काठमाडाैं - कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिएका छन् । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिएका हुन् ।
उनलाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक/एक जना गरी २९ जना सांसदले विश्वासको मत दिएका छन् ।
चालीस सदस्यीय प्रदेश सभामा विश्वासकाे मतका लागि २१ जनाको समर्थन आवश्यक थियो । नेकपा एमालेका नाै र राप्रपाका एक जनासहित १० जना सांसदले उनकाे विपक्षमा मतदान गरे ।
नेकपा एमालेको समर्थनमा गएको पुसमा मुख्यमन्त्री बनेका शर्माले प्रदेश सरकारमा रहेको एमाले बाहिरिएपछि विश्वासको मत लिनुपरेको हो । पहिलोपल्ट एमाले र राप्रपासहितको विश्वासको मत लिएका शर्माले राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिएका थिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८० १८:०८