काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रमबजारको पहिचान गर्न जरुरी भइसकेको बताएका छन् । उनले नेपाली श्रमिकहरु वैदेशिक रोजगारीमा जानु कुनै नौलो घटना नभए पनि ग्लोबल मार्केटको अवस्था पहिचान गर्न जरुरी रहेको बताएका हुन् ।
वैदेशिक रोजगार पत्रकार समाजको नेतृत्वमा गएको पत्रकारको टोलीसँग सोमबार मन्त्रालयमा भएको छलफलमा मन्त्री भण्डारीले नेपाली श्रमिकहरु विदेशमा गएर काम गरिरहे पनि त्यहाँको बजारबारे अध्ययन नभएको बताए । ‘बजारको मागअनुसार कुन–कुन क्षेत्रमा कस्ता श्रमिकको माग छ ? छुट्याएर आपूर्ति गर्नुपर्नें अवस्था छ,’ मन्त्री भण्डारीले भने । वैदेशिक रोजगारीका लागि नेपालबाट श्रमिक पठाउने म्यानपावर कम्पनीहरु फेसिलेटेटर (सहजकर्ता) भएको भन्दै उनले यसको नामाकरण सही नभएको बताए । ‘यो म्यानपावर भन्ने शब्द नै ठीक छैन,’ उनले भने, ‘यसलाई जब प्लेसमेन्ट एजेन्सी भन्नुप¥यो, यसको काम श्रमिकलाई रोजगारदातासम्म पु¥याउने हुन्छ ।’
मन्त्री भण्डारीले श्रम मन्त्रालयको नेतृत्व सम्हालेदेखि नै सरकारले व्यवसाय गर्ने नभई सहजीकरण गर्ने हो भन्दै आएका छन् । उनले यसपटक पनि सोही कुरा दोहो¥याए । ‘सरकारले सहजीकरण गर्छ, व्यवसायीले व्यवसाय सञ्चालन गर्नुपर्छ, तर व्यवसाय सञ्चालन गर्दा शुद्ध, सफा र पारदर्शी हुनुपर्छ,’ उनले भने । एउटा सेवाग्राही वैदेशिक रोजगारीमा जान खोज्दा विचौलियाको साहारा लिनुपर्ने अवस्था दुःखद भएको उनले बताए । ‘एउटा व्यक्ति सिधै व्यवसायीसम्म पुग्नै सक्दैन, मधेसमा एउटा भाषा प्रयोग हुन्छ अर्जेन्ट (एजेन्ट), कसैले सोधे ‘अर्जेन्ट केइलगइल’ भनिन्छ, मधेसबाट रोजगारीका लागि जाने श्रमिकलाई म्यानपावर व्यवसाय पनि थाहा छैन, कम्पनी पनि थाहा छैन, हरेक गाउँगाउँमा अर्जेन्ट छ, एकपछि अर्को गर्दै व्यवसायीसम्म पुग्दा पाँच जना अर्जेन्ट पार गर्नुपर्ने अवस्था छ, यसरी ठगीमा परिरहेका छन्,’ मन्त्री भण्डारीले भने ।
श्रमिकलाई रिक्र्युटिङ पोइन्टदेखि गन्तव्यसम्म पु¥याउँदा हुने चक्रलाई तोड्नु सरकारको मात्र नभएर सरोकारवाला सबैको दायित्व भएको मन्त्री भण्डारीले बताए । ‘यसलाई सरकारले पहिलो प्रथमिकतामा राखेको छ र ठगी तथा विचौलियामुक्त बनाउन र दक्ष जनशक्ति निर्माण गर्न एकद्वार नीतिअन्तर्गत सबै ७५३ पालिकामार्फत सेवा प्रवाह गर्ने नीतिगत व्यवस्था भइसकेको छ, यसमा मन्त्रालयअन्र्तगत एउटा टास्कफोर्सले काम गरिरहेको छ,’ उनले भने ।
मन्त्री भण्डारीले श्रम मन्त्रालयको काम झट्ट हेर्दा वैदेशिक रोजगारीका लागिमात्र सक्रिय हो कि जस्तो देखिए पनि अन्तरिक रोजगारीका सवालमा पनि उत्तिकै काम गरिरहेको बताए ।
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८० १०:३०