काठमाडौं - ठूला दलको ठूलो चुनौतीको रूपमा रवि लामिछाने नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देखिएको छ । प्रतिनिधिसभा उपनिर्वाचनको रुझानलाई आधार मान्दा ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमालेको प्रभाव क्षेत्रमा रास्वपाको ‘घण्टी’ चर्कोसँग बजिरहेको छ ।
तनहुँ–१ मा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्ले जितेका छन् । चितवन–२ मा लामिछाने पनि फराकिलो अग्रता बनाउँदै छन् । यस आधारमा वाग्ले र लामिछाने संसद्मा आउने देखिएको छ । प्रा.डा. विष्णु दाहाल कांग्रेस र एमालेको परम्परागत किल्लालाई रास्वपाले उपनिर्वाचनमा पनि तहसनहस बनाइरहेको बताउँछन् । उनको विश्लेषणमा रास्वपाले पाएको मत कांग्रेस–एमालेकै मतदाताको हो ।
जुन मतदाता परम्परागत दलभित्र व्याप्त अकर्मण्यता र अलोकतान्त्रिक पद्धतिको विरुद्धमा छन् । दलहरू जनउत्तरदायी नभएको र भ्रष्टाचारलाई निरन्तरता दिन ‘सेटिङ’को राजनीति गरेको यी मतदातालाई मन परेको छैन । दाहालकै शब्दमा भन्दा तिनै मतदाताको विद्रोह उपनिर्वाचनमा देखिएको हो ।
अघिल्लोपटक चितवन–२ मा लामिछाने निर्वाचित भएका थिए । सर्वोच्चले नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको ठहर गरेपछि लामिछानेले सांसद पद गुमाएका थिए । उनी पदमुक्त भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको हो । तर, यसपटक पनि उनै लामिछाने अधिक मत प्राप्त गरेर विजयी हुने आँकलन गरिएको छ ।
उनलाई अघिल्लोपटक मत दिने मतदातासँगै केही नयाँ मतदाता थपिने देखिएको डा. दाहाललाई लाग्छ । उता तनहुँ–१ मा भने कांग्रेस र एमालेकै मत रवि नेतृत्वको दल रास्वपाका उम्मेदवार वाग्लेले पाएका हुन् । ‘ठूला दलले रवि र उनको दललाई प्रतिशोध साँधेको अर्थमा जनताले बुझे । सर्वोच्चमा अझै उनीविरुद्ध मुद्दा छ,’ दाहालले प्रभावसँग भने, ‘मुद्दा हाल्नुलाई जनताले घेराबन्दी गरेको अर्थमा बुझे । परिणामः पहिलेभन्दा बढी भोट कांग्रेस एमालेबाट आएको देखियो । यो दल वैकल्पिक बन्ने देखियो ।’
आगामी असारमा रविको नेतृत्वमा रास्वपा स्थापना भएको एक वर्ष पुग्छ । यति छोटो समयमै रास्वपाले साढे सात दशकअघि स्थापित दलहरूलाई आछुआछु पारिरहेको छ । कतिपयले भने भारतमा जसरी अरविन्द केजरीवालको नेतृत्वमा आम आदमी पार्टीको राजनीतिक प्रभाव भारतको दिल्ली, पञ्जाबलगायत प्रान्तमा तीव्र गतिमा फैलिरहेको छ, त्यसरी नै यता नेपालमा रास्वपाको प्रभाव हरेक संसदीय निर्वाचन क्षेत्रमा फैलिएको बताउने गरेका छन् ।
यसप्रति राजनीतिक विश्लेषक भीम भुर्तेलको समान धारणा छ । उनले सार्वजनिक भइरहेका मतको रुझान हेर्दा वैकल्पिक शक्तिको रूपमा रास्वपालाई स्थापित गर्न जनताले बल गरिरहेको बताए । ‘पहिले जनताले दलहरू सच्चिउन् भन्थे । दलहरू सच्चिएनन् । नसच्चिएकै कारण जनता सच्चिए । त्यसको परिणाम अहिले देखिइरहेका छौँ । यस्तै भए रास्वपा वैकल्पिक शक्ति बन्न सक्छ,’ भुर्तेलले भने ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई ३ असोज २०७२ मा संविधान जारी भएपछि त्यही साता देशमा राजनीतिक क्रान्तिको कोर्स पूरा भएको र आर्थिक क्रान्ति मात्रै बाँकी रहेको निष्कर्षमा पुग्दै वैकल्पिक शक्ति बनाउने अभ्यासमा जुटे ।‘नयाँ शक्ति’ पार्टी खोले । तर, उनको वैकल्पिक शक्ति निर्माण गर्ने अभियान जनताबाट अनुमोदन भएन । उक्त दलको हाल नामोनिशाना नै छैन । परिणामतः वैकल्पिक राजनीतिको बाटो छाडेर पुरानै बाटोमा फर्किएका छन् । भट्टराईसँगसँगै वैकल्पिक दलको रूपमा उज्जल थापाले विवेकशील नेपाली दललाई अघि सारेका थिए । हाल यो दल निकै कमजोर अवस्थामा छ ।
जबर्जस्त रवि नेतृत्वको दल रास्वपा भने वैकल्पिक शक्तिको रूपमा उदाएको राजनीतिक विश्लेषकहरू स्वीकार्छन् । उनीहरूको ठम्याइमा मुलतः उत्पादनशील र उद्यमशील जनशक्ति रोजगारी खोज्दै विदेशी भूमिमा हुनु, देशमा रोजगारीको अवसर पर्याप्त मात्रामा हुनु, सुशासन कायम नहुनु, भ्रष्टाचार न्यूनीकरण नहुनु र जनताले अपेक्षा गरेअनुसारको विकास नहुनु जस्ता कारणले आजित र आक्रोशित जनताको मत रास्वपाले पाएको हो । रास्वपा वैकल्पिक शक्तिको रूपमा देखिनुको आधार यिनै मानिन्छ ।
उसो त यस्तो मत रास्वपाले मात्रै पाएको होइन, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले पाएका छन् । यसअघि २०६४ मा भने जनताले माओवादीलाई हाल रास्वपासहितका दलहरूलाई भन्दा अधिक जनमत प्राप्त भएको थियो । संविधानसभाको २४० वटा निर्वाचन क्षेत्रमध्ये १२० वटा क्षेत्रमा माओवादीले निर्वाचन जितेको थियो । त्यसअघि २०५१ सालमा एमाले र २०४८ र २०१५ मा कांग्रेस वैकल्पिक शक्तिको रुपमा देखापरेका थिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० १०:५२