धनगढी – डिलाशैली गाउँपालिकाले सञ्चालन गरेको टाइप वि एम्बुलेन्स चित्तल मारेर बोकेको भेटिएपछि गोकुलेश्वर प्रहरीले एम्बुलेन्स सहित चालकलाई पक्राउ गरेको छ ।
विरामीलाई महेन्द्रनगर पुर्याएर बैतडी फर्किने क्रममा एम्बुलेन्समा मरेको चित्तल भेटिएपछि आइतबार मध्यान्ह साढे १२ बजे डिलाशैनी गाउँपालिकाको सुदुरपश्चिम प्रदेश ०१ ००१ झ ३४६ नम्बरको एम्बुलेन्स र चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । चित्तल बोकेको सूचना पाएपछि चेकजाच गर्ने क्रममा एम्बुलेन्समा जंगली जनावर चित्तल पाइएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी प्रमुख प्रहरी निरीक्षक खगेन्द्रसिह साउदले बताए । उनले एम्बुलेन्स चालक महेश बोहरा र एम्बुलेन्स प्रहरी नियन्त्रणमा रहेको जनाए । उनले चितलसहित एम्बुलेन्स र चालकलाई सव डिभिजन वन कार्यालय चौलानीको जिम्मा लगाएको बताए । चालक विरुद्ध वन ऐन अनुसार कारवाही गरिने सव डिभिजन वन कार्यालयका प्रमुख परमानन्द कुँवरले बताए । एम्बुलेन्समा चित्तल तस्करीको आरोपमा पक्राउ परेका चालक बोहरा डिलाशैनी गाउँपालिका अध्यक्ष उकेन्द्र बहादुर बोहराको भतिजा बताइएको छ । गाउँपालिकाले चालक बाहेरालाई करार सेवामा नियुक्त गरेको थियो । एम्बुलेन्समा विरामी पुर्याउन शनिबार महेन्द्रनगर गएका चालक बोहराले फर्किदा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चित्तल मारेर ल्याएको प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ । कञ्चपुरबाट गोकुलेश्वर पुग्दा बाटोमा नेपाली सेनाको दुई र प्रहरीको ६ स्थानमा चेक पोष्टहरू छन् । सव डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत कुँवरले चित्तल, चालक र एम्बुलेन्स डिभिजन वन कार्यालयलाई बुझाइने बताए । उनले घटनाको अनुसन्धान गरी कानून अनुसार कारवाहीको प्रक्रिया थालिने बताए ।