काठमाडौं– नेपाली फिल्म ‘सेन्टी भाइरस’को अन्तर्राष्ट्रिय राइटस् निकै महँगोमा बिक्री भएको छ । उक्त फिल्मलाई अमेरिकाको नेप्सिने कम्पनीले १ करोड १५ लाख रूपैयाँमा किनेको हो ।
यस फिल्मको मुनाफाको ५० प्रतिशत चितवनमा निर्माणाधिन ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’मा खर्चने घोषणा गरेसँगै अन्तर्राष्ट्रिय वितरण अधिकार महँगोमा बिकेको हो । निर्माण कम्पनी र नेप्सिने कम्पनीबीच यसको खरिद सम्झौता भएको छ ।
रामबाबु गुरुङ निर्देशित यो फिल्म ९ फागुनमा रिलिज हुँदैछ । फिल्ममा सीताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेललगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।