काठमाडौं– काठमाडौंको गोर्कणस्थित सहिद पार्क शनिबार तेह्रथुम जिल्लावासीले भरीभराउ थियो । जहाँ तेह्रथुमका नेतादेखि कलाकारसम्मको उपस्थिति थियो ।
तेह्रथुममा जन्मेर वा तेह्रथुमसँग नाता जोडिएकाहरूलाई एकै स्थानमा जम्मा गर्ने र परिचय गर्ने उद्देश्यले आयोजित वन भोज कार्यक्रममा तेह्रथुम झल्काउने विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । राजधानीमा विभिन्न पेसा तथा व्यवसाय गर्दै आएकाहरूको तेह्रथुमेहरूको साझा संस्था तेह्रथुम सरोकार समाज नेपालको संयोजत्वमा आयोजित ‘वन भोज’ कार्यक्रममा २५ सय भन्दा बढीको उपस्थिति थियो । कार्यक्रममा नेकपामा सांसद भगवानी खापुङ, कांग्रेसकी नेतृ तथा पुर्वमन्त्री सीता गुरुङ, पुर्वमन्त्री तुलसी सुब्बा, पुर्वमन्त्री सिपी मैनालीका अलावा नेपाल प्रहरीका एसएसपी चन्द्रकुबेर खापुङलगायत विभिन्न पेसा र क्षेत्रमा आवद्ध तेह्रथुमेहरूको सहभागिता थियो ।
तेह्रुथुम जिल्लावासी भएरपनि यहाँ आ–आफ्नो काममा व्यस्त भएकाले एक–आपसमा चिनजान समेत नभएको अवस्थामा ‘वन भोज कार्यक्रम’ले तेह्रथुमेलाई एकै ठाउँमा जुटाउने काम गरेको संस्थाका महासचिव योगेन्द्र कुृरुम्बाङले बताए ।
‘यो एउटा परिचयात्मक कार्यक्रम पनि हो’ उनले भने । तेह्रथुमबाट राजधानीमा आएर बसेकाहरूलाई वर्षमा एक दिन भेला भएर परिचय पनि हुने र रमाइलो पनि गरौँ भन्ने उद्देश्यले सात वर्षदेखि सरोकार समाजले वन भोज कार्यक्रम गर्दै आएको छ । वन भोज कार्यक्रममा तेह्रथुममा जन्मिएका राष्ट्रियस्तरका कलाकारहरूले सांगीतिक प्रस्तुत दिएका थिए । साथै, कार्यक्रममा लिम्बू समुदायको सांस्कृतिक धान नाच, केःलाङ (च्याब्रुङ नाच)लगायतका मनोरञ्जनात्मक गतिविधिहरू गरिएको थियो ।