काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्न आग्रह गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा आयोगले उक्त आग्रह गरेको हो । साथै पत्रकारको सुरक्षा गर्न पनि आयोगले आग्रह गरेको छ ।
'प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारको सम्बन्ध अन्योन्याश्रित रहने हुनाले प्रेस स्वतन्त्रता पत्रकारको लागि मात्र आवश्यक नभई सबै नागरिकको आवश्यकताको विषय हो,' आयोगले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, 'कुनै पनि बहानामा प्रेसमाथि अङ्कुश लगाउने कार्य लोकतान्त्रिक राज्यको लागि शोभनीय हुँदैन, पछिल्लो समय स्वतन्त्रताको सीमाहीन अभ्यास र घृणायुक्त अभिव्यक्तिको मारमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पर्दै गएकोप्रति आयोग चिन्ता व्यक्त गर्दछ ।'
आयोगले घृणायुक्त अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि नै हानी पुर्याउने हुँदा अभिव्यक्ति स्वतन्त्रताको आवरणमा हुने घृणायुक्त अभिव्यक्तिप्रति सम्बन्धित निकायबाट नियमन हुनु आवश्यक रहेको जनाएको छ । नेपाललगायत विश्वमा नै मानव अधिकारको महत्वपूर्ण संवाहक रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको चुनौती भने कायमै भएको अयोगको ठहर छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८० १८:२४