खेलमा प्रदर्शन जतिसुकै राम्रो भए पनि अन्तिम लक्ष्य जित हो । अन्तर्राष्ट्रिय खेलहरुमा देशले गरेको प्रतिनिधित्व अझ महŒवपूर्ण हुन्छ । मंगलबार एसिसी प्रिमियर कपको फाइनल खेल यस्तै महŒवको भयो । सोमबार वर्षाबाट प्रभावित भएपछि खेल मंगलबारसम्म लम्बिएको थियो ।
खेलमा नेपालले युएईलाई सात विकेटले हराउँदै सानदार जित निकाल्यो । योसँगै नेपालले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपका लागि आफ्नो स्थान सुरक्षित गरेको छ । नेपालले त्यहाँ भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।केही समयअघि खस्किएको नेपाली क्रिकेटको लय फेरि लोभलाग्दो गरी उक्लिँदो छ ।
मोन्टी देसाई मुख्य प्रशिक्षक पाएसँगै क्रिकेटले सुधारको लय समातेको हो । यसअघि मनोज प्रभाकरको पालामा क्रिकेट लथालिंग भएको थियो । क्रिकेटको बेहाल पारा सम्हाल्न नसकेपछि प्रभाकर सम्झौता सकिनुअघि नै राजीनामा दिएर हिँडेका थिए ।
नेपाली खेलजगतमा अन्तर्राष्ट्रियस्तरको खेलमा ‘फ्यान फलोइङ’ धेरै भएको खेल क्रिकेट नै हो ।
तर, बेलाबखत विभिन्न कारण क्रिकेट पनि कमजोर बनेको थियो । कहिले खेलाडीले नियमित प्रशिक्षण नपाएर त कहिले नियमित अभ्यास गर्न नपाएर । पारस खड्का, करण केसी, ज्ञानेन्द्र मल्लहरु चम्केको समयमा नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०१६ देखि क्यानलाई राजनीतिक हस्तक्षेप र आर्थिक पारदर्शितामाथि प्रश्न उठाउँदै छ वर्ष निलम्बनमा राख्यो । एक वर्षअघि २०७९ जेठमा क्यानलाई आइसिसीले निलम्बन फुकुवा गरेको हो ।
क्यानबाट फुकुवा पाएयता नेपाली क्रिकेटले उत्कृष्ट लय समात्नु खेल क्षेत्रका लागि खुसीको कुरा हो । एसिसी प्रिमियर कपको फाइनल जित्नु अझ गर्वको विषय । अघिल्ला खेलहरुमा अमुक खेलाडीको भरमा खेलको भाग्य तय हुन्थ्यो । यसपटक खेलमा ‘टिम स्पिरिट’ मजबुद देखिएको छ । यसपटकको जितमा कुनै एक खेलाडीमाथि भर पर्नुभन्दा सबै खेलाडीको उत्तिकै योगदान देखियो । खेलमा सामूहिक भावना फर्काउनसक्नु नयाँ मुख्य प्रशिक्षकको सफलता मान्नुपर्छ ।
यसको प्रशंसा गर्नैपर्छ ।उसो त नेपालमा प्रशिक्षण सम्हाल्न आउने कतिपय ‘स्टन्ट’ गर्दै प्रशंसा बटुल्न पछि पर्दैनन् । प्रशंसापछि घमण्डले कतिपय यस्ता प्रशिक्षक असफल भएका उदाहरण छन् । तर, देसाई चुपचाप सफलतातिर अघि बढे पनि प्रचारमा उत्रिएका छैनन् । यसरी अघि बढेकै कारण टिमले फाइनल खेल जितेको छ । नेपाली टोलीलाई धेरै धेरै बधाई तथा एसिया कपका लागि शुभकामना ।
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८० १५:२२