी चासो दिन थालेका हुन् । ग्लोबल आइएमई बैंकलाई पछ्याउँदै अन्य बैंक पनि चुक्ता पुँजी बढाउने योजनामा लागेका छन् ।
नाफाका हिसाबले भने नबिल बैंक नम्बर वान बैंकको रुपमा रहेको छ । चालु अर्थिक वर्षको चैतसम्ममा नबिल बैंकले पाँच अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । दोस्रोमा ग्लोबल आइएमई र तेस्रोमा एनआइसी एसिया रहेका छन् ।पछिल्लो समय बैंकहरु मर्जरमा गएर बलियो बैंक बन्ने ध्याउन्नमा लागेका छन् । यसले सानोतिनो लगानी गर्न पनि धेरै बैंक धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।
एक दर्जन भए पुग्ने
नेपाल राष्ट्र बैंकले केही समयअघि गरेको एक अध्ययनले नेपालमा ११ देखि १५ भन्दा बढी वाणिज्य बैंक आवश्यक नभएको देखाएको थियो ।राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सिइओ, सञ्चालक तथा विज्ञ गरेर २३० जनामा एक सर्भे गरेको थियो जसमा ५० प्रतिशतभन्दा धेरैले नेपालमा ११ देखि १५ वटा वाणिज्य बैंक भए पुग्ने राय दिएका थिए । उनीहरुले अहिलेको अवस्थामा नेपालमा ११ देखि १५ वटाभन्दा धेरै वाणिज्य बैंक नचाहिने बताएका थिए ।पछिल्लो समय धेरै होइन, ठूला बैंकको आवश्यकता महसुस हुन थालेको छ । स्वदेशमा मात्रै होइन, विदेशी बैंक पनि बलियो हुनु जरुरी देखिएको छ । यही दशकको अन्त्यमा अमेरिकाका दुई बैंक डुबेकाले त्यसको शिक्षा नेपालका बैंकहरुले पनि लिन जरुरी देखिएको छ ।
अमेरिकाका दुई बैंकको संकटले विश्वभर हंगामा
अमेरिकाका दुई बैंक सिलिकन भ्याली बैंक र सिग्नेचर बैंकबाट सुरु भएको बैंकिङ संकट युरोपसम्म पुग्यो । स्वीजरल्याण्डको ठूलो बैंक क्रेडिट सुइसमा पनि समस्यामा प¥यो । यसले गर्दा विश्वभरका बैंकका सेयरको मूल्य घट्न पुग्यो ।अमेरिकामा सम्पत्तिको हिसाबले यो सन् २००८ यताकै सबैभन्दा ठूलो बैंकिङ संकट हो । सिलिकन भ्याली बैंक र सिग्नेचर बैंकको कूल सम्पत्ति ३१९ अर्ब डलर छ । अमेरिकाका यी दुई बैंकको पतनले निक्षेपकर्ता तर्सिए । जनताले साना बैंकबाट पैसा निकालेर ठूला बैंकमा जम्मा गर्न पुगे । यसको प्रभाव सम्पूर्ण विश्वमा देखियो ।
नेपालमा पनि त्रास
एकातिर शक्तिशाली मुलुक अमेरिका र युरोपमा बैंक डुब्दै जान थालेको त्रासका माझ नेपालमा पनि चर्को ब्याजदर बैंकहरुले लिएको आरोपमा बैंकका कर्मचारीले धम्की दिने काम भयो । एक महिनाअघिमात्रै म्याग्दी जिल्लाको एनआइसी एसिया बैंकमा कार्यरत विनोद सापकोटा र प्रकाश आलेमाथि भौतिक आक्रमण हुन पुग्यो । त्यसअघि मकवानपुरस्थित कुमारी बैंकको शाखा कार्यालयमा आक्रमणका प्रयास भएका थिए ।
बैंकजस्तै लघुवित्त वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरु असुरक्षित बन्न पुगे । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था, जाजरकोटका कर्मचारीलाई मोसो दल्ने काम पनि भयो ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई नियोजितरुपमा गरिएको सांघातिक आक्रमण गरी घाइते बनाइएको घटनाको सर्वत्र विरोध हुन पुग्यो । बैंकमा जागिर खानेहरु जागिर नै छोड्नुपर्ने हो कि भन्ने त्रासमा बाँच्न बाध्य भए ।
तर, सरकार, केन्द्रीय बैंक र बैंक मालिकहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को सक्रियतामा त्यो त्रास कम हुन पुगेको छ ।दशक ७० यस्तै त्रासकाबीच सकिएको छ । वैशाखदेखि ८० को दशक सुरु भएको छ । यो दशक ७० को दशकजस्तो नहोस्, त्रासरहित बनोस् ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० १४:२८