काठमाडौं– यो काफल फल्ने सिजन हो । मध्य र पहाडी क्षेत्रका वन जङ्गलमा अहिले काफल पाकिरहेको छ । पहाडी जङ्गलमा फलेका काफल यतिबेला तराईका बजारमा बिक्री भइरहेको छ । नेपालगन्ज, कोहलपुरलगायतका बजारमा यतिबेला व्यापारीलाई काफल बिक्रीले व्यस्त बनाएको छ ।
काफल बिक्रीमा दैनिक रु दुई हजार आम्दानी हुने गरेको किसानहरु बताउँछन् । रोल्पाबाट दाङ हँुदै नेपालगञ्जमा काफल बिक्री गर्न आएका व्यापारी खगेन्द्र बुढामगरले दैनिक चारदेखि पाँच क्यारेट (डाला) काफल बिक्री गर्ने बताए। काफलले नेपालगञ्जमा राम्रो बजार पाएको उनले सुनाए। काफल बिक्रीका लागि घोराहीबाट नेपालगजमा आएका अर्का व्यापारी हरि नारायण चौधरी यसबाट राम्रो आम्दानी भएको बताए ।
काफल स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । काफल पेटका लागि निकै फाइदाजनक हुने गरेको स्वास्थ्यकर्मी कबिराम बढाथोकी बताउछन्। पहाडमा पलेको काफलभित्रको पोषक तत्वलाई जोगाई ब्राण्डिङ गरेर बिक्री गर्नुपर्ने नेपालगन्ज उपमहानगरपालिकाका पूर्ववडाध्यक्ष सुनिल सिंह हमालको भनाइ छ । काफलको बोक्रा पिसेर त्यही धूलोले मञ्जन गरेमा दाँतको दुखाइ निको हुने वरिष्ठ आयुर्वेद डा रामबहादुर बोहराको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८० १६:१६