आज शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६७औं जन्म जयन्ती । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्वमा शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आममानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ ।
राजकुमारका रूपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसका दुःख देखेर दरबार छोडी तपस्याका लागि निस्केपछि इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धगयास्थित पीपलको रूख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरे । बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएको ज्ञान हो ।
यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरूलाई प्रवचन (धर्मदेशना) का माध्यमबाट बाँडेका थिए । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसापूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण (मृत्यु) प्राप्त गरे ।
विश्वजगत्मा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आममानिसलाई दिए । यसै कारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको छ ।
आजै उभौली पर्व । वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किरात समुदायले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआउन् भनेर भूमि, बाली र पितृ पूजा गर्ने गर्दछन् ।
त्यसैगरी पानी पर्न थालेपछि नदी, खोला, खहरेमासमेत पानी बढ्दै जाने समयमा प्रकृति पूजक किरात समुदायले माछा उकालो (उँभो) पानी आउने ठाउँतिर बसाइँ सरेको समयलाई समेत उभौलीको संकेतका रूपमा यो पर्व मनाइने गरेको पाइन्छ ।
त्यसका साथै विभिन्न परम्परागत नृत्य गर्दै र मिष्ठान्न परिकार खाएर आपसमा सुख, शान्ति, सुस्वास्थ्यको आदानप्रदान गरी रमाइलोसँग उभौली पर्व मनाउने परम्परा रहेको छ । किरात समुदायको बाहुल्यता भएको नेपालका पूर्वी जिल्लाहरू र उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायहरूमा यो पर्वलाई भव्यरूपमा मनाउने गरिन्छ । बुद्ध जयन्ती र उभौलीको अवसरमा सबैलाई हार्दिक शुभकामना ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८० १२:४९