पदम श्रेष्ठ
जीवन र जगतबारे वैज्ञानिक, आत्मिक जागरण ल्याउने भगवान् बुद्धको जन्म, सम्बोधी र महापरिनिर्वाण दिवस बुद्धजयन्तीको दिन संयुक्त राष्ट्रसंघले समेत बिदाको घोषणा गरी विश्वभर मनाइने गरेको छ । थोरै जनलाई मात्र थाहा भएको सवाल हो– नेपालमा चैत पूर्णिमाको ल्हुती पून्ही, वैशाख पूर्णिमा स्वायाँ पून्ही र ज्येष्ठ पूर्णिमा नम्रा पून्ही गरी तीनपल्ट बुद्धजयन्ती मनाइन्छ ।
उपत्यकामा शाक्य बज्राचार्य र तराईका थारुले चैत पूर्णिमालाई बुद्धजयन्तीका रूपमा मनाउँछन् । बहुसंख्यक बौद्धमार्गीहरुले भने वैशाख पूर्णिमाको दिनलाई बुद्धजयन्तीका रूपमा मनाउने परम्परा छ । वैशाख पूर्णिमालाई बुद्धजयन्तीका रूपमा मनाउने परम्परा श्रीलंका, थाइल्याण्ड, बर्मा आदि थेरवादी देशको पात्रोअनुरूप भित्रिएको हो । जुन धर्मावलम्बीले जातीय संस्कारअनुरुप जहिले बुद्ध जयन्ती मनाएता पनि मूल बुद्धको दर्शन शान्ति अहिंसा र सदाचारको सन्देशमा एकरुपता पाइन्छ ।
सृष्टिको बारेमा मात्र सवाल उठाउने हो भने पनि... अन्य मतपन्थमा संसारको सृष्टि ईश्वरबाट भयो भन्ने गरिन्छ तर बुद्धले ब्रह्माण्डको सृष्टि अलौकिक ईश्वरले नभई हेतु–हेतु अर्थात् पञ्चतत्वबाट भएको तथ्य पस्किएका छन् । पञ्चतत्व (आकाश, वायु, अग्नि, जल र पृथ्वी) लाई हामी सुनेर, सुँघेर, स्वाद लिएर, देखेर र अनुभव स्पर्शद्वारा अनुभूति गर्न सक्छौं । पञ्चतत्वकै भोग इच्छाका कारण पाँच अंग नाक, कान, आँखा, छाला र शरीर उत्पत्ति भएको मानिन्छ ।
यी हाम्रा अंगलाई ब्रह्माण्डसँग तुलना गर्दा शरीरका प्वाल सबै आकाशको प्रतीक हो भने स्वर प्राण वायु, ताप अग्नि हो । त्यस्तै रगत–पसिनालाई पानी र हाड, मासु, नसा पृथ्वीको प्रतिकृति हो । शब्द, स्पर्श, रूप, रस र गन्धलाई पञ्चगुण मानिन्छ । यसरी हेर्दै जाँदा आकाश शून्यतामा उत्पन्न हुन्छ । अकाशमा वायु उत्पन्न हुन्छ । वायुले अग्नि, ताप र अग्निको कारण जल सृष्टि भयो– बुद्ध दर्शनको सन्देश हो यो । यी सबैको संयोजनबाट पृथ्वी र पृथ्वीका प्राणी सिर्जना भए । जसलाई बौद्धवादी शून्यताबाट ब्रह्माण्डको सृष्टि भएको मान्दछन् ।
जुन सत्यलाई इ.पू. ५२३ मा नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धले बुद्धत्व प्राप्तिपछि विश्वसामु उजागर गरेका हुन् । यही सत्यलाई यसरी पनि व्याख्या गर्न सकिन्छ– पृथ्वी जलमा मिल्छ । जल अग्निले सुकाउँछ । अग्निलाई वायुले निभाउँछ र वायु आकाशमा हराउँछ । यसरी शून्यताबाट सिर्जित सृष्टि शून्यतामा नै बिलाएर जाने हुँदा बुद्ध शून्यवादमा आधारित वैज्ञानिक धर्म हो भनिन्छ ।
बुद्ध धर्म : दुःख मुक्तिको उपाय
बौद्ध गुरूहरू बुद्धधर्मलाई परनिर्भरताविरुद्धको शान्तिपूर्ण आन्दोलन हो, जुन दुःख मुक्तिको उपाय हो भन्न रुचाउँछन् । बुद्धलाई बुझ्न संसारमा सबै प्राणी दुःखी छन्, दुःख उत्पन्नको कारण हुन्छ, जस्तोसुकै दुःखबाट मुक्त हुन सकिन्छ र दुःख मुक्तिको उपाय आर्य अष्टांगिक मार्ग हो भनी स्पष्ट गर्न सकिन्छ । माथि उल्लिखित चार सत्यलाई चतुर्आर्य (चार आर्य) सत्य भनिन्छ र चतुर्आर्य सत्यलाई बुझिसकेपछि हामीले पनि दुःखबारे स्पष्ट हुन सक्दछौंं ।
-जन्मनु दुःख हो, वृद्ध हुँदै जानु दुःख हो र रोगव्याधिले थला परी मृत्यु हुनु पनि दुःख हो भनी बुझिन्छ ।
- दुःखको मूल कारण काम, क्रोध, लोभ, मोह र अहंकार अर्थात् तृष्णा हो ।
-बुद्धले दुःख मुक्तिको उपाय आर्य अष्टांगिक मार्गलाई स्पष्ट पारेका छन् । अन्य धर्ममा दुःख मुक्तिको उपाय ईश्वर भक्तिलाई मानेको पाइन्छ । तर, बुद्धले धनी, गरिब, बलियो, निर्धो सबैलाई समान देख्ने सम्यक दृष्टि र सबैसँग मीठो बोल्ने, सम्यक वचनलाई दुःख मुक्तिको उपाय मानेका छन् ।
नेपाल विचित्रको बहुजाति, बहुधर्मी, बहुसंस्कृति भएको देश हो । यहाँ एकै समय, एकै जाति, धर्म संस्कृतिमा पनि भिन्नाभिन्नै पर्व मनाइँदै आइरहेको छ । यस्तैमा विश्वभर बुद्ध जयन्ती मनाइरहँदा किरात समुदायमाचाहिँ यस दिन उधौली वा साकेला भव्य मनाइरहेका छन् भने बनेपामा चण्डेश्वरी जात्रा, पलाञ्चोक जात्रा ।
बुद्धजयन्तीकै दिन बनेपा भ्वतः चण्डेश्वरी जात्राः
नेपाल भाषामा त्यो पनि नेपाल नै हो भनिने बनेपामा प्रत्येक वर्ष बुद्धजयन्तीको दिन चण्डेश्वरी अजिमाँको खटजात्रा हुने गर्दछ । चण्डीपूर्णिमा पनि भनिने यस दिन काभ्रेको ऐतिहासिक आठ नेवार बस्ती साँगा, ख्वपासी, नाला, धुलिखेल, श्रीखण्डपुर, चौकोट र पनौती एकसाथ जात्रामय बन्दछ । किराँतकालमा भुजुङ र तिब्बतमार्गको बस्ती भएबाट भोत भनिने बनेपाको चण्डेश्वरी जात्रा विशेष चर्चित छ । जुन जात्रा बनेपा नगरको ऐतिहासिक अष्टमातृका पीठमध्ये एउटा पीठ जगाउने जात्रा मानिन्छ ।
तर, आख्यानअनुसार एक समय चण्डेश्वरी ललितपुरको बुंगद्यो रातो मच्छिन्द्रनाथको रथारोहण जात्रा हेर्न जाँदा ठूलो उत्पात गरी फर्किन्छन् । त्यसैले रातो मच्छिन्द्रनाथ चण्डेश्वरी जात्रा हेर्न बनेपा पुग्दा लाजले देवी चन्दनको रुखमा लुकी मरेको जस्तैगरी जात्रा अगाडि बढाएछन् । यही आख्यानको आधारमा चण्डेश्वरीको मृत्यु भइसक्यो भन्ने देखाउन जात्रामा कहाँ बाजा बजाउने, टोपी–जुत्ता नलगाउने र देवतालाई मृतकजस्तै उत्तानो पारेर लैजाने परम्परा बाँकी नै छ ।
बुद्ध जयन्ती र पलाञ्चोक भगवती जात्राः
किम्वदन्तीअनुसार काभ्रे पलाञ्चोकको बुच्चाकोतका एक जना श्रेष्ठलाई सपनामा मलाई उत्तरतर्फ लानू भनी आदेश दिएछन् । अज्ञात कलाकारद्वारा निर्मित कालो ढुंगाको कलात्मक एक फिट अग्लो भगवतीलाई लैजाँदै गर्दा बीच बाटोमा देवता जानै मानेनछन् ।
जहाँ देवीलाई प्रतिष्थापित गरी मखन बहालका बज्राचार्य पूजारी राखी जात्रा थालेको बताइन्छ । बुद्धजयन्तीका दिन बनेपा चण्डेश्वरी जात्राको मूल पूजा भइरहँदा पलाञ्चोक भगवती जात्राका लागि द्यःछेबाट धामी काम्दै भगवतीलाई खटमा प्रतिस्थापित गराइन्छ ।
बनेपा चण्डेश्वरी, नाला भगवती, धुलिखेल भगवती, नाक्साल भगवती, साँगा नासिका र शोभावती दिदी–बहिनी भएको कारण पलाञ्चोक भगवती जात्राअघि उल्लिखित देवस्थलबाट फूल–अक्षता र जल ल्याउने परम्परा छ । जल–प्रसादसँग बोका बलि दिई तीन दिनसम्म भव्य खटजात्रा हुने गर्दछ ।
भनिन्छ– विश्वप्रसिद्ध कलात्मक पलाञ्चोक भगवतीको मूर्ति बनाउने कलाकारले अन्य ठाउँमा त्यस्तो मूर्ति बनाउन नसकोस् भनी दायाँ हात काटिदिए । बायाँ हातले नक्साल भगवतीको मूर्ति बनाएपश्चात् त्यही बायाँ हात पनि काटिदिएपछि खुट्टाले धुलिखेल भगवती र शोभा भगवतीको मूर्ति तयार गरी कलाको दुनियाँमा नमूना प्रस्तुत गरेको भनाइ छ ।
उभौली (चण्डी पूर्णिमा):
वसन्त ऋतु आरुको बोटमा फूल फुलिरहेको बेला, जब उत्तरी गोलाद्र्धमा गर्मी सुरू हुन्छ, तब भूमध्यसागरतिर क¥याङकुरुङका बथान चोमोलोङ्मा (सगरमाथा) काटेर साइवेरियातर्फ लाग्दछ । ठीक त्यसै बेला किरात भूमिका राई, लिम्बू, याक्खा, सुनुवारहरू धर्ती साह्रै शिथिल छ भन्ने थानी किसान खेत पस्दैनन् । बरु साकेला नाच्न ढोल झ्याम्टा बोकेर फेङ्मा, लेक्पा र सुलुली मन्दिरमा पूजाका लागि लावालस्करसहित भेला हुन्छन् ।
वैशाख पूर्णिमा बुद्धजयन्तीको बेला किरात समुदाय सुंगुर, गोरु, भेडा, राँगा आदि बलि दिएर उभौली मनाइरहेका हुन्छन् । किरात मुलतः मूर्तिपूजक होइनन् तर साकेला (उभौली) पर्वमा मूर्ति पुज्ने प्रथाबारे मुन्धुम धर्मशास्त्रले पृथ्वी उत्पत्तिसँग आख्यान जोडेको पाइन्छ । पृथ्वी उत्पत्तिसँगै लुगाका लागि सुम्निमाले तान बुनिरहेको ठाउँमा पारुहाङले अति राम्रो काँगियो (सुखुप) आकाशबाट खसालिदिएछन् । खुसीले गदगद सुम्निमाले आवेगमा यति राम्रो काँगियो खसाल्नेसँगै विवाह गर्ने प्रतिज्ञा गरिन् ।
तत्काल बूढोको भेषमा देखिएका पारुहाङलाई देख्दा भने सुम्निमाले कुरूप बूढासँग विवाह नगर्ने वचन फेरिन् । बोलीको टुंगो नभएकी सुम्निमालाई झुक्याएर पारुहाङले वीज खुवाइदिए, नभन्दै उनी गर्भवती भइन् । सो कुरा सुलुली युवकले सुम्निमालाई सुनाए, तत्काल सोच्दै नसोची आफूले कसैसँग शारीरिक सम्पर्क नगरेको हुँदा गर्भ रही छोरी जन्मी भने तिमीसँग नै विवाह गरिदिउँला । नभन्दै फेङमा नाउँकी छोरी त जन्मिइन् तर छोरीले लेक्पा नाउँका केटालाई मन पराउन थालिन् ।
सुम्निमाले धनु र तरवार युद्धमा जसले जित्ला उसैसँग फेङमा छोरीको विवाह गराइदिने घोषणा गरिन् । फेङमाका लागि लेक्पा र सलुलीबीचको युद्धमा लेक्पाको हत्या हुन्छ । आफ्ना प्रेमीको हत्यामा भावविह्वल फेङमा पनि सोही तरवारले सेरिएर आत्महत्या गर्छिन् भने सुलुलीको पनि हृदयघात भई देहान्त हुन पुग्दछ । यही आख्यानका आधारमा लेक्पा, फेङमा र सुलुली थानमा पूजा गर्न जाने परम्परा बसेको बताइन्छ भने प्रत्येक वर्ष साकेला नाच्दा किराती पुर्खा सुम्निमा र पारुहाङका शिष्यबीच धनु तरवारयुद्ध प्रतियोगिता हुँदै आइरहेको पाइन्छ ।
१५ दिने चण्डी पूर्णिमाः
वैशाख पूर्णिमादेखि झण्डै १५ दिनसम्म वर्षात् राम्रो भई अन्नपात सप्रियोस भनी कामना गर्दै साकेला उभौली नाचेर मनाइन्छ । किरातका ४२ भाषामध्ये वान्तवा भाषामा साकेन्वा सिली, सम्पाङ भाषामा साकाल, थुलुङ भाषामा तोषी, खालिङ भाषामा भूमेपूजा, वाम्बुले भाषामा मानियो सिली, कुलुङ भाषामा साख्ले सिली, छिन्ताङ भाषामा वाधाङ र नेपाल भाषामा चण्डीप्याखँ भनिने साकेला सिली पृथ्वीमा सृष्टि भएका सम्पूर्ण जीवयुद्ध परम्परागत गतिविधि प्रदर्शन गर्दै नृत्य गर्ने गरिन्छ ।
चण्डी नाच अर्थात् साकेला सिलीबारे प्रचलित किम्वदन्तीअनुसार पारुहाङ सुम्निमाबीचको सम्बन्धबाट पहिलो मानिस, दोस्रो बाघ, तेस्रो भालु, र चौथो बाँसको जन्म भयो । बच्चा हुकर्दै जाँदा एक्लो सुम्निमालाई छोडेर पारुहाङ गायव भएछ । सिकार र कन्दमुल खोज्ने क्रममा सुन्निमाले ढुंगामाथि एक किसिमको लहरा फेला पारिन् । त्यो लहरा चाख्दा मनलाई सौर्यवान वीर्यवान प्रफूल्लित मनको कुरा पोख्न उत्प्रेरित गर्ने खालको गुण पाइन् ।
एकदिन अचानक घर आइपुगेका पारुहाङलाई सुन्निमाले त्यही बुटी खुवाइन् र बुटीको स्वभावअनुरूप हर्षविभोर पारुहाङले आफू स्वर्ग र नर्कको दृश्यावलोकन गर्ने चोमोलुङमा (विश्वको सर्वोच्च शिखर सगरमाथा) ध्यानमा बसेको बताए । यसैबीच आफ्ना चार सन्तानलाई हुर्काएकोमा भावविभोर हुँदै पारुहाङ सुन्निमाका साथ नाच्न थाले । यस आख्यानको आधार पनि साकेला सिली नृत्यमा हुने गर्दछ ।
अर्को किम्वदन्तीअनुसार दोलखाका किराती राजा बुद्धहाङ आफ्नो पुर्खाले गुमाएको नेपाल खाल्टो पुनःप्राप्त गर्ने आफ्ना सबै प्रजालाई स्थानीय टुँडिखेलमा भेला गराई कूलदेवता हेन्कुबुंगको भव्य पूजा गर्दथे । मुन्धुम धर्मशास्त्रअनुसार पूजा क्रममा राजा बुद्धहाङलाई बहिनी सोइसोइलाले भृगुचराको प्वाँखजति श्रीपेच पहिराइदिने गर्थिन् । यसै क्रममा एकपल्ट बहिनी सोइसोइला मासिक रक्तश्राप हुन पुगिछन् । लाज र ग्लानी वंश श्रीपेच त्यही फ्याँकी सोइसोइला जंगल पसिन् ।
आश्चर्यचकित जनसमुदायले ‘कुम्भादो सोइसोइला, कुम्भादो’ भन्दै बोलाउन थाले तर सोइसोइला फर्किनन् । भूइँमा खसेको श्रीपेच ढुंगामा परिणत हुनपुग्यो । तत्काल त्यहाँ दुई समूह देखापरे– दोलोको शक्ति सोइसोइलासँगै जंगल गयो भनी विश्वास गरी अड्डी कस्ने प्रकृतिपूजक लिम्बू कहलाए भने दोलोको शक्ति श्रीपेच खसेकै ढुंगामा छ भनी विश्वास गर्ने खुम्बु (राई)का रूपमा प्रख्यात भए । त्यसै बेलादेखि किरातीहरू चाडपर्वका बेला नाम्छोङ्ग पुरोहितद्वारा चोखो, शुद्ध रही पारुहाङ–सुम्निमाको प्रतीक दुई ढुंगा र बीचमा सानो लिंग उभ्याई नाचगानसहित पूजा गर्ने परम्परा थालनी भएको हो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८० १०:४३