काठमाडौं– नेपाल टेलिकमले विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा कम्पनीको वार्षिकोत्सव (२०७६ माघ २२ गते) देखि नै लागू भइसकेको छ र आगामी चैत ३० गतेसम्म उपयोग गर्न सकिने छ । यो भन्दा पहिले उपलब्ध अटम अफरअन्तर्गतका सेवाहरूमा केही थप सुविधा तथा नयाँ प्याकेज समेत उपलब्ध गराएर विन्टर अफर ल्याइएको छ । जीएसएम प्रिपेड÷पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा यी अफर प्रयोग गर्न सकिन्छ । टेलिकमले सार्वजनिक गरेको योजनाअनुसार अल टाइम डाटा प्याक, डे डाटा प्याक, नाइट डाटा प्याक, सोसियल मिडिया प्याक, युट्युब (स्ट्रिमिङ) डाटा प्याक, डे टाइम भ्वाइस प्याक, पोष्टपेड प्याक, बिग डाटा प्याकलगायतका अफरहरू रहेका छन् । पहिलो पटक नेपाल टेलिकम एप डाउनलोड गर्ने ग्राहकलाई एक सय एमबी डाटा भोल्युम बोनसको रूपमा समेत उपलब्ध गराउने नेपाल टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।