भूकम्प गएको पाँच वर्ष पुग्न लागेको छ । तर, सरकारले अझै पुनर्निर्माणको काम पूरा गर्न सकेको छैन । सरकारले पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण बनाए पनि यसमा राजनीति घुस्दा यसले आफ्नो उद्देश्य पूरा गर्न सकेन । बरु सरकारले पटक–पटक मुख्य कार्यकारी अधिकृत (सिइओ) फेर्ने काम गर्न पछाडि परेन । यहि पदमा दुई जना सिइओ फेर्ने क्रम चल्यो । जुन सरकार आयो, उसकै निकटका व्यक्तिलाई सिइओ बनाएर सरकारले भूकम्पपीडितमाथि खेलबाड गरिरह्यो । त्यसमाथि सरकारले काठमाडौंकै एक परिचय भीमसेन स्तम्भ धरहरा पनि बनाउन सकेको छैन । तत्कालीन तथा अहिलेको प्रधानमन्त्रीले बेलैमा धरहरा बनाउने भन्दै निक्कै तामझामका साथ शिलान्यास गर्ने काम गरे । तर, आज यसको चौथो बित्दासमेत धरहरा निर्माणको काम पूरा भएको छैन । अझै सरकारले नौ महिना लगाउने भनेर भनिरहेको छ । हिजोको वाचा बिर्सेर सरकारले फेरि अर्को समयसीमा घोषणा गरेको छ ।
यदि यस अवधिमा धरहरा बनेन भने सरकारले कुन बाहना निकाल्ला ? यहि हो, आजको प्रश्न । सरकार हरेक काममा असफल हुँदै गएको छ । आफैँले घोषणा गरेका कतिपय कामहरू पूरा नभए पनि सरकारमा कुनै लाज देखिएको छैन । बरु अरु गफ हाँकेर जनताको ध्यान अन्त मोड्ने काम गरिरहेको छ । चाइनामा नेपालीहरू मर्नु न बाँच्नु भएर जीवन कि काल ? भन्दै गाई कि त्रिशूल भन्दै बसेका छन् । तर, यता सरकार प्रमुख भने पन्ध्रौँ शताब्दीमा रोम जल्दा दरबारमा बाँसुरी बजाएर रमाउने निरो बादशाहको नक्कलमा उत्रेका छन् । चीनमा अलपत्र हुनेका अभिभावकहरूले सरकारको ध्यानाकर्षण गराउँदै गर्दा प्रधानमन्त्री भने बाँसुरी बजाउँदै रमाउनु केवल संयोग नहुन सक्छ । स्पष्ट बहुमत प्राप्त सरकारमा यत्ति ढुक्क देखिएको छ कि आफूले जे गर्दा पनि आफूविरुद्ध केही नहुने भन्दै सरकारमा अत्यन्तै मोनोपोली बढेको देखिएको छ ।
वास्तवमा संघीय राजधानी काठमाडौंको एक मुख्य आकर्षणमध्ये एक हो धरहरा । धर, धरहरा नहुँदा धेरैले काठमाडौं घुम्न खल्लो महसुस गर्दै आएका छन् । राष्ट्रको धरोहर अत्याधुनिक धरहरा अबको नौ महिनाभित्र मुख्य संरचना सक्ने गरी अहिले काम तीव्ररूपमा भइरहेको प्राधिकरणले जनाएको छ । देशको गौरव र पहिचानसँग जोडिएको ऐतिहासिक धरहराको मुख्य संरचना अबको नौ महिनाभित्र सम्पन्न हुनै पर्छ । अन्यथा सरकारले म असफल भएँ भनेर हात उठाउनुपर्छ । प्राधिकरणले आगामी एक वर्षभित्र आमसर्वसाधरणले २२ तले धरहराको टुप्पोबाट राजधानी काठमाडौंको मनोरम दृश्वावलोकन गर्न पाइने जनाएको छ । तर, विश्वास भने छैन । धरहरा भत्किएको पाँच वर्षमा केही गर्न नसक्ने सरकारले अबको नौ महिनाभित्र काम सक्ने भने पनि विश्वास भने गर्ने ठाउँ छैन । शिलान्यास भएको एक वर्ष पूरा हुँदा पनि धरहराको जगसमेत बसाल्न नसकेको सरकारले अबको एक वर्षमा धरहरा पूरा गर्ला भनेर कसरी विश्वास गर्ने ? प्राधिकरणका अनुसार धरहराको निर्माणको भौतिक प्रगति ३७ प्रतिशत र वित्तीय प्रगति करिब ३१ प्रतिशत रहेको छ । धरहरालाई कुनै पनि मूल्य र मान्यतामा छिटोभन्दा छिटो बनाएर काठमाडौंको सानलाई फर्काउनुपर्छ ।
प्रकाशित मिति: सोमबार, माघ २७, २०७६ ०८:१२