उत्तम घिमिरे - वैदेशिक रोजगार नेपालको अर्थतन्त्रको एउटा प्रमुख स्तम्भ हो । हाम्रो अर्थतन्त्रको वार्षिक बजेट झण्डै १८ खर्बको छ । वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्सले नै वार्षिक बजेटको एकतिहाइ हिस्सा ओगटेको विषय सर्वविदितै छ । वार्षिक छ लाखभन्दा बढी नेपालीहरू विभिन्न श्रम गन्तव्य मुलुकमा रोजगारीका लागि बाहिरिन्छन् ।
सरकारले हालसम्म यति ठूलो संख्यामा देशभित्र वार्षिक रोजगारी सिर्जना गर्न सकेको छैन । कल्पना गरौं, यदि यो जनशक्ति वैदेशिक रोजगारमा नगएको भए हाम्रो देशको अर्थतन्त्र डामाडोल हुन्थ्यो होला । कति ठूलो नकारात्मक प्रभाव पथ्र्यो होला । वैदेशिक रोजगारबाट लामो समयपछि फिर्ता भएका केही जनशक्तिले देशभित्र ज्ञान र सीप भित्र्याएर नयाँ रोजगारी सिर्जना गरेका उदाहरण पनि प्रशस्तै छन् ।
हाम्रो देशमा विधिसम्मत ढंगले वैदेशिक रोजगारीमा पठाउन भनी हालसम्म ८११ वटा वैदेशिक रोजगार व्यवसायीहरूले सरकारबाट स्वीकृति पाएका छन् । यी मध्ये धेरैले तुलनात्मकरूपमा राम्रैसँग आफ्नो व्यवसाय चलाएका पनि छन् । यद्यपि केही म्यानपावर कम्पनीहरू बेलाबेलामा विभिन्न खाले विवादमा पनि पर्दै आएका छन् ।
यसै विषयलाई आधार बनाई एकथरी मान्छेहरू भन्दछन्– म्यानपावर कम्पनीहरू बन्द गरिनुपर्छ । वैदेशिक रोजगारमा युवाहरूलाई पठाउने काम सरकारले बन्द गर्नु पर्दछ । यदि त्यसो हो भने देशको आन्तारिक परिस्थिति त्यसको लागि परिपक्व हुनुप¥यो नि !
फेरि, वैदेशिक रोजगार भन्नेबित्तिकै झन् नकारात्मक धारणा बनाइहाल्नु पनि हुँदैन । किनकि, यो व्यवसाय हाम्रो देशको मात्र सरोकारको विषय होइन । संसारभरि कुनै न कुनै रूपमा यो व्यवसाय प्रचलित छ । कारण के भने आजको युग ग्लोबलाइजेसन (विश्वव्यापीकरण)को युग हो । सिंगो विश्व अत्याधुनिक प्रविधि तथा सञ्चार क्षेत्रको तीव्र विकासले गर्दा एउटा गाउँमा परिणत भइसकेको कुरा अब कसैबाट छिपेको छैन ।
अब म यहाँ वैदेशिक रोजगारसँग जोडिएको एउटा गम्भीर विषय उठान गर्न चाहन्छु । यसतर्फ वैदेशिक रोजगार व्यवसायी, श्रम तथा रोजगार मन्त्रालय दुवैको तत्काल सूक्ष्म ध्यान जान आवश्यक ठान्दछु । त्यो के भने वैदेशिक रोजगार व्यवसायी ८११ वटा छन् । उनीहरू त सरकारको नीति, नियम, कानुन मातहतमा चलेका हुन्छन् । तीमध्ये कसैले गम्भीर गल्ती गरेछ भने पनि रेकर्डमा आउँछन् । आवश्यक कारबाही गर्न पनि सजिलो हुन्छ । यहाँ त वैदेशिक रोजगारका नाममा म्यानपावर कम्पनीको नाम जोडेर होस् अथवा नजोडिकनै व्यक्तिगतरूपमा चाँडै मालामाल हुने कु–मनसाय राखेर हजारौं व्यक्तिहरू देशभरि सलबलाइराखेका छन् । जसलाई हामी सरल भाषामा वैदेशिक रोजगार एजेण्ट भन्दछौं ।
यो लेख नियमानुसार लाइसेन्स प्राप्त एजेन्टतर्फ लक्षित छैन । मात्र ठगी नियत भएका व्यक्तितर्फ लक्षित छ । यस्ता हजारौं व्यक्तिहरूले एकातिर वैदेशिक रोजगार व्यवसायको बद्नाम गराएका छन् भने अर्कोतर्फ दशौं हजार सोझा, सीधा मानिसहरूलाई ठगी गरी ऋणमा डुबाउने र विदेशमासमेत अलपत्र पार्ने काम निर्लज्जरूपमा गरिरहेका छन् । तसर्थ यस्तो मानव बेचविखनको जघन्य अपराधलाई रोक्न वैदेशिक रोजगार व्यवसायी, सरकार र अन्य सरोकारवाला सबैको ऐक्यबद्धता र भूमिका महŒवपूर्ण हुन्छ ।
यसै सन्दर्भमा म यहाँ एउटा ताजा खबर लेख्न सान्दर्भिक ठान्दछु । मिति २०८०–०१–०८ शुक्रबार दिनको २ बजेदेखि ५ बजेसम्म चावहिल मित्रपार्कस्थित टेक्सास कलेजको हलमा शान्ति सुरक्षासम्बन्धी अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको थियो । यो कार्यक्रममा म पनि पूरा समय उपस्थित थिएँ । नागरिक सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा आयोजित उक्त अन्तक्रियामा काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर कार्की उपस्थित हुनुहुन्थ्यो ।
उहाँको भनाइलाई आधार मान्दा आर्थिक लेनदेनका आपराधिक मुद्दाहरू काठमाडौंमा मात्र दैनिक ५० वटा दर्ता हुँदा रहेछन् । यो तथ्यांक भयावह हो । वैदेशिक रोजगारसँग सम्बन्धित आर्थिक लेनदेनका मुद्दाहरू मात्र कति वटा दर्ता हुन्छन् भनी मैले उहाँलाई प्रश्न गरेँ । उहाँले यसबारे अहिले नै ठ्याक्क भन्न नसकिने हुनाले मलाई प्रहरी परिसर टेकुमा आएर बुझ्न आग्रह गर्नुभयो ।
जे होस्, हामी सबै सरोकारवालाहरू अर्थात् नागरिक समाज, वैदेशिक रोजगार विभाग, प्रहरी र म्यानपावर कम्पनीहरू एकदमै चनाखो र सचेत हुनुपर्ने बेला भइसकेको मैले महसुस गरेँ ।
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८० १५:४२