जनक अधिकारी - शैक्षिक, व्यावसायिक, आवासीय, भण्डारणलगायतका विभिन्न प्रयोजनका लागि हामीलाई भवनको आवश्यकता पर्छ । कुनै पनि भवनको डिजाइन तथा क्षेत्रफल त्यस भवनको उपयोगिता र त्यसमा आउने मानिसहरुको प्रवाहको आधारमा तयार गरिएको हुन्छ । सुरक्षित र भूकम्पप्रतिरोधी भवन निर्माण सुनिश्चित गर्न भवन ऐन, २०५५ र यसअन्तर्गत जारी गरिएको नेपाल राष्ट्रिय भवन संहिता र भवन नियमावली, २०६६ जस्ता नेपाल सरकारका दस्तावेजहरुले मार्गदर्शन तथा नियमन गरिरहेका हुन्छन् । भवन तयार गर्दा प्रयोग गरिएको निर्माण सामग्री र उक्त भवनको मर्मतसम्भारसम्बन्धी क्रियाकलापहरुले भवनको आयु निर्धारण गर्दछ ।
मर्मतसम्भार कार्यअन्तर्गत दैनिकरुपमा हुने सरसफाइ, अनुरक्षण, आवधिकरुपमा हुने सुधारात्मक क्रियाकलाप, बिग्रेका भागहरुको प्रतिस्थापन, स्तरोन्नतिलगायतका सम्पूर्ण कार्यहरु पर्दछन् । संक्षिप्तरुपमा भन्नुपर्दा प्राविधिक क्रियाकलापहरुको संयोजनले भवनको भौतिक अवस्था र कार्यात्मक व्यवस्थालाई यसको किफायति आयुसम्म सकुशल राख्नु नै मर्मतसम्भार कार्य हो ।
नेपालमा भौतिक पूर्वाधारहरुको मर्मतसम्भारसम्बन्धी अवधारणा केही हदसम्म रहेता पनि त्यसका लागि कुनै पनि स्थापित विधि र निर्देशिका कार्यान्वयनमा आएको पाइँदैन । भवनका बाहिरी भागहरुमा झारपात पलाएको, लेउ लागेको, भवनको भित्री भागसम्मै पानी रसाएको, शौचालय बाहिरैदेखि गन्हाएको, प्लास्टर उप्किएको, रङरोगन खुइलिएको र विभिन्न भागमा अन्य प्रकारको क्षति भएर पनि यस्तै अवस्थामा प्रयोगमा रहेका सरकारी तथा सार्वजनिक भवनहरु हामी प्रशस्तै देख्न पाउँछौं । यसरी क्षतिग्रस्त भएका भवनहरु मर्मतसम्भार नगराई प्रयोग गरिरहनुले भवनको आयु घट्ने मात्र होइन प्रयोगकर्ताहरुको जनधनको क्षति हुने जोखिमसमेत उच्च हुन्छ ।
तसर्थ, कुनै पनि सरकारी तथा सार्वजनिक भवनहरु निर्माणपश्चात् यसको नियमित मर्मतसम्भार र सरसफाइसम्बन्धी कार्यको वार्षिक योजना बनाइ कार्यान्वयन गराउने प्रचलनको विकास गर्नु एकदमै आवश्यक देखिन्छ । आकस्मिक रुपमा आइपर्नेबाहेकका नियमितरुपमा योजना बनाई गर्न सकिने मर्मतसम्भारलाई मुख्य गरी तीन भागमा वर्गीकरण गर्न सकिन्छ ।
१. सुरक्षात्मक मर्मतसम्भार
२. आवधिक मर्मतसम्भार र
३. सुधारात्मक मर्मतसम्भार
प्रारम्भिकरुपमा सरसफाइ, फोहोरमैला व्यवस्थापन, बगैँचा व्यवस्थापन आदिजस्ता सुरक्षात्मक क्रियाकलापहरुको योजना तयार गरिनुपर्छ । त्यसपछि आवधिकरुपमा गरिने सानातिना मर्मतसम्भार जस्तैः चर्केको गारो, प्लास्टर, भुइँको मर्मत, रङरोगन, बिग्रेको धारा, बत्ती, कमजोर पाइपहरु फेर्ने आदिजस्ता क्रियाकलापहरुका लागि हरेक आर्थिक वर्षमा स्थापित विधिअनुरुप बजेट तथा योजना तयार गर्नुपर्छ । साथै, भवनको आयु र त्यसका भागहरुमा आएको समस्याको पहिचानका आधारमा सुधारात्मक क्रियाकलापहरुको योजना तयार गर्नुपर्छ ।
नियोजित मर्मतसम्भारको अभ्यासलाई प्रचलनमा ल्याउन भवन निर्माण सम्पन्न हुँदाकै बखतबाट मर्मतसम्भारको योजना तयार गर्न सुरु गर्नुपर्छ । कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गर्ने बेलामै कैफियत दायित्व अवधि पछाडिको पहिलो तीन वर्षको सुरक्षात्मक र आवधिक मर्मतका क्रियाकलापहरु स्पष्ट उल्लेख गरी वार्षिक कार्यक्रम र खरिद गुरुयोजनामा प्रविष्ट हुनेगरी योजना बनाउन सकिन्छ ।
त्यसपछि आउने हरेक आर्थिक वर्षमा सोही बमोजिम बजेट व्यवस्थापन गर्ने र मर्मतसम्भार गराउँदै जाने हो भने नेपाल सरकारका सबै भवनहरु भौतिकरुपमा अत्यन्त व्यवस्थित, सफा र सुरक्षित अवस्थामा सञ्चालन गर्न सकिन्छ । यस्तो प्रक्रिया लागू गराउन हामीलाई एउटा मर्मतसम्भारसम्बन्धी सम्पूर्ण कुराहरु समेटिएको व्यावहारिक निर्देशिका आवश्यक पर्ने देखिन्छ, जसले बजेट विनियोजनका आधारहरुदेखि लिएर लागत अनुमान तयार गर्न आवश्यक पर्ने प्राविधिक नम्र्स र दररेट निर्धारणका मानकहरुको बारेमा पनि प्रस्टसँग मार्गदर्शन गर्न सकोस् ।
छिमेकी मुलुक भारतले ‘इमारतों के रखरखाव की व्यवस्था के लिए मार्गदर्शी सिद्घान्त, भाग १ः सामान्य, भाग २ः वित्त, भाग ३ः श्रमिक’ तयार गरी भवनको मर्मतसम्भार कार्यका लागि योजनाबद्घ निर्देशन प्रस्तुत गरेको पाइन्छ । साथै, केन्द्रीय लोक निर्माण विभागले पनि मर्मतसम्भारका लागि निर्देशन पुस्तिका तयार गरेको पाइएको छ । भारतमा उक्त सिद्घान्त र निर्देशन पुस्तिकाका आधारमा भौतिक संरचनाहरुको नियमित मर्मतसम्भार गर्ने अभ्यासलाई प्रचलनमा ल्याएको देखिन्छ ।
सामान्यतया, सेवा प्रदायक सार्वजनिक तथा सरकारी भवनहरुमा सेवाग्राहीहरुको चाप ज्यादा हुने गर्छ । त्यस्ता भवनहरुमा सेवाग्राहीको चाप बढेसँगै शौचालयको प्रयोग, धारा खोल्ने बन्द गर्ने क्रम ज्यादा भइरहेको हुन्छ, त्यस्ता भवनहरुमा बत्ती धेरैबेरसम्म बल्ने, पंखा धेरै समयसम्म चल्ने हुनाले सिभिल, स्यानिटरी र इलेक्ट्रिकल क्षेत्रका मर्मतसम्भार पनि चाँडो–चाँडो गरिरहनुपर्छ ।
विशेषगरी स्वस्थ्य सेवा प्रदायक संस्थाहरुको आधारभूत तथा विशिष्ट सेवा सधँैभरि चुस्त दुरुस्त तवरबाट सञ्चालन गर्नका लागि त्यसका भौतिक संरचनाहरुको नियमित रेखदेख र मर्मतसम्भार एकदमै जरुरी हुन्छ । यस्ता खाले भवनहरुको डिजाइन र निर्माणमात्र होइन मर्मतसम्भारका क्रियाकलापहरु पनि अन्य प्रयोजनका भवनहरुको भन्दा फरक र विशिष्ट किसिमका हुन्छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागबाट प्रकाशन गरिएको ‘स्वास्थ्य भवन पूर्वाधारको डिजाइन तथा निर्माणसम्बन्धी निर्देशिका २०७४’ले स्वास्थ्य सेवा प्रदायक भवनहरु यथोचित स्थानमा सुनियोजित डिजाइनअनुसार निर्माण गराउन प्रशस्त मार्गनिर्देश गरेको छ । तर, यस्ता विशेष प्रकृतिका भवनको मर्मतसम्भार कस्तो हुनुपर्ने, कसरी गरिनुपर्ने भन्ने विषयमा सम्बोधन तथा निर्देशन दिनसक्ने कुनै पनि दस्तावेजहरु प्रकाशित भएको पाइँदैन ।
हालसालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ‘स्वास्थ्य सेवा प्रदायक संस्थाहरुका लागि खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी राष्ट्रिय मापदण्ड २०७८’ लागू भएपछि भवनका लागि पानीको भण्डारण, शौचालय व्यवस्थापन तथा स्वच्छतासम्बन्धी न्यूनतम मापदण्ड पालना गराउनकै लागि पनि कतिपय पुराना डिजाइनका भवनहरुमा मर्मतसम्भारसम्बन्धी क्रियाकलापहरु गराउन एकदमै आवश्यक देखिन्छ ।स्वस्थ्य सेवा प्रदायक भवनहरुमा संक्रमणको जोखिम नरहोस् भन्नका लागि सरसफाइ र मर्मतसम्भारसम्बन्धी सानोतिनो क्रियाकलापहरु पनि एकदमै प्राथमिकतामा राखेर सम्पादन गरिहाल्नुपर्ने हुन्छ ।
त्यसैले भवनको भौतिक अवस्था सकुशल राख्नेमात्र नभई खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी न्यूनतम मापदण्डका आधारहरु पालना गरी गुणस्तरीय सेवा प्रवाहको कार्यात्मक व्यवस्थासमेतलाई सुनिश्चित गराउन नेपाल सरकारको मर्मतसम्भारसम्बन्धी एउटा व्यावहारिक निर्देशिका तयार हुन अत्यन्त आवश्यक देखिन्छ ।
(लेखक स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाको पूर्वाधार विकास शाखा, टेकुमा कार्यरत छन् ।)
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० १३:४२