उपनिर्वाचनमा १०–१० दल मिल्दा पनि साना दलले आच्छुआच्छु पार्दै छ । त्यो पनि नयाँ दलका नयाँ उम्मेदवारबाटै । तनहुँ–१ मा सबैभन्दा ठूलो दल मानिएको नेपाली कांग्रेसका उम्मेदवारलाई १० दलको साथ थियो । तर, सत्ता गठबन्धन नै लाग्दा पनि अस्तित्व जोगाउन सकेन कांग्रेसले ।
सत्तारुढ दल तनहुँमा टाउको टेकेर लागेको थियो नतिजा आफ्नो पोल्टामा पार्न । तर, दिलोज्यान लगाउँदा पनि नतिजा आफ्नो पक्षमा आएन । कांग्रेसका लागि यो ठूलो चोट हो । यसबाट नेताहरुले पाठ सिक्नुपर्ने हो तर शीर्ष नेताहरुको बानीचाहिँ पहिलेकै छ– मेरो गोरुको बाह्रै टक्क ।
यता चितवन–२ को हालत उस्तै छ । संसद्मा दोस्रो ठूलो दलको हैसियतमा ‘ग्रास रुट’ अभियान चलाएर आफूलाई बलियो देखाएको एमालेको हविगतको के कुरा गर्नु ? सरकारको लगाम समातेको माओवादीले कहीँकतै आफ्नो उम्मेदवार खडै गरेन । लुरुक्क कांग्रेस सभापतिको पछिपछि लागेर मन्त्रीको ललीपप बाँड्न भ्याए प्रधानमन्त्री पुष्पकमल दाहालले ।
यी तीन दलका नेतृत्व तहमा देखिएको समस्या भनेको कार्यकर्ताको कुरै नसुन्ने प्रवृत्ति हो । विकास गर्नुपर्छ भन्ने शुद्धि तिनमा छैन । जनतालाई खुसी पार्नुपर्ने कार्यक्रम तिनको योजनामा छैन । त्यसैले अमुक उम्मेदवारलाई मन्त्री बाकस दिने राणासाहेबको शैली अहिलेको शासकमा पुस्तान्तरण भएको छ । जसले गर्दा जनता चुरचुर भए र मत दिनेबेला हात साविक देखिरहेको चिह्नभन्दा अर्कैमा गयो ।
तीनै दलमा नेतृत्वको जाम त छ नै सही मान्छेलाई सही व्यवस्थापन गर्न नसक्नु नेतृत्वको कमजोरी हो । विकासका वाचा गर्ने तर सुधारका सिन्को नभाँच्ने परम्परागत नेताको पुरानै बानी । पहिले पो विकल्प थिएन । यसपटक घण्टी चुनाव चिह्न विकल्प बनेको छ । जुन चिह्न अरु दलबाट सँगालेको धोकाको बदला पोख्ने ठाउँ बनेको छ ।
‘अच्छु खाए, बच्छु खाए, झुसे बारुलो’ भनेर दिनदहाडै आफू जित्छु भन्दै छाती ठोक्ने नेताहरु अहिले लुरुक्क परेर अब के भन्ने हुन् जनताले भन्दै कुना पसेका छन् । लोकतन्त्र दिवसका दिन आफूलाई लोकतन्त्रको मसिहा ठान्नेहरु लोकका सामू लाज पचाएर शुभकामना आदानप्रदान गर्दै गरेको पनि देखियो । उपनिर्वाचन सत्ताको झिनाझम्टीमा लाग्ने नेतालाई जनताले सबक सिकाउन खोजेको ‘ट्रेलर’ हो । अब पनि नसच्चिए सक्किने मेलोमेसोतर्फ लाग्दा नै वेश !
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० १६:१८