- उपेन्द्रले पहिरेको मधेसको मसीहको ताज खोस्न उद्दत सीके सत्ता छोडेर, टाउको टेकेर बारा उत्रिए पनि उनको केही लागेन
- उपेन्द्र धुलो टकटकाउँदै फेरि उठेका छन् उपनिर्वाचनबाट
- योसँगै तीन सिटमध्ये एकमा जितेर गठबन्धनको नाक जोगाउने एक्ला बने उपेन्द्र
काठमाडौं– गत मंसिरमा झण्डै दोब्बर मतान्तरले हराउँदै डा. सीके राउतले उपेन्द्र यादवलाई मधेसको राजनीतिबाट ‘ब्रेक’ लिन बाध्य बनाए । मधेसमा आफूलाई ‘मसीह’का रुपमा उभ्याउँदै आएका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष यादव रन्थनिए । संघीयताको मुद्दा उठाएर मधेसबाट अनुमोदित भएका थिए यादव । तर, भर्खरै उदय भएको जनमत पार्टीका अध्यक्ष राउतले चुनावी मैदानमा नजरअन्दाज नगरिएका कुस्तीबाजले पछारेझैं पछारेपछि हात उठाउँदै ‘म्युट’ बस्न विवश भए उपेन्द्र ।
सप्तरीमा पछारिएका उपेन्द्र संघीय सरकारको नेतृत्वमा घुम्न थाले । चुनावका बेला एमालेको फेरो समात्न गए पनि सत्ता फेरबदलमा उनले माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालका साथ छाडेनन् । पछि पुरानै गठबन्धनमा घुस्रिए र आफ्ना लागि मैदान बनाउन उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई अवसर दिए । उपराष्ट्रपतिमा छानिएका रामसहाय यस्तो पात्र थिए जसको विरोध खासै भएन । आफ्नो ठाउँ पनि खाली हुनु, जनमानसमा लोकप्रिय व्यक्ति उपराष्ट्रपतिमा छानिनु । उपेन्द्रले चाहेकै यही थियो । भइदियो यही ।
उनै उपेन्द्र धुलो टकटकाउँदै फेरि उठेका छन् उपनिर्वाचनबाट । आफूले चुनावी मैदानमा पछारेका उपेन्द्र झण्डै २३० किलोमितर परको दुरीमा रहेको बारा–२ मा पुगेपछि डा. राउतलाई औडाह हुनु स्वाभाविक थियो । एक त उपेन्द्रलाई सत्ता गठबन्धनको साथ रहने भयो, अर्को हारबाट पाठ सिकेका उपेन्द्र जुनसुकै तिकडम लगाएर भए पनि संसद् छिर्ने दाउमा थिए । यस्तो अवस्थामा आफ्ना प्रतिस्पर्धीलाई जसरी पनि हराउने ‘मिसन’मा लागे राउत ।
उपेन्द्रले पहिरेको ‘मधेसको मसीह’को ताज खोस्न उद्दत सीके सत्ता छोडेर, टाउको टेकेर बारा उत्रिए । चुनावी सभाहरुमा राउत भन्थे– उपेन्द्रलाई सप्तरीमाझैं हराउँछौं । बारामा जनमतले गत निर्वाचनमा दोस्रो बनेका शिवचन्द्र कुशवाहालाई मौका दियो । बाराको उपनिर्वाचनमा रमाइलो के थियो भने दोस्रो प्रतिस्पर्धामा उत्रेका तीन उम्मेदवारले गत निर्वाचनमा हारको स्वाद चाखिसकेका थिए । उपेन्द्र सप्तरी–२ मा पछारिएका थिए भने शिवचन्द्र यही क्षेत्रमा । यता पछिल्लोपटक चर्चामा छाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रमेश खरेल काठमाडौं १ बाट हारेका थिए ।
मैदान र प्रचार हेर्दा ‘हरुवा’हरुमध्ये उपेन्द्र र शिवचन्द्रको ‘दंगल’ रोचक हुने वातावरण तयार भयो । अझ भनौं यो दंगल सीके राउतको प्रतिष्ठासँग पनि जोडिएको थियो । राउत चाहन्थे मंसिरमा आफैंले झण्डै दोब्बर मतले हराएका उपेन्द्र यसपाला मैदानमा लडून् र कहिल्यै नउठून् । सप्तरी–२ मा राउतले ३५ हजार ४२ मत पाउँदा उपेन्द्रले १६ हजार ९७९ मा चित्त बुझाएका थिए । चुनावको अन्तिम घरदैलोको दौरानमा जनमतको मिसनबारे जिज्ञासा राख्दा उपेन्द्र झोक्किएका थिए पनि । मतदातालाई नमस्कार ठोक्दै अघि बढ्दा सञ्चारकर्मीको समूहले उनलाई घेर्दै प्रश्न सोधेका थिए, ‘तपाईं चुनावमा हार्दै हुनुहुन्छ, सीके राउतको पार्टीले कडा टक्कर दिंँदै छ भन्ने सुनिँदै छ नि ?’ प्रश्न सुनेर झोक्किएका उनको जवाफ थियो, ‘को हुन् सीके राउत, कोबाट परिचालित छन् ? यो खोजको विषय हुनसक्छ, अनुसन्धान गर्नुपर्छ ।’ त्यतिबेला परिस्थिति सधैं एउटै नरहने बताएर शान्त बनेका थिए उपेन्द्र ।
उनै उपेन्द्रले उपचुनावमा जनमतका शिवचन्द्रलाई पाँच हजारभन्दा बढी मतान्तरले पराजित गर्दै दंगल जितेर दोस्रो प्रयासमा संसद्मा ‘इन्ट्री’ मार्दै आफ्नो पार्टी नेतृत्वको इज्जतमात्र जोगाएनन् गठबन्धनकै इज्जत धानिदिए । किनकि, तीन सिटमध्ये दुई सिट गठबन्धनका उम्मेदवारलाई निकै पछि पार्दै रास्वपाका उम्मेदवार विजयी बन्दा गठबन्धनको नाक जोगाउने एक्ला बने उपेन्द्र । यतिमात्र हैन पार्टीमा घटेको साखलाई उनले फर्काएका छन् ।
यसपटक कांग्रेस इमानदार बन्दा उपेन्द्रले विजयको ताज लगाउन सफल भएको जनमत पार्टीको विश्लेषण छ । मतदानको अन्तिम सातासम्म जनमतका शिवचन्द्रको पक्षमा माहोल देखिए पनि अन्तिम दिन राति परिस्थिति फेरिएको डा. राउतनिकट एक नेताले बताए । अध्यक्ष राउतले भने सत्ताको लाठी र बन्दुकको बलमा बुथ कब्जा गरी चुनाव उपेन्द्रले जितेको आरोप लगाएका छन् ।
यद्यपि, सोही पार्टीका अर्का नेता जनमतको उम्मेदवार छनोट नै गलत भएको दाबी गर्छन् । ‘नयाँ व्यक्तिहरु रुचाइएको बेला जनमतले आफ्नै नेतालाई अवसर नदिएर माओवादीका नेतालाई छान्नु अध्यक्ष राउतको गल्ती थियो,’ नाम नखुलाउने सर्तमा ती नेताले भने, ‘यसले गर्दा जनमतले सुनौलो मौका त गुमायो नै अध्यक्षको मिहेनत पनि खेर गयो ।’
यता आफू निर्वाचित भएपछि जसपाका अध्यक्ष यादवले मतदाता र गठबन्धनका नेता कार्यकर्तालाई धन्यवाद दिँदै सीके राउत लक्षित प्रतिक्रिया दिए । यादवले आफ्नो जित राष्ट्रिय एकतालाई तोडेर विखण्डनका लागि रोपिएको बीजको हार भएको तर्क गरे । ‘मधेसी समुदायलाई जात जातमा लडाएर जातीय विद्वेष फैलाउने केही मनिसहरुले गरेको प्रयास नराम्रोसँग पराजित भएको छ,’ यादवले जितपछि भने ।
उपेन्द्रको उदय
विराटनगरमा शिक्षण पेसामा रहेका यादवले सन् १९९७ मा मधेसी जनअधिकार फोरम नेपाल गैरसरकारी संस्था गठन गरेर मधेस राजनीति सुरु गरेका थिए । संकटकालका बेला आप्रवासमा बसेका उनी भारतमा जेलमासमेत परेका थिए । २०६३/६४ को मधेस आन्दोलनबाट उनी राजनीतिको चर्चामा छाए । आत्मनिर्णयको अधिकारसहितको समग्र मधेस एक प्रदेश र संघीयता, समावेशिताको मुद्दा उठाएर उनी अगाडि बढे ।
०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचनमा उनले दुई स्थानबाट चुनाव जितेका थिए । पहिलो संविधानसभामा मोरङ–५ र सुनसरी–५ बाट उनी विजयी भए । पहिलो संविधानसभामा ५२ सिटसहित चौथो शक्ति बनेर उदाएको फोरम पछि टुक्रियो र १३ सिटमा सीमित हुन पुग्यो ।
दोस्रो संविधानसभाको निर्वाचनमा पनि उनी सोही दुई स्थानबाट चुनावमा उठेका थिए तर मोरङमा पराजित भएका उनी सुनसरीमा विजयी भए । दोस्रो संविधानसभापछि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग उनले एकीकरण गरेर पार्टीको नाम संघीय समाजवादी फोरम नेपाल राखेका थिए । स्थानीय तहको निर्वाचनअगाडि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकीकरणको तयारी भए पनि अन्त्यमा अध्यक्ष पदको विवादका कारण सफल हुन सकेको थिएन । यद्यपि, भट्टराईको पार्टी उनकै पार्टीको मसाल चुनाव चिह्न लिएर स्थानीय तहको निर्वाचनमा गएको थियो ।
०७४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा उनी सप्तरी–२ बाट निर्वाचित भएका थिए । वाम गठबन्धनका उम्मेदवार एवं पूर्वमन्त्री उमेश यादवलाई पराजित गर्दा त्यतिबेला पनि उनलाई नेपाली कांग्रेसको साथ थियो । चुनावमा ‘ह्याट्रिक’ जित निकालेर पटक–पटक सत्ताको स्वाद चाखेका उनी मंसिरमा भने पछारिएका थिए । दल टुटफुटको राजनीतिमा उपेन्द्रको पार्टीको नाम फेरिरह्यो । २०७७ जेठमा राष्ट्रिय जनता पार्टीसँग मिलेर पार्टीको नाम जसपा बन्यो । मिलेको केही समयमै महन्थ ठाकुर, राजेन्द्र महतोलगायत छुट्टिएर लोकतान्त्रिक समाजवादी पार्टीृ बन्यो भने उपेन्द्र जसपाको अध्यक्ष रहे ।