‘लौन स्कूलबाट फोन आऽको आइ छ, भर्ना गर्ने भए तुरुन्तै गर्नूस् नगर्ने भए हामी नाम काटिदिन्छौं भनेका छन्,’ गंगाधर ढोकाबाट पस्न नपाउँदै पूर्णिमाले श्रीमान्सँग बिन्ती बिसाइ । दिनभर कार्यालयको तनावमा रहेको गंगाधरले केही पनि जवाफ फर्काएन । पूर्णिमालाई झनक्क रिस उठ्छ । ‘हैन कस्तो औँशीको रातजस्तो कालो अनुहार बनाएर बोल्दै नबोलेको भन्या ? सुन्नुभएन छोराछोरी दुवैको नाम काटिदिने रे ?’
सर्टको टाँक फुकाल्दै दुःखी स्वरमा गंगाधरको आवाज निस्कन्छ, ‘ठीकै छ नि त काटिदिए काटिदिन्छ के गर्ने त ? मैले के गरौं ? दुई–चार दिन ढिला त भइहाल्छ नि ! त्यही भन्देऊ । हरेक वर्ष भर्ना गर्नुपर्ने भन्ने पनि हुन्छ ? के हो के हो स्कूलको पारा ।’
‘तपाईंले भन्या जस्तो हुन्छ नि ? भोलि नाम काटिदियो भने के गर्ने नि ? तीन दिनभित्र भर्ना शुल्क, दुई महिनाको मासिक शुल्क, कापी कलम, ड्रेस, जुत्ता मोजा सबैको पैसा लिएर आउनु भनेकी छन् ।’
‘होइन के तालको आइमाई हो तिमी ? भन्नेबित्तिकै रुखबाट फल्छ पैसा । फ्रिमा कसले पढाइदे भनेको छ र ? खाइनखाई भए पनि तिनेरुका पैसा तिरिदिएकै छ नि ! लुट्न पनि कति सक्या भन्या ।’‘के गर्ने त बच्चाबच्चीलाई नपढाइ भएन । तिनिहरुकै लागि भनेर त गाउँ छाडेर आइयो । गाउँमै बसेको भए त जसोतसो चलिहाल्थ्यो नि ।’
‘ल ल भयो धेरै कचकच नगर । कोभिड नभाको भए उतै हुन्थे, भन्नेबित्तिकै पैसा पठाउने गरेको थिएँ क्यार ! अब के गर्नु कोभिडले सत्यानाशै ग¥यो नि । न गाउँ फर्कनु न विदेश जानु, यता न उता भइयो । तिमीलाई गाउँमा बस भनेर भनेकै थिएँ त । पैसा हुञ्जेल गाउँका सरकारी स्कूला मास्टर नै हुँदैनन्, सहराँ छोराछोरी पढाउने भन्दै आको होइन ?’
पूर्णिमा रिसले आँखा तर्दै भन्छे, ‘अँ अँ मैलेमात्रै हो नि ! छोराछोरीको भविष्य गाउँमा बसेर हुने भइदिएको भए साराका सारा किन ओर्लन्थे सहराँ ?’‘ल भैगो छाडिदेऊ, बेकारमा टेन्सन बढ्छ । यो देशै त्यस्तै हो । कहिल्यै पनि राम्रो हुँदैन । स्कूल भनेका शिक्षा बाँड्ने सामाजिक काम हो नि । स्कूललाई पसलजस्तो गरेर पनि हुन्छ ? बच्चाबच्चीलाई नपढाइ पनि नहुने, पढाउन स्कूल होटल हो कि पसल हो छुट्याउनै गाह्रो हुन थालिसक्यो,’ गंगाधर एक्लै फतफताउँछ ।
भोलिपल्ट गंगाधर बिहानै दुई–चार जना चिनेजानेकालाई फोन गर्छ । तर उसको फोनको फोन कसैले पनि उठाउँदैन । बल्लबल्ल केशवले उसको फोन उठाउँछ र भन्छ, ‘के हो गंगाधर आज कताबाट सम्झिस् ?’गंगाधरले नढाँटिकन भन्छ, ‘किन हुनु अप्ठ्यारो परेसी सम्झिने त हो ? मलाई बच्चाबच्चीको भर्ना गर्न अलिकति पैसो चाहिएको थियो सहयोग गर्छस् कि भनेर फोन गरेको ?’
उताबाट जवाफ आउँछ, ‘कुरो त ठिकै हो तर के गर्नु मेरो पनि हालत उस्तै छ । बल्लबल्ल हिजो छोरीको भर्ना गरें । अहिले त निकै कठिन छ ?’
गंगाधर भन्छ, ‘लौन जसरी भए पनि खोजिदेन, बरु ब्याजस्याज तिरौला क्या ! तैँले त सहकारीहरु पनि चिनेको छस् । के गर्नु छोराछोरी त बढाउनैप¥यो ।’‘हुन त हो नि, के गर्ने मेरो त तनाव नै छ नि । होटलजस्तै छ स्कूल । मासिक शुल्कमात्र तिर्नुपर्ने भएपो ! लुगाफाटो, किताब कापी, खाना खाजा अनिवार्य छ । कमाको पैसा त सबै स्कूललाई बुझाउँदै ठीक छ । अरु त सबै ब्याजमै चलिराको छ मेरो पनि अहिलेलाई केही गर्न सक्दिन नरिसा है,’ केशवले फोन काटिदिन्छ ।
गंगाधर छटपटिन्छ, ‘खै के गरेर पढाउने हो । कसरी चल्छ हो यसरी ? यो स्कूलको मनपरी कसले रोक्ने होला खै ?’ तनावमा देखिएका गंगाधरले पूर्णिमालाई बोलाउँदै भन्छ, ‘खै कसैले पैसा पत्याउला जस्तो छैन । बरु त्यो तिमीले बिहेमा बनाको सिक्री बेचौं अनि स्कूललाई तिरौं । अरु त केही उपाय नै नलाग्ला जस्तो छ ।’
पूर्णिमा गर्जिन्छे, ‘अहँ हुन्न त्यो त । भएभरका सबै सिध्याइसकेर बाँकी त्यही एउटा सिक्री छ त्यो पनि बेचेर स्कूले फिस तिर्ने कुरा म मान्दै मान्दिन ।’श्रीमतीको कुराले गंगाधर कता–कता खिन्न हुन्छ । ऊ केही नबोली कोठाबाट बाहिर निस्कन्छ । छिमेकमा रहेको सहकारीको कार्यालयमा जान्छ । ऋणका लागि कुरा गर्छ । सहकारीले ऋण दिन तयार पनि हुन्छ तर ब्याज भने निकै चर्को हुन्छ । सहकारीले लिने भनेको ब्याज सुनेर गंगाधर तर्सन्छ । तर पनि उसको बाध्यता छ छोराछोरी पढाउनुपर्ने ।
सहकारीले अनेक शीर्षक जोडेर करिब २३ प्रतिशत ब्याज निकाल्छ । निचोरेको कागतीजस्तै अनुहार बनाएर गंगाधर हुन्छ भन्ने संकेतमा मुण्टो हल्लाउँछ । तर, बोली फुट्दैन । जब सहकारी सञ्चालकले धितो बन्धकको कुरा गर्छन् त्यसपछि गंगाधरलाई एैठन हुन्छ । गंगाधरसँग सहकारीमा राख्नका लागि कुनै धितो छैन । धितो नभए ऋण दिन नसक्ने सहकारीको निष्कर्षसँगै ऊ त्यहाँबाट सीधै स्कूलमा पुग्छ ।
करिब आधा घण्टाको पर्खाइपछि बल्ल रिसेप्सनमा बसेकी बहिनीले मूल्यसूचिसहितको चिर्कटो कागज दिएर प्रिन्सिपलको कोठामा पु¥याउँछिन् । त्यही कागजको चिर्कटोबाहेक गंगाधरको ध्यान अन्यत्र जाँदैन । प्रिन्सिपललाई नमस्कार गर्दै ऊ अगाडि राखेको सोफामा बस्छ ।
प्रिन्सिपल गंगाधरलाई सोध्छन्, ‘सब ठीक छ नि ? हेर्नुस् यो पटक स्कूलको भवन बनाउने भएकाले दुई महिनाको शुल्क अगाडि नै मागेका छौं । तपाईंहरुलाई दुःख दिन त मन थिएन तर के गर्नु हाम्रो पनि बाध्यता छ । गंगाधर भित्रभित्रै जलिरहेको छ तर, पनि मुस्कुराउँदै भन्छ, ‘ठीकै छ यस्तै त हो ? बरु सर यो खाना खाजा घरबाटै ल्याउने व्यवस्था गरिदिँदा सजिलो हुन्थ्यो होला !’
गंगाधरको कुरा भूइँमा खस्न नपाउँदा प्रिन्सिपल भन्छन्, ‘हेर्नूस्, अब यो त स्कूलको नियम नै हो । केटाकेटीलाई ९ बजे स्कूल बोलाउनुपर्छ गाह्रो हुन्छ । अझ यो वर्षबाट त हामीले साँझ अबेरसम्म राख्ने तयारी गरिरहेका छौं । होमवर्क, कोचिङ त्यस्तै हो । के गर्नु प्रतिस्पर्धा छ । बरु हजुरलाई गाह्रो हुन्छ भने तीन किस्तामा तिर्दा पनि हुन्छ । तर जुत्ता, मोजा, ड्रेस, कापी कलमका लागिचाहिँ त्यही लेखिदिएको छ, काउण्टरमा बुझाएर जानुहोला । गत वर्षजस्तो दुई–चार दिन नभनिदिनुहोला ।’
विचरा ! गंगाधर । जे भन्न आएको त्यही कुरा नगर्नू भन्ने प्रिन्सिपलको अन्तिम भनाइले हिस्स पर्नुबाहेक केही गर्न सकेन । ऊ एकोहोरो टोलाउँछ । ऊ सोफाबाट उठ्नै सक्दैन । सायद उसको कुनै विकल्प नै छैन ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८० ११:४२