प्रदेशको नामकरण भएसँगै कोशीका पहिचान पक्षधर आन्दोलित छन् । यही क्रममा पदम लिम्बु (लाजेहाङ)ले सहादत प्राप्त गरे । पदमको दाहसंस्कार भएलगत्तै एमाले अध्यक्ष केपी शर्मा गृहजिल्ला झापा पुग्दा आन्दोलनकारीले कालो झण्डा देखाए । शान्तिपूर्ण विरोधमा पनि एमालेले आन्दोलनकारी ढुंगामुढामै उत्रिएको र यसमा कांग्रेस–माओवादीको हात रहेको आरोप लगाएको छ ।
एक महिनाअघि चैत १० मा पनि ओलीले कोशी प्रदेश नामकरणमा मुख्यमन्त्री हिक्मत कार्कीको बचाऊ गरेका थिए । कोशी कुनै जात र थरको नाम नभएको ओलीको दाबी थियो । पहिचानको पक्षधरले आन्दोलन चर्काइरहेकै बेला झापा पुगेका ओलीले एमालेलाई चौतर्फी घेराबन्दीमा पारेको तर्क गरे ।
प्रदर्शनकारीबारे खासै केही प्रतिक्रिया नदिएका ओली बिहीबार इलाम पुग्दा भने आक्रोशित देखिए । इलाम जानेक्रममा आन्दोलनकारीले ओलीको सवारीलाई अवरोध गर्ने प्रयास गरेका थिए । त्यही घटना सम्झेर होला ओलीले आन्दोलनरत पक्षधरलाई आतंककारी भन्न भ्याए ।
बुधबार खासै नखुलेका ओली इलाम पुग्दा आक्रामक सुनिए । आफ्नो यात्रा बिथोल्न प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको पार्टीको संलग्नता रहेको आरोपसमेत लगाए । ओली धम्कीको भाषामै उत्रिए– अति भयो भने जवाफी कारवाहीमा उत्रनुपर्ने अवस्था आउनसक्छ यो अलिकति महँगो पर्न सक्छ है !
कोशीमा एमाले नेतृत्वको सरकार छ । नामकरणमा सबै दलको साथ एमालेलाई रह्यो । बहुमतले प्रदेशको नाम पारित भएसँगै यहाँका पहिचान पक्षधरको आन्दोलन चर्किन थालेको हो । पदमको निधनपछि आन्दोलन भड्किने आशंकामा सरकारले माध्यमार्ग अपनाइरहेको अवस्था छ । पदमलाई सहिद घोषणा गरेसँगै केही शान्त बनेको थियो कोशी । तर, ओली झापा पुग्दा एकाएक आन्दोलन भड्किन थालेको छ ।
आन्दोलनकारीलाई सम्झाइबुझाइ गर्ने र भीड मत्थर पार्नु शीर्ष नेताको दायित्व हो । तर, आन्दोलनमा अराजकता फैलाउने ध्यायका साथ जवाफी पत्थर फ्याँकेका छन् ओलीले । जिम्मेवार नेता शान्ति कायम गर्न हरदम तयार हुन्छ । आन्दोलनकारीलाई बुझाउनु त कता कता, आफैं जवाफी कारवाहीमा उत्रने धम्की दिनु कतिको जायज होला ? ओलीले धम्कीको पास फ्याँकेकै दिन एमालेको भ्रातृ संगठन युवा संघले पनि विज्ञप्ति जारी गर्दै ओलीमाथि भएको आक्रमणको प्रतिवाद गर्ने धम्की दिएको छ ।
लोकतन्त्रमा नेतृत्वमाथि प्रश्न उठाउनु सामान्य हो । पहिचान पक्षधरले ओलीमाथि औंलो ठड्याएको यही प्रश्न सोध्न हो । प्रश्न सोध्नेलाई भड्काउँदै धम्कीको भाषा प्रयोग गर्नु लोकतन्त्र हैन । जिम्मेवार दलको शीर्ष नेता ओली कोशी पसेर आन्दोलन नभड्काऊ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८० १८:३१