काठमाडौं– इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल–२०२०’ नेपालको प्रतिनिधित्व अनुष्मा रायमाझीले गर्ने भएकी छन् ।
मिस इकोका लागि आधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले राजधानीमा एक कार्यक्रमबीच प्रतियोगी सार्वजनिक गरेको हो । कार्यक्रममा मिडियाले रायमाझीलाई ‘मिस इको इन्टरनेशनल नेपाल–२०२०’को क्राउन समेत लगाइदिएको छ । रायमाझीलाई गत बर्षकी मिस इको इन्टरनेशनल विजेता मुना गौचनयले उनलाई ताज लगाइदिएकी थिइन् ।
रायमाझीले आगामी मार्चमा ईजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेशनल–२०२०’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ६० भन्दा बढी देशका सुन्दरीहरूको सहभागीता रहने प्रतियोगीताका लागि रायमाझी नेपालबाट एक्लो सहभागी हुन् । रायमाझी नेपालको पाँचौ सहभागी हुन् । यसअघि प्रतियोगितामा प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य, मुना गौचनले सहभागिता जनाएका थिए ।
मिस इको नेपालको उपाधी लगाएपछि रायमाझीले अन्तर्राष्ट्रिय क्षेत्रमा देश चिनाउने एक अवसर प्राप्त भएको बताएकी छन् । २० बर्षीया पुरानो बानेश्वरकी रायमाझीले भनिन् ‘प्रतियोगीतामा कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थान प्रचार गरेर भिजिट नेपाल २०२० को समेत प्रचार गर्नेछु ।’
मिस इको इन्टरनेशनल एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सि.पि. अर्गनाईजेशनले ‘ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाइ इजिप्टबाट २०१५ देखि सुरु गरेको हो । यसको मुख्य उद्देश्य विश्वभरीका पर्यावरण, संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत सुचना प्रवाह गर्ने रहेको छ ।
गत बर्षकी सहभागी मुना गौचन प्रतियोगिताको टप २० मा पुग्न सफल भएकी थिइन् । यस बर्षकी सहभागीले उपाधि जित्न सक्ने बिश्वास आफुलाई लागेको ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए ।