चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन् ।
प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले रास्वपा सरकारमा सहभागी हुने विषयमा कुराकानी चलिरहेको जानकारी दिए ।
प्रधानमन्त्री दाहालले भने, “रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन । सो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ ।” रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वभाविक नभएको जनाउँदै उनले यसैमा उनी अडिन्छन् भन्ने आफूलाई नलागेको बताए ।
सत्तासाझेदार दलका बीचमा सरसल्लाह गरेर सहमतिमा जाने प्रधानमन्त्री दाहालले बताए । रास्वपालाई अहिलेनै मन्त्रालय छाड्ने विषयमा आफूहरु नपुगेको उनले स्पष्ट पारेका छन् । प्रधानमन्त्री दाहालले भने “रास्वपका अध्यक्ष रवि जीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन । छलफलकै क्रममा भएकाले केही छैन ।”
सञ्चारकर्मीको एक प्रश्नको जवाफमा उनले सरकार पाँच वर्ष चल्ने बताए । उनले भने, “सरकार पाँच वर्ष चल्छ । यताउता हुन्छ की भन्ने भ्रम हो ।” आफ्नो निवास शिवनगरमा आयोजना गरिएको सो कार्यक्रममा प्रधानमन्त्री दाहालले खुलेर पत्रकारसँग कुराकानी गरेका थिए ।
सो क्रममा उनले महाविर पुन आफूसँग सल्लाहानै गरेर माइतीघरमण्डलामा बसेको बताए । बस्नुअघि आफूसँग बालुवाटारमा भेटेको जनाउँदै उनले पुनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताए ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८० १०:३६