काठमाडौं- नेपाल तामाङ घेदुङले गाउँ-गाउँसम्म संगठन विस्तार गर्न ‘नाम्सा-नाम्सारी घेदुङ’ (गाउँ-गाउँमा घेदुङ) अभियान घोषणा गरेको छ । तामाङ भूमि र तामाङ समुदायसँग घेदुङको सम्बन्ध विस्तार अभियानको रूपमा यसलाई अघि बढाउने बताइएको छ ।
यही वैशाख १६ र १७ गते कास्कीमा सम्पन्न घेदुङको संघीय कार्यसमितिको चौथो पूर्णबैठकको निर्णय सार्वजनिक गर्न बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । ‘तामाङ ह्युल थेन ह्युलबादा थुइबा ल्हाम, नाम्सा-नाम्सारी घेदुङ भन्ने मूल नारासहित घेदुङको संगठन निर्माण अभियान सञ्चालन गरिनेछ,’ घेदुङका संघीय अध्यक्ष मोहन गोलेले भने, ‘अभियान पहिलो चरणमा ताम्सालिङ क्षेत्रका जिल्लाहरूमा केन्द्रित गरिनेछ ।’
अभियानले स्थानीय तहसम्म घेदुङको संगठन निर्माण, प्रशिक्षण गर्नुका साथै तामाङ जनता र तामाङ भूमि ताम्सालिङसँग घेदुङको सम्बन्ध विस्तार हुने उनको भनाइ छ । अभियान सञ्चालनका लागि अध्यक्ष गोलेको संयोजकत्वमा समिति गठन गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यस्तै घेदुङको भवन खरिद अभियानलाई थप प्रभावकारी रुपमा अगाडि बढाउने निर्णयसमेत बैठकले गरेको अध्यक्ष गोलेले बताए । ‘अहिले काठमाडौं बौद्धस्थित लाहुरे टोलमा घेदुङको साँस्कृतिक भवन खरिदको प्रक्रिया अगाडि बढिसकेको छ,’ उनले भने, ‘उक्त भवन खरिदका लागि विभिन्न संघ/संस्था, दातृ निकाय, व्यक्ति तथा सरकारी निकायहरूबाट भवन खरिदका लागि सहयोग रकम संकलन भइरहेको छ । आर्थिक संकलन अभियानलाई अझ तीव्र गतिमा अगाडि बढाउँदै आगामी चैत १ गतेसम्ममा भवन खरिद गरिसक्ने लक्ष्य लिएको छ ।’
भवन खरिद अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन संघीय सहअध्यक्ष कुमारसिंह घिसिङको संयोजकत्वमा गठित समितिलाई विशेष जिम्मेवारी प्रदान गरेको उनले जानकारी दिए ।
कास्की बैठकले मातृभाषा शिक्षाका लागि हालसम्म घेदुङले गरेका प्रयासहरूको समीक्षा गर्दै आगामी दिनमा तामाङ मातृभाषाको शिक्षा कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष गोलेले बताए । ‘घेदुङको पहल र समन्वयमा केही स्थानीय तहहरुमा तामाङ मातृभाषामा पठनपाठन प्रराम्भ भएको छ । उक्त अभियानलाई थप तीव्रता दिन आवश्यक ठोस कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याउन महासचिव काजिमान थिङ तामाङलाई जिम्मेवारी प्रदान गरेको,’ उनले भने ।
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८० १८:०५