काठमाडौं – समाजिक बिषयमा निर्मित फिल्म ‘दोषी को ?’को शनिबार चलचित्र बिकास बोर्डको हलमा बिशेष प्रदर्शन गरिएको छ । अभिनेता, निर्माता तथा चलचित्र कलाकार संघका पूर्वअध्यक्ष नवल खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनले नेपाली चलचित्रको बिकासका लागि आफू लागि परेको बताए ।
अभिनेता खड्काले नेपाली चलचित्र बिदेशी चलचित्रको चेपुवामा परेकाले अपेक्षाकृत बिकास हुन नसकेको तथ्य औँल्याउदै यसका लागि सम्बन्धित निकाय र सरोकारवालाले ठोस कदम चाल्नुपर्ने बताए । उनले आफू सधैँ स्वदेशी फिल्मको पक्षमा रहेको र यसका लागि जुनसुकै मुल्य चुकाउन पनि तयार रहेको दावी गरे । निमा लामा तामाङको निर्देशन र गोपी अधिकारी निर्माता रहेको फिल्मको बिशेष शोमा फिल्ममा सम्बन्धित कलाकार, प्राबिधिक तथा सहयोगीलाई मायाको चिनो प्रदान गरिएको थियो ।
करण थापा मगरको प्रस्तुति रहेको फिल्ममा सुवास नेपाली, करण थापा मगर, सपना लामा, नेहा गौतम, गोपी अधिकारीलगायतका कलाकारले अभिनय गरेको छ ।
सडकमै जन्मे, हुर्केका दुखी गरिबको जीवनका उचाढचढावलाई कथामा बुनीएको फिल्म छिट्टै थुप्रै देशहरूमा प्रदर्शन गर्न लागीएको जानकारी निर्माता गोपी अधिकारीले दिए । उनले फिल्ममा मनोरञ्जनका साथै सन्देशसमेत रहेकाले हेरेका जति दर्शकले मन पराएको बताए ।
निर्देशक लामाले आफूले पहिलोपटक निर्देशन गरेको नेपाली फिल्म दर्शकले मन पराएकोमा खुशी ब्यक्त गरे । करण फिल्मस् प्रोड्क्सनको ब्यानरमा निर्माण भएको फिल्म केही समयपछि स्वदेशका हलमा प्रदर्शन गरिने जानकारी निर्माण पक्षले दिएको छ ।