शिक्षा क्षेत्रमा अवनरत रुपमा परिर्वतनका लागि युवालाई संलग्न गराउन लागिपरेको संस्था हो – टिच फर नेपाल (टिएफएन) । टिएफएनले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षाका लागि काम गर्दै आएको छ । शिक्षा क्षेत्रमा फराकिलो बाटो बनाउन लागी परेको संस्था हो यो । सार्वजनिक विद्यालयमा दुई वर्षको फेलोसिप शिक्षणमार्फत नेपालमा शैक्षिक असमानता हटाउन टिएफएन प्रतिबद्धताका साथ लागेको छ ।
हामी ७० को दशक पार गरी नयाँ दशकमा प्रवेश गरेका छौं । नयाँ दशकमा यसअघिको अनुभवलाई लिएर हामी नयाँ लक्ष्यका साथ अघि बढ्ने हो । आममानिसमा शिक्षालाई जीवनसँग कसरी जोड्ने, कसरी जीवन उपयोगी र सान्दर्भिक बनाउने भन्ने चासो रहेको पाइन्छ । यसका लागि कस्तो खालको शिक्षा दिने भन्ने बहसको विषय बन्दै आएको छ । नेपालको शिक्षा प्रणालीमाथि कयौं प्रश्न उठ्दै आएका छन् । यी प्रश्नलाई नयाँ दशकमा चिर्न जरुरी छ ।
विद्यार्थी स्कुलमात्र गएर भएन, भर्नामात्र गरेर भएन, वास्तवमा बच्चाको सिकाइ के हो ? सिकाइको उपलब्धि के हो ? बुझ्नुपर्ने अहिलेको आवश्यकता हो ।
विद्यार्थी स्कुलमात्र गएर भएन, भर्नामात्र गरेर भएन, वास्तवमा बच्चाको सिकाइ के हो ? सिकाइको उपलब्धि के हो ? भन्ने बुझ्नुपर्ने अहिलेको आवश्यकता हो । हाम्रो शिक्षाले दक्ष जनशक्ति तयार गरिराखेको छ कि छैन भन्ने प्रश्न छ । पाठ्यपुस्तकदेखि पढाइको प्रवृत्ति र पद्धतिमा धेरै प्रश्न उठेको पाइएको छ । साथसाथै, यी प्रश्न उठ्दै जाँदा यसप्रति के–कसरी उत्तरका लागि उठान भए त ? वास्तवमै शैक्षिक क्षेत्रको रुपान्तरणका लागि हाम्रो कार्यशैली र सोचाइमा परिर्वतन आएको छ त ?
युवा वर्गले धेरै नै परिवर्तन र नवप्रवर्तनका बाटाहरु छन् भन्ने कुरा महसुस गरेका छन् । शिक्षा यस्तो खालको हुनुपर्छ वा हुँदो रहेछ भन्ने ज्वलन्त उदाहरण खोटाङमा मदन राईको विद्यालयबाट पनि थाहा पाउन सकिन्छ । यसका साथै पढ्दै र कमाउँदै गर्ने अभियान चलाउने नारायणप्रसाद सिग्देलले नेतृत्व गरिरहेको विद्यालय पनि हामीमाझ रहेको छ ।
दशक ७० को सुरुआती समयमा नै ग्रेडिङ पद्धति आयो । यसलाई सकारात्मक वा नकारात्मक भनेर औंल्याउन नसकिने अवस्था छ । जब बच्चा पास र फेल भन्ने हुँदैन । जुन ग्रेड आए पनि उनीहरु फेल हुँदैनन् वा कक्षा रोकिँदैनन् । तर, यो पद्धतिका कारण विद्यार्थी स्वयं र शिक्षण प्रणालीमा जवाफदेहिताको अभाव भने खड्किएको देखिन्छ ।
गरिबीका कारण अधिकांश विद्यार्थीले विद्यालय छोड्छन् भन्ने सोच धेरैजसोको छ । तर केही बालविवाह, कोही पढाइमा राम्रो रुचि नभएकापछि, अभिभावकले पनि पढेर कहाँ पुग्छ भन्ने सम्भावना नदेखेपछि विभिन्न काममा लगाइदिँदा विद्यालय छाड्छन्
टिएफएन सुरुआत हुँदा नै एसएलसीमा फेल हुने विद्यार्थीको स्पष्ट रुपमा तथ्यांक आउँथ्यो । विद्यार्थी फेल हुनु आफैंमा नराम्रो हो तर यसले शिक्षण प्रणाली पनि फेल भइरहेको छ भनेर प्रस्ट डेटा दिन्थ्यो । जसले गर्दा शिक्षाबारे आकस्मिक रुपमा केही गर्नुप¥योे, सोच्नुप¥यो भन्ने हुन्थ्यो । अहिले ग्रेडिङ प्रणालीमा विद्यार्थीलाई त राम्रो भएको छ तर एउटा शिक्षण प्रणालीमा अपेक्षा गरिएको नतिजा पातलिएको जस्तो देखिन्छ ।
ग्रेडिङ प्रणालीमा फेल नहुने भएपछि विद्यार्थीहरुले पढ्नमा रुचि नगरेको धेरै अभिभावकको गुनासो सुनिन्छ । पास र फेल नभएपछि विद्यार्थीले पनि जुन किसिमको पहिले डर लिन्थे, त्यस्तो डर नलिएको हो कि भन्ने महसुस गराएको छ । यसका साथै अभिभावक पनि यसमा गैरजिम्मेवार भएको हो कि भन्ने प्रश्न उठेको छ । अर्को भनेको शिक्षणका लागि बसेका उच्च निकायले पनि ग्रेडिङ प्रणालीलाई प्रभावकारी बनाउन ध्यान नदिएको देखिन्छ ।
लगभग गएको ५० वर्षको अवधिलाई हेर्ने हो भने संख्यात्मक रुपमा विद्यार्थी संख्या वृद्धि भएका छन् । तर, गुणस्तरीय शिक्षामा समस्या यथावत् नै देखिन्छ । यो अवस्थालाई हेर्ने हो भने यस क्षेत्रमा सक्षम नेतृत्व आवश्यक छ भन्ने प्रस्ट हुन्छ । किनभने, ‘सिस्टम फेल’ हुँदै छ ।
गएको १० वर्षको समयमा जो जतिले टिफएनमा काम गरे, पढे, सिके र सिकाएर गए, उनीहरुले यस क्षेत्रमा नवप्रवर्तन र नवीनता ल्याउनुपर्ने देखेका छन् । सार्वजनिक विद्यालयको शैक्षिकस्तरमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । सार्वजनिक विद्यालय भनेको दुःखी, गरिबमात्र पढ्न जाने होइन, राष्ट्रको गौरव हो । राष्ट्रलाई गौरवान्वित बनाउन र समाजलाई समानतान्तर स्तरमा अगाडि बढाउन सार्वजनिक शिक्षाले महत्वपूर्ण भूमिका खेल्दछ ।
गएको दशकमा शिक्षा क्षेत्रमा धेरै परिवर्तन आए तर कायापलट नै भएको चाहिँ भन्न मिल्दैन । यद्यपि एउटा आगो बाल्न सानो झिल्काचाहिँ बल्न थालेको हो कि भन्न सकिन्छ । अहिले स्थानीय तहबाटै सार्वजनिक शिक्षा सुधारका लागि प्रयास भइरहेका छन् । यसले सार्वजनिक शिक्षामा केही नवीनता ल्याउने संकेत देखाएको छ ।
सार्वजनिक शिक्षा नै आजको प्रमुख मुद्दा बनेको देशभरका स्थानीय तहहरुले बुझ्नुपर्ने थियो । तर, सार्वजनिक शिक्षालाई बलियो बनाउन पर्याप्त काम गरेको देखिँदैन । काम भएका छन् तर कछुवाको गतिमा । सार्वजनिक शिक्षालाई नै केन्द्रमा राखेर काम गर्नुपर्छ भन्ने भावनाचाहिँ देखिन्छ । शिक्षा क्षेत्रमा सम्भावना प्रशस्तै देखिन्छन् । गएको १० वर्षमा सार्वजनिक शिक्षा मूल विषय हुन् भन्ने अवधारणा विकास भएको छ । स्थानीय तहमा सोअनुसार काम भएको पाइन्छ । ती प्रयासको ठ्याक्कै प्रभाव देखिन पक्कै समय लाग्छ । अर्कोतर्फ शिक्षा प्रणाली विकासका लागि विद्यालय व्यवस्थापन समितिको पनि मुख्य भूमिका रहन्छ ।
त्यसैलाई आत्मसात् गरेर टिएफएनमा आबद्ध भई काम गरिसकेकाले कोलाबोरेटिभ स्कुल नेटवर्क (सिएसएन) नामक संस्था स्थापना गरी काम गर्दै आएका छन् । जसले सार्वजनिक विद्यालयको व्यवस्थापनलाई एउटा लयमा ल्याउन सहयोग पु¥याइरहेको छ ।
शिक्षण प्रणाली सुधारका लागि शिक्षक पनि दक्ष र समयसापेक्ष हुनुपर्छ । यसका लागि विभिन्न तालिम गराउन र सिकाउन पनि संस्था खोलेर टिएफएनका साथीहरुले काम गरिरहेका छन्, जसले शिक्षा क्षेत्रमा अलिकति भए पनि टेको लगाएको छ । प्रशस्त सम्भावनाका साथ कसरी हाम्रो शिक्षालाई उकास्ने भन्ने विषयमा गम्भीर रुपमा छलफल चलाइँदै आइरहेको छ ।
अर्को महत्वपूर्ण कुरा, विद्यार्थीहरु किन विद्यालय छोड्छन् भन्ने कुरा सुरुमा बुझ्नुपर्दछ । विभिन्न कारणले विद्यार्थीले विद्यालय छाड्ने प्रवृत्ति रहिआएको छ । धेरैजसोको सोचमा गरिबीका कारण अधिकांश विद्यार्थीले विद्यालय छोड्छन् भन्ने छ । केही हदसम्म त यो पनि ठिकै हो तर केही बालविवाहका कारण विद्यालय छोड्ने गरेको पाइन्छ भने कोही पढाइमा राम्रो रुचि नभएकाले छाड्ने गरेको पाइएको छ ।
अभिभावकले पढेर कहाँ पुग्छ भन्ने सम्भावना नदेखेपछि विभिन्न काममा लगाइदिने तथ्य हाम्रो समाजमा विद्यमान रहेको हामीले पाएका छौं । यसका साथै कतिपय विद्यार्थीले आर्थिक कारणले पनि एसइईपछिको पढाइलाई छोट्याउने गरेका छन् । हामीसँग हाल यति नै विद्यार्थी ‘ड्रपआउट’ भए भन्ने यकिन तथ्यांक छैन । आगामी दिनमा यस्तो तथ्यांक लिएर अगाडि बढ्ने योजना राखेका छौं ।
विगतमा शिक्षा भन्ने विषयमा कसैको पनि सरोकार नभएको अवस्था थियो । यहाँ के आवश्यकता छ भन्ने कुरै पहिचान नभएको अवस्था थियो । यस विषयमा प्रायः युवामा पनि कुनै रुचि नभएको पाइएको छ । सर्वप्रथम कोही पनि शिक्षक बन्नै चाहँदैनन् । यस क्षेत्रलाई बुझ्ने, नीति नियम विश्लेषण गरी नियालेर हेर्न कसैको पनि चासो नभएको र कमजोरी कोट्याउने व्यक्तित्व नभएर सुधार नभएको हो कि भन्ने पनि देखिएको छ ।
विगतमा सार्वजनिक शिक्षा निकै कमजोर मानिन्थ्यो जसले गर्दा सार्वजनिक शिक्षालाई पूर्णतया बेवास्ता नै गरिएको थियो । यद्यपि, लगभग गएको ५० वर्षको अवधिलाई हेर्ने हो भने संख्यात्मक रुपमा विद्यार्थी संख्या वृद्धि भएका छन् । तर, गुणस्तरीय शिक्षामा समस्या यथावत् नै देखिन्छ । यो अवस्थालाई हेर्ने हो भने यस क्षेत्रमा सक्षम नेतृत्व आवश्यक छ भन्ने प्रस्ट हुन्छ । किनभने, ‘सिस्टम फेल’ हुँदै छ ।
शिक्षा प्रणाली वा शिक्षण व्यवस्थापनमा हामी कहाँनेर चुक्यौं भन्ने प्रश्न आफैंमा गम्भीर छ । कुनैै पनि कम्पनी, संस्था वा विभागमा समस्या छ भने उसले एउटा असल नेतृत्वको खोजी गर्छ । त्यस्तै शिक्षा प्रणालीका लागि पनि असल नेतृत्व गर्ने व्यक्ति खोज्नुपर्छ भन्ने हाम्रो बुझाइ छ । जब कुनै पनि कम्पनी, संस्थामा समस्या आउँछ, वा त्यहाँभित्र भएका कुनै पनि विभाग समस्यामा छ भने त्यहाँ असल, दक्ष मेनेजर वा त व्यक्तित्वको खोजी हुनु आवश्यक छ ।
त्यस्ता खालका व्यक्तिलाई शिक्षा क्षेत्रमा आकर्षण गराउनु आवश्यक छ । त्यस्ता लिडरलाई तालिम दिनुप¥यो, पालनपोषण गर्नुपर्यो । गाउँगाउँ गएर वास्तविकता के हो भनेर देखाइदिनुपर्यो । त्यसपछि शिक्षाको सरोकार लिएर अगाडि आउँछन् र उनीहरुले सार्वजनिक शिक्षा क्षेत्रमा हस्तक्षेप गर्छन् । यही कुरालाई नै ध्यान दिएर हामीले दुई वर्षसम्म फेलोसिप गराउने गरेका छौं ।
दुई वर्षको फेलोसिपमा पढाउनेमात्र होइन, यो अवधि उनीहरुको लिडर बन्ने तयारी हो । दुई वर्षमा विद्यालय जान्छन्, त्यहाँका विद्यार्थीहरुलाई पढाउँछन् । विद्यार्थीहरुको पढाइ र सिकाइको बारेमा बुझ्छन् र व्यवहारमा परिवर्तन ल्याउँछन्, जसले परिवर्तन सम्भव रहेछ भन्ने फेलोज्ले थाहा पाउँछन् ।
त्यसपछि विद्यालय र समुदायमा बसेपछि परिवर्तन ल्याउन कस्तो विद्यालय चाहिँदो रहेछ, कस्तो टिम चाहिँदो रहेछ भन्ने कुरा बुझ्छन् । अभिभावकलाई कसरी बुझाउनुपर्ने रहेछ, कहाँ अभिभावकले अप्ठेरो बनाउँदा रहेछन्, कहाँ स्कुलको सिस्टमले गाह्रो पार्दो रहेछ, कहाँ समुदायले अप्ठेरो पार्दो रहेछ भन्ने बुझाइ हुन्छ ।
कस्ता र कहाँ राष्ट्रिय नीतिले गर्दा अप्ठेरो पर्दो रहेछ भन्ने बुझ्छन् । उक्त दुई वर्षमा धेरै कुरा गहन रुपमा बुझेर धेरै अवसर उनीहरुले देख्ने गरेका छन् । अवसर पायो भने यहाँनेर परिवर्तन गर्न यस्तो गर्न पाए हुन्थ्यो भन्ने देख्छन् । दुई वर्षपश्चात् शिक्षामा जहाँ कमी कमजोरी देखेका छन् त्यहाँ अवसरको खोजी गरी नेतृत्व लिने गर्छन् ।
सार्वजनिक विद्यालयका विद्यार्थीहरु पनि अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालयमा छात्रवृत्तिमा जाने परिकल्पना गर्न नसक्ने अवस्था थियो, जुन अहिले सफल पनि भएका छन् । यहाँका अधिकांश फेलोज्ले शिक्षा क्षेत्रमा नै नवप्रवर्तनका पद्धतिमा, व्यावहारिक पढाइ र सिकाइमा लागेका छन् ।
राष्ट्रियस्तरमा शिक्षाको मुद्दामा यस संस्थाको अनुभव र पद्धतिलाई समाजमा बाँडिएको छ, शैक्षिक नीतिनियम बनाउने कार्यक्रममा टिएफएनले बटुलेका अनुभवले पनि प्रभाव पार्ने देखिएको छ । १० वर्षको टिएफएन हेर्ने हो भने कक्षाकोठाबाट धेरै नेतृत्व गर्ने युवा जमात तयार भएका छन् । शिक्षा क्षेत्रलाई लिड गर्ने युवा तयार भएका छन्, जुन १० वर्षका उपलब्धि हुन् ।
सार्वजनिक शिक्षालाई निजी विद्यालयको शिक्षासँग दाँज्नु आवश्यक छैन । यो कुनै दौड वा प्रतिस्पर्धा होइन सरकारीले जित्ने कि निजीले जित्ने भन्ने । सबै निजी विद्यालयले गुणस्तरीय शिक्षा दिन्छन् भन्ने पनि छैन । निजी विद्यालयले दिएको शिक्षाले आर्थिक, सामाजिक रुपमा राष्ट्रको विकासमा कति योगदान गरेको छ भन्ने कुरा महŒवपूर्ण हो । यहाँ मुख्य सवाल सार्वजनिक शिक्षा हरेक अभिभावकले अपेक्षा गरेअनुसारको हुनुप¥यो भन्ने हो ।
अभिभावकले आफ्ना छोराछोरी संस्कारी होस्, यति पढ्ने होस्, यति बुझ्ने होस् भन्ने आकांक्षा राखेका हुन्छन् । विद्यार्थीको अपेक्षा पूरा हुनसक्ने विद्यालय हुनुप¥यो । सार्वजनिक शिक्षा आर्जन गरेका विद्यार्थीलाई समाज र देश निर्माण गर्ने अभियानको नेतृत्व गर्नसक्ने बनाउने हाम्रो लक्ष्य हो ।
सार्वजनिक विद्यालयलाई पैसा हुने र नहुने सबैले शिक्षा लिने थलो बनाइनुपर्छ । सार्वजनिक शिक्षा राष्ट्रको गौरव बनोस्, जस्तो फिनल्याडको शिक्षा विश्वभर चर्चामा आउँछ, नेपालको शिक्षा पनि त्यस्तै चर्चा आओस् भन्ने चाहना हो । विद्यालयमा हुनुपर्ने स्रोतहरुमा राष्ट्रले गरिरहेको लगानी एकदमै न्यून रहेको देखिन्छ । प्रारम्भिक लगानीको पर्याप्त आवश्यक देखिन्छ । विद्यालयमा स्रोतको कमीे छ । आधारभूत संरचना पनि निकै कमजोर छन् । शिक्षकका लागि तालिम पनि निकै कम देखिन्छ ।
प्रारम्भिक लगानीमा सरकारले जोड दिनसक्ने हो भने अबको दिनमा चाहेको जसरी अनुमानित नतिजा आउने सुरुआत हुने अपेक्षा गर्न सकिन्छ । दशक बितिसक्दा ठोस परिवर्तन भने देखिएको छैन । विस्तारै नवप्रवर्तनका कुराहरु भने हुन थालेका छन् ।
अब आउने नयाँ पिढीका शिक्षकलाई कसरी तालिम दिएर कार्यक्षेत्रमा उतार्न सकिन्छ भन्ने कुरामा तयार रहनुपर्ने देखिन्छ । यसका साथै विद्यालयका प्रधानाध्यापकलाई पनि कस्तो नेतृत्व गर्ने भन्नेबारेमा प्रशिक्षण दिन जरुरी छ । पाठ्यक्रममा पनि सुधार गर्नुपर्ने देखिन्छ । अबको दशकमा समाज बुझेको, माटो छोएको, गहनता बोकेको, गम्भीर एवं प्रतिबद्धताका साथ नेतृत्व गर्ने युवाहरु उत्पादन गर्नु टिएफएनको लक्ष्य रहेको छ ।
यसका साथै सार्वजनिक शिक्षातर्फ आमजनताका ध्यान तान्नु अर्को मूल उद्देश्य टिएफएनले बोकेको छ । हालै नेपालको छ वटा जिल्लामा शिक्षा क्षेत्रमा काम गरिरहेको टिएफएन धेरै युवाको प्रेरणाको स्रोत बनेको छ । शिक्षण पेसामा वितृष्णा भएका युवालाई ऊर्जा थप्ने काम गरिरहेको छ ।
(कुराकानीमा अधारित)