काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार काठमाडौंमा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ भव्यताका साथ सम्पन्न गरेको छ । उक्त भब्य कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झाले उद्घाटन गरेका छन् । कार्यक्रममा सीईओ झाले नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेस्डर भनेकै देशका कुनाकुनामा पुगेर जीवन बीमाका बारेमा सचेतना फैलाउने सम्पूर्ण अभिकर्ता भएको बताए । त्यसैले कम्पनीले सक्रिय अभिकर्ताहरू अझ बढाएर चालू आवमा दोब्बर गर्ने लक्ष्य राखेको सीईओ झाले बताए ।
बीमाबाटै देशको समृद्धि, नागरिकको भविष्यमा आइपर्ने जोखिम न्यूनीकरणर अभिकर्ताको पनि भविष्य निर्माण गर्न सकिने उनको कथन थियो । सो अवसरमा सीईओ झाले बीमा गराउनुभन्दा पहिले बीमा गर्ने व्यक्तिको आर्थिक स्थिति बुझेर, जीवन बीमाको आवश्यकता महसुस गराएर मात्र बीमा गराउन सुझाव दिए । सीईओ झाले भने, ‘बीमा विश्वासमा हुन्छ, अभिकर्ताको बोलीमा हुन्छ, त्यसैले सबै अभिकर्ताले बीमा के हो र किन आवश्यक छ भन्ने चेतना आम नागरिकमा जगाउनुपर्छ । साथै बीमितको विश्वासमा आँच आउने काम गर्नु हुँदैन । त्यसपछि मात्र आम नागरिकमा बीमा गर्नुपर्छ भन्ने चेतनाको विकास हुन्छ, हरेक व्यक्ति बीमामा आवद्ध हुन चाहन्छन् र आफैँ अभिकर्ताको खोजी गर्दै आउनेछन् ।’
कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले स्वागत मन्तव्य राखेका थिए । पेशागत बीमा अभिकर्ता संघ केन्द्रीय समितिका अध्यक्ष नन्दप्रसाद तिवारीले अभिकर्ताहरू र कम्पनी दुवै पक्षको सहकार्यले नै कम्पनीले यो सफलता हात पारेको दाबी गरे । त्यस्तै, पेशागत बीमा अभिकर्ता संघ बीमक समिति (नेपाल लाइफ) का अध्यक्ष राजेन्द्र अमात्यले नेपाल लाइफको उच्च व्यवस्थापनको सही निर्णयले नै कम्पनीले उच्च स्थान हासिल गर्न सकेको बताए । कार्यक्रममा सगरमाथाको आरोहण गर्ने पहिलो नेपाली फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गरियो । सो कार्यक्रममा मोटिभेटर बालकृष्ण शर्माले प्रशिक्षण दिएका थिए । कार्यक्रममा वरिष्ठ सहायक महाप्रबन्धक उमापति पोखरेल, प्रशासन एवं मानव संसाधन प्रमुख सोन बहादुर मगर र कम्युनिकेसन तथा ब्राण्डिङ विभाग प्रमुख मेघेन्द्र प्रकाश गिरीले व्यवस्थापन गरेका थिए । कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका क्षेत्रीय प्रमुख दिवाकर बरालको सभापतित्वमा सम्पन्न भएको थियो ।