काठमाडौं– बसाइ बेलायतस्थित लण्डन । नियमित काम गर्नु नै छ । तर अलिकति फुर्सद मिल्नसाथ नेपाली साहित्य सिर्जनामा घोत्लिन थालिहाल्छन् उनी । उनी अर्थात् कृष्ण बजगाई । नेपाली साहित्यमा परिचित नाम हो यो । पछिल्लो समय बजगाई नेपाली बालसाहित्यको साधनामा व्यस्त देखिन्छन् । विशेषगरी बालकथा बजगाईलाई मनपर्ने विधा ।
यसपटक कक्षा ४ देखि कक्षा ७ सम्म नेपाली पाठ्यक्रममा उनले लेखेका ११ कथा परेका छन् । यसबाट प्रस्ट हुन्छ नेपाली बाल कथा लेखनमा उनको लगाव ।धरानमा लामो समय साहित्य साधनमा लागेका बजगाई २३ वर्षअघि बेल्जियम पुगे । त्यही पुगेपछि बालसाहित्यमा रुचि जागेको बताउँछन् उनी । ‘बालसाहित्य लेखन बेल्जियममा पसेपछि हो यो लेख्न थालेको,’ बजगाई भन्छन्, ‘बेलायत आएपछि अलि सशक्त हुन थालेको छ । ११ वर्ष बेल्जियम बसें । त्यहाँबाट बेलायत आएको १२ वर्ष भयो ।’
तीन वर्षमा २१ बालकथा पाठ्यक्रममा
बजगाई बालकथामा आधुनिकता र प्रविधिसँग गाँसेर देशप्रेमका कुरा मिसाउँछन् । पशुपक्षी प्रेमका कुरा उत्तिकै हुन्छ उनको सिर्जनामा । त्यसैले होला, नेपाली पाठ्यक्रममा उनको सिर्जनाले ठाउँ पाउन थालेको छ ।‘लिफ्टको मजा’ उनले लेखेको पहिलो कथा कक्षा ४ को पाठ्यक्रममा पर्न सफल भयो तीन वर्षअघि । पाठ्यक्रम विकास केन्द्रको स्वीकृति प्राप्त प्रकाशनबाट आएको किताबका पहिलो कथा प्रकाशनपछि सम्पादकहरुले उनको खोजी गर्न थाले । ‘शिक्षक र विद्यार्थीले मन पराएका छन्,’ बजगाई भन्छन्, ‘अध्ययन अध्यापनमा राम्रो भयो भन्नुहुन्छ शिक्षकहरुले ।’
दोस्रो वर्ष उनका नौ वटा कथा विभिन्न कक्षाका नेपाली पाठ्यक्रममा परे । निजी विद्यालयमा उनको कथा पढाइ हुन थालेपछि यस वर्ष थप कथाहरुको माग बढेको उनको भनाइ छ । ‘यसपटक ११ गरी २१ कथा कक्षा ४ देखि कक्षा ७ सम्म परेका छन्,’ बजगाईले भने, ‘सरकारी पाठ्यक्रममा भने यसपटक पहिलो परेको हो ।’
[caption id="attachment_62716" align="alignright" width="300"]
.[/caption]
बालसाहित्य रोज्नुका कारण
कृष्ण घुम्न मनपराउँछन् । घुमेका कुरा अक्षरमा उतारेर पाठकलाई घरै बसेर उक्त ठाउँ जाउँजाउँ लाग्नेगरी नियात्रमा उतार्छन् । चार नियात्रा संग्रह प्रकाशन गरिसकेका उनको ‘उमिहोतारु’ पछिल्लो नियात्रा संग्रह हो । लघुकथा विशेष रुचि हो उनको ।
चारवटा लघुकथा संग्रह बजारमा आइसकेको छ । हाइकुमा पनि रुचि छ उनको । वयस्क कथामा पनि उनको १४ पुस्तक बजारमा आइसकेको छ । ‘आगो ओकल्ने पहाड’ बजगाईको पछिल्लो बालकथा संग्रह हो ।
अरु साहित्यमा सशक्त कलम चलाउने बजगाई किन लागे त बालसाहित्यमा ? ‘बालसाहित्य कम देखें । त्यसैले पनि यसमा योगदान दिनुपर्छ भनेर लेख्न थालिएको हो,’ उनको जवाफ ।
बालबालिका जसरी नयाँ–नयाँ स्वादका खानेकुरा र नयाँ–नयाँ पहिरन लगाउन मन पराउँछन् कथामा त्यस्तै नयाँपन दिन आफू बालसाहित्यमा आएको बताउँछन् बजगाई ।
‘अर्को हाम्रोमा ट्रेन्ड एउटै छ गाउँका कथा उही तथ्य कथाहरुमात्र,’ बजगाई भन्छन्, ‘बालबालिकालाई विदेशको परिवेश देखाएर फरकपन देखेर पनि लेखें । सिकाइको प्रवृत्ति देखेर बालसाहित्यमा रुचि जाग्यो ।’हालसम्म ३० वटा बालकथा लेखिसकेका बजगाईका पाँचवटा बाल कथाका किताब प्रकाशोन्मुख छन् । उनका कथामा बाल मनोविज्ञानसँगै प्रविधिका विषय पनि समेटिएका छन् । ‘प्रविधिको माध्यमबाट के गर्न सकिन्छ ? दुर्गमका बालबालिकालाई त्यसले रुचि जगाउँछ भनेर पनि प्रविधि जोड्छु । जनवार प्रेम, प्रकृति प्रेम पनि जोड्छु । अहिले त प्रविधि अभिन्न भइसकेको छ ।’
बेलायत बसेर नेपाली बालसाहित्यको सिर्जना आफैं अप्ठ्यारो विषय हो । कसरी सिर्जना गर्नुहुन्छ त ? ‘जीवनको आधा समय बिताएर यता आएको हो । मेरो शरीर यता भए पनि मन नेपालमै छ । यहाँको ज्ञानलाई नेपाली परिवेशमा ढालेर कथा लेख्छु,’ जवाफमा बजगाईले भने, ‘नेपालका समाचार फलो गर्छु । ताजा तथ्यांक लिन्छु र भेरिफाइ गरी कथा तयार पार्छु ।’व्यस्तता उत्तिकै हुन्छ । बालसाहित्य सिर्जनामा कसरी समय निकाल्नुहुन्छ ? जवाफमा उनले भने, ‘परिवारको केही समय अनि आराम गर्ने समय चोर्छु । स्ट्रेस मान्दिनँ । आनन्द लाग्छ । थाक्दिनँ । लेख्न रमाउँछु ।’
प्रतिक्रियाबाटै उत्साहित
पाठ्यक्रममा परेका कथाबाट राम्रो प्रतिक्रिया बटुल्न थालेका छन् उनले । तिनै प्रतिक्रियाले थप प्रेरणा मिल्दै जाने बताउँछन् बजगाई । ‘कोर्समा परेपछि विद्यालयका प्रिन्सिपल, सञ्चालकले नेपाल आउँदा जसरी पनि विद्यालय पसेर जानु भन्नुहुन्छ,’ उनी भन्छन्, ‘म एकदम उत्सुक छु । मलाई एकदम प्रेरणा मिलेको छ ।’
कथा लेख्दै गर्दा बेलायतको पाठ्यक्रम र नेपाली पाठ्यक्रम पनि दाँज्छन् उनी । ‘बेलायतमा कक्षा १२ सम्म सबै पढाइ निःशुल्क हुन्छ । निजी स्कुल एकदम कम छन् । तर, पढाइ उही हो । पाठ्यक्रम सशक्त छ । पूर्वाधार राम्रा छन् विद्यालयमा,’ बजगाईले भने, ‘पाठ्यक्रम बढी जानकारीमूलक लाग्य यहाँको । काठमाडौं र कर्णालीको ज्ञानको स्तर फरक भएझैं होला नेपाल र बेलायतको ।’
पाठ्यक्रममा किताब पर्न सोर्सफोर्स चाहिन्छ भन्ने आरोप पनि लाग्छ । अझ कृष्णको त तीन वर्षमै २१ वटा कथा परेका छन् । के पाठ्यक्रममा किताब पर्न सोर्सफोर्स नै चाहिने हो त ? ‘पाठ्यक्रम भनसुनबाट हुँदैन । लेखकलाई पाठ्यक्रम निर्देशिका हुन्छ । सबै क्षेत्र समेट्नुपर्छ । आफ्नै सामग्रीसमेत हाल्न पाउँदैनन् लेखक सम्पादकले,’ बजगाई भन्छन्, ‘सरकारीको त झन् थुप्रै स्कुलमा परीक्षण गरेपछि रेटिङ राम्रो आएपछिमात्र प्रकाशन फाइनल हुनेरहेछ ।’
बेलायतमा साहित्यकै साधनामा
बेलायतबाट समकालीन साहित्य वेब पत्रिकामा १६ वर्षदेखि साधनारत छन् बजगाई । यो पत्रिकामा संस्थापक अध्यक्ष एवं प्रकाशक हुन् । यतिमात्र हैन नेपाली साहित्यको अनुसन्धानमूलक साहित्यिक पत्रिका ‘प्रवासन’ पनि प्रकाशन गर्छन् उनी । प्रवासनका प्रधान सम्पादक उनी धरानमा प्रकाशन हुने संसार साप्ताहिकमा २०४१ मा कविता प्रकाशन गरेपछि साहित्य क्षेत्रमा उदाएका हुन् । उनले धरानमा रहँदै विभिन्न आठ साहित्यिक सँगालो सम्पादन गरेका थिए । २०६५ देखि लघुकथा समाज नेपालका अन्तर्राष्ट्रिय संयोजक रहेका उनी यसअघि विभिन्न संघसंस्थामा आबद्ध थिए ।
‘सानैदेखि साहित्यमा रुचि थियो । नेपालमा पनि लेखिरहन्थे । धरानमै ९–१० साहित्यिक पत्रिकाको सम्पादन गर्ने अवसर प्राप्त भयो, स्थान विशेष कविहरुको आँखामा धरान कविता सम्पादन गर्ने मौका मिल्यो,’ बजगाई भन्छन् ।कक्षा १२ को नेपालीमा बजगाईको यन्त्रमानव लघुकथा पढाइ हुन्छ । त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा स्नातक तहमा उनको नियात्रा पढाइ हुन्छ । बर्मा, क्यानडा र अमेरिकामासमेत उनको कथा पढाइ हुन थालेको छ । ‘बर्मामा सरकारी विद्यालयमै कक्षा ९ मा पढाइ हुन थालेको छ भने अमेरिका र क्यानडामा नेपाली सामुदायिक विद्यालयमा कथा पढाइ हुन थालेको छ,’ बजगाईले भने ।
नयाँ सर्जकलाई सुझाव
वि.सं. २०७२ मा सत्यमोहन जोशी शताब्दी पदकसहित आधा दर्जन सम्मान तथा पुरस्कार पाइसकेका बजगाई नेपाली लेखकहरु अझै पनि नोकर बसेको कथालाई प्राथमिकताका साथ लेख्ने गरेकोमा अचम्म मान्छन् । ‘विकासका कथा, सामाजिक कथा छन् । नयाँ कुरा ल्याउनु लेखकको शक्ति हो । नोकर बसेको कथा पुरानो भइसक्यो,’ उनी भन्छन्, ‘समाज बुझ्नुप¥यो पहिले । त्यहाँ के आवश्यकता छ बुझ्नुपर्छ । ज्ञानको झिल्को दिन प्रयास लेखकले गर्ने हो । त्यही झिल्कोले विकासको आगो बल्ने हो । अनुशासन देशप्रेम प्रेम यहीबाट आउँछ ।’
बाल सिर्जनाको ट्रेन्डमा परिवर्तन आउनुपर्ने उनको भनाइ छ । ‘बच्चा बदलिसके, लेखक बदलेन भने अप्ठ्यारो पर्छ,’ उनी भन्छन्, ‘लेखकले आफूलाई अपडेट गर्नुप¥यो ।’लेखकले कुनै पनि विषयलाई नजरअन्दाज गर्न नहुने बजगाईको बुझाइ छ । ‘पहाड, हिमाल र तराईका कथा आउनुपर्छ । नजरअन्दाज गर्नु भएन । लेखन संस्कृति परिस्कृत गर्नुपर्ने देखिन्छ,’ उनले भने ।
[caption id="attachment_62717" align="alignleft" width="221"]
.[/caption]
पाठ्यक्रममा परेका बजगाईका कथा
१. कथाः लत
पुस्तकः नेपाली माला (तह ३), २०८०
प्रकाशकः नेपाली पाठशाला अफ मेरिल्यान्ड अमेरिका
२. कथाः गाउँले रोबोट
पुस्तकः सुनगाभा नेपाली शृंखला (कक्षा ५), २०८०
प्रकाशकः ग्रिन बुक्स काठमाडौं
३. कथाः भ्यु टावर
पुस्तकः नेपाली ज्ञानमाला (कक्षा ५), २०८०
प्रकाशकः सेन्चुरी बुक्स लिमिटेड काठमाडांै
४. कथाः रोबोट गाउँ
पुस्तकः नेपाली (कक्षा ५), २०८०
प्रकाशकः नेपाल सरकार पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुर
५. कथाः जादू
पुस्तकः स्वर्णिम नेपाली (कक्षा ५), २०८०
प्रकाशकः स्वर्णिम पब्लिकेसन पोखरा
६. कथाः घामको खेती
पुस्तकः मेरो नेपाली (कक्षा ५), २०८०
प्रकाशकः संगम बुक्स प्रकाशन
७. कथाः डेबिड सर
पुस्तकः नेपाली माला (कक्षा ५), २०८०
प्रकाशकः प्रसिद्ध प्रकाशन प्रालि
८. कथाः पाहुना गाउँ
पुस्तकः नेपाली शृंखला (कक्षा ५), २०८०
प्रकाशकः एकता बुक्स
९. कथाः कथा भन्ने घर
पुस्तकः सजिलो नेपाली (कक्षा ५), २०८०
प्रकाशकः निमा पुस्तक प्रकाशन काठमाडौं ।
१०. कथाः बतासे डाँडामा पंखा
पुस्तकः मिठो नेपाली (कक्षा ५), २०८०
प्रकाशकः सनराइज पब्लिकेसन्स् काठमाडौं
११. कथाः जंगलको अस्पताल
पुस्तकः हाम्रो नेपाली माला (कक्षा ५), २०८०
प्रकाशकः टाइम्स इन्टरनेसनल पब्लिकेसन काठमाडौं
१२. कथाः लिफ्टको मजा
पुस्तकः निमा सजिलो नेपाली (कक्षा ४), २०७७
प्रकाशकः निमा पुस्तक प्रकाशन, काठमाडौं,
१३. कथाः सुटुक्क डुल्न जाँदा
पुस्तकः निमा सजिलो नेपाली (कक्षा ६), २०७८
प्रकाशकः निमा पुस्तक प्रकाशन, काठमाडौं
१४. कथाः जापान घुमाउने कुकुर
पुस्तकः हाम्रो नेपाली माला (कक्षा ७), २०७९
प्रकाशकः टाइम्स पब्लिकेसन प्रालि काठमाडौं
१५. कथाः आगो ओकल्ने पहाड
पुस्तकः मिठो नेपाली (कक्षा ७), २०७९
प्रकाशकः सनराइज, काठमाण्डौं
१६. कथाः फूलबारी गाउँ घुम्न जाऔं
पुस्तकः संगम मेरो नेपाली (कक्षा ७), २०७९
प्रकाशकः संगम बुक्स पब्लिकेसन प्रा.लि. काठमाडौं
१७. कथाः बाघमारा जंगल
पुस्तकः बोधगम्य नेपाली भाषा संसार(कक्षा ७), २०७९
प्रकाशकः कान्तिपुर एजुकेसन डेभलपमेन्ट काउनिसल, काठमाडौं
१८. कथाः डाक्टर चुचु
पुस्तकः नेपाली भाषा संसार(कक्षा ४), २०७९
प्रकाशकः कान्तिपुर एजुकेसन डेभलपमेन्ट काउनिसल, काठमाडौं
१९. कथाः कम्प्युटर बाजे
पुस्तकः नेपाली ज्ञानमाला (कक्षा ७), २०७९
प्रकाशकः सेञ्चुरी बुक्स, काठमाडौं
२०. कथाः डाक्टर गोठाले
पुस्तकः स्वर्णिम नेपाली(कक्षा ६), २०७९
प्रकाशकः स्वर्णिम पब्लिकेसन, पोखरा
२१. कथाः रोबोट सर
पुस्तकः स्वर्णिम नेपाली(कक्षा ४), २०७९