सरकारले चीनमा रहेका नेपाली विद्यार्थीलाई उद्दार गर्न सकेको छैन । आज र भोलि भन्दाभन्दै हप्ता दिन बितिसक्दा पनि सरकारले उनीहरूलाई उद्दार गर्न सकेको छैन । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको त्रासमा रहेका नेपाली विद्यार्थीलाई सरकारले उद्दार गर्नुको साटो उनीहरूलाई काठमाडौंमा ल्याएर राख्ने स्थानको खोजी गरिरहेको छ । उनीहरूलाई ल्याएर भक्तपुरको खरिपाटीमा राख्न खोजिएको भए पनि स्थानीय तहले मानेको छैन । यत्ति मात्र होइन, उक्त स्थानमा राख्न नदिने भनेर स्थानीय तहले निर्णय नै गरेपछि सरकार झन् अन्योलमा परेको छ । सरकारले चाँडै उद्दार गरिने बताए पनि हप्ता दिनसम्म पनि उनीहरूलाई उद्दार गर्न नसक्नु सरकारको निकम्मापन भन्न सकिन्छ । चीनमा कोरोना भाइरसको संक्रमण फैलिरहेको छ । जसबाट त्यहाँ रहेका नेपाली त्रसित छन् । उनीहरू कोठा बाहिर निस्किने अवस्था छैन । यस्तो अवस्थामा उनीहरू अहिले चीनको वुआन प्रान्तमा मर्नु न बाँच्नुको अवस्थामा छन् ।
हप्ता दिनदेखि उनीहरू खान र बस्न पनि पाएका छैनन् । कोरोनाको त्रासबाट अहिले उनीहरू चिन्तित अवस्थामा छन् । अहिले बाहिर निस्कन सक्ने अवस्था छैन । यता, काठमाडौंमा विद्यार्थीका अभिभावकहरूले छिटो उद्धार गर्न सरकारलाई दबाब दिइरहेका छन् । सरकारले उनीहरूलाई उद्धार गर्न तदारुकता नदेखाएपछि अभिभावकहरू राष्ट्रिय मानवअधिकार आयोगसम्म पुग्नु परेको छ । सरकारले चाँडै उद्दार गरिन्छ भन्ने शब्द दोहोर्याउँदै आएको छ । यत्ति मात्र होइन, नेपाली उद्दारका लागि तीन विमान तयारी अवस्थामा रहेकोसमेत जनाउँदै आएको छ । तर, उनीहरूलाई उद्धार गर्नमा सरकार उदासिन देखिएको छ । सरकारले आफ्ना छोराछोरीहरूको उद्दारमा तदारुकता नदिँदा नेपालमा अभिभावकहरू चिन्तामा डुबेका छन् । सरकारले उनीहरूलाई जतिचाँडो स्वदेश फकाउनुपर्छ । चीनमा सैयौँको संख्यामा नेपाली विद्यार्थी रहेका छन् ।
सरकारले उनीहरूलाई आगामी हप्ता उद्धार गर्ने भनेर भनिरहेको छ । अहिले उनीहरू चीनमा कैयौँ दिनदेखि आफ्नै कोठाभित्र सीमित रहँदा जेलमा बसेसरह भएको अनुभूति गरिरहेका छन् । कोरोना भाइरसका कारण बजारहरू बन्द गरिएका छन् । कैयौँ मुलुकले त्यहाँ रहेका आफ्ना नागरिकलाई फिर्ता लगिसकेका कारण नेपालीहरू एक्लिएका छन् । तर, सरकारले भने उनीहरूलाई नेपालमा ल्याएर राख्ने स्थान नहुँदा उनीहरूलाई तत्काल उद्धार गर्न सरकार अनिच्छुक देखिन्छ । खानेकुरा तथा पानीको समेत अभाव हुन थालेपछि नेपालीहरू अहिले अप्ठ्यारो अवस्थामा देखिन्छन् । उनीहरूलाई उद्धार गरेपछि निगरानी गर्नका लागि सरकारले ६० जना स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । त्यसो गरिएको भए पनि उनीहरूलाई कहिले ल्याउने भनेर सरकारले अझै निर्णय गर्न सकेको छैन । सरकारले उनीहरूलाई उद्धार गरेपछि उपत्यकाका चार स्थान खरिपाटी, शिवपुरी, सूर्यविनायक र इचंगुनारायणमा क्वारेन्टाइनमा राख्न भनिसकेको छ । चीनमा रहेका छोराछोरीलाई तत्काल स्वदेश फिर्ता गर्न अभिभावकहरूले माग गरेका छन्, तर सरकारले उद्धार गर्न नचाहेको देखिन्छ । अहिलेसम्म उक्त भाइरसबाट ९ सय १० जनाको मृत्यु भएको छ । तर, सरकारले भने यसलाई वास्ता गरेको देखिएको छैन ।
प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६ ०८:१४