काठमाण्डौं – मंगलबार सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लबलाई ३–० गोलको अन्तरले पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
कप्तान भरत खवास, विकास तामाङ र टेकबहादुर बुढाथोकीले एक–एक गोल गर्दै आर्मीलाई जीत दिलाए । खेलको पाँचौँ मिनेटमा कप्तान भरतको गोलले आर्मीलाई अग्रता दियो । नेपाली फुटबलकै माथिल्लो श्रेणीको ‘ए’ डिभिजन लिगमा यस गोल भरतको ५०औँ गोल हो । खेलको दोस्रो गोल भने विकासले ५४औँ मिनेटमा गरे । खेलको अन्तिम गोल भने टेकबहादुरले ७०औँ मिनेटमा गर्दै आर्मीलाई ३–० को सहज जीत दिलाए । यस जीतपश्चात आर्मीले शीर्ष स्थानमा रही एक अङ्कको अग्रता बनाएको छ । आर्मीले १२ खेलमा २९ अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको मच्छिन्द्रको भने २८ अङ्क रहेको छ । १२औँ स्थानमा रहेको ब्रिगेडको आठ अङ्क छ ।