नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहहरु पक्राउ पर्ने क्रम जारी छ । काठमाडौं प्रहरीको विशेष टोलीले यो प्रकरणमा दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङलाई पक्रेपछि ‘ठूला माछा’ पक्रन सुरु गरेको छ ।
सुरुमा प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राईलाई पक्राउ गर्यो । लगत्तै बुधबार सरकारका बहालवाला सचिव टेकनारायण पाण्डेलाई भक्तपुरबाट नियन्त्रणमा लियो ।
बुधबार साँझै नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ परेका छन् । पूर्वमन्त्रीसमेत रहेका रायमाझीलाई भने पक्राउको सूचीमा राखे पनि नियन्त्रणमा लिएको छैन । पक्राउ पुर्जी भने जारी भइसकेको छ ।अमेरिकाको सपना देखाएर करोड–करोड कुम्ल्याउने सरकारी उच्च ओहोदाका कर्मचारीदेखि मन्त्रालय सम्हालेका नेताहरु पक्रिनु भ्रष्टाचारीको जालो तोडिनु हो ।
यो प्रकरणबाट थाहा हुन्छ ठगीको जालो सानो छैन । पछिल्लो समय सरकारी निकायदेखि निजी क्षेत्रमा सेटिङमै ठगी हुने गरेको छ । सुरुमा वैदेशिक रोजगारको क्षेत्रमा मौलाएको सेटिङले अहिले देशको कुनाकुनामा पुगेको सरकारी निकाय गाँजेको छ । अझ स्थानीय तहका सरकारी निकायमा यस्तो सेटिङ डरलाग्दो गरी फैलिँदो छ ।
भुटानीको नाममा अमेरिका पुर्याउने लोभ देखाइ ५०० जनाभन्दा बढीलाई ठग्न राज्यको ठूलै संयन्त्र लागेको देखिन्छ । यसमा पक्कै पनि मन्त्रीहरुको पनि संलग्नता भएको हुनुपर्छ । यो प्रकरणले जनतालाई सुरक्षा दिने र ठग, चोर, डाँकालाई नियन्त्रणमा लिई कारबाही गर्ने थलोमै ठगहरुको राज रहेको पुष्टि हुन्छ ।
सचिव पाण्डे गृहसचिव भएकै बेला नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गिरोहसँग लेनदेनमा सक्रिय भएको देखिन्छ । भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको गोप्य प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै नेपालीलाई शरणार्थी बनाएको खुलेको छ ।
यो घटनामा लहरो तान्दा पहरो खस्ने निश्चित छ तर यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले साहस गर्नैपर्छ । पक्कै पनि यस्तो विषयमा त्यतिबेलाका गृहमन्त्री थापाको पनि संलग्नता अनुसन्धान हुनुपर्छ । ठगी प्रकरणमा पक्राउ परेका पाँच जनाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख प्रेमकुमार राई र पूर्वगृहमन्त्री थापाकी धर्मपत्नी नैनाकला थापाकोसमेत नाम लिएका छन् । राई पूर्वगृहसचिव हुन् ।
यसैगरी अघिल्ला गृहमन्त्रीहरुको नाम पनि यो प्रकरणमा मुछिएको छ । सबैलाई नछुटाई अनुसन्धान गरेर एकएक कारबाही होस् । निर्दोष नफस्ने र दोषी नउम्किने गरी ठगीको जालो तोड सरकार !
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८० १३:३०