काठमाडौं–चाबहिल सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यले भएको प्रहरीले बताएको छ । आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा आयोजित पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको देखिएको बताए ।
प्रहरीले झापाबाट हत्यामा संलग्नको आरोपमा विनोद बिकलाई शनिबार पक्राउ गरेको थियो । उनलाई आइतबार प्रहरीले सार्वजनिक गरेको हो । ७ वैशाखमा निराको हत्यापछि उनले निराले लगाएको सिक्री लुट्नुका साथै काउन्टरमा भएको ११–१२ हजार रुपैयाँ लुटपाट गरेको आचार्यले जानकारी दिए ।
बिकले उक्त सिक्री बालाजुको एक सुन पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ । निराको हत्याअघि बिकले उक्त पसल हेरेर फर्किएको र दोस्रो पटक गई हत्या गरेको पाइएको प्रहरीको भनाइ छ ।
एसएसपी आचार्यले भने, ‘थप अनुसन्धान भएर नयाँ चिज पनि आउन सक्छ । अहिले हाम्रो प्रारम्भिक अनुसन्धानमा सिक्री लुटपाट गर्ने उद्देश्यले नै हत्या भएको देखिन्छ ।’
निराको परिवारसँग यसअघि बिकको सम्पर्क भएको नपाइएको पनि प्रहरीले बताएको छ । ‘मृतक र मृतकका परिवारसँग यसअघि उसको सम्पर्क भएको देखिएन’ एसएसपी आचार्यले भने ।
बिकले आर्थिक समस्याका कारण लुटपाट गरेको पाइएको पनि एसएसपी आचार्यले बताए ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८० १५:३९