काठमाडौं (प्रस)– साउदी अरेबियाबाट नेपाल फर्किने क्रममा सडक दुर्घटनामा परेका भक्तमणि रखाललाई नेपाल ल्याइएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका घर भएका रखाललाई साउदीस्थित नेपाली दूतावासको विशेष पहलमा ४ मेका दिन नेपाल ल्याइएको हो ।
गत २१ जनवरी २०२३ का दिन नेपाल फर्किनका लागि विमानस्थल जाँदै गर्दा रखाललाई पछाडिबाट गाडीले ठक्कर दिएको थियो । लामो समयसम्म कोमामा रहेका रखालको स्वास्थ्यवस्थामा क्रमशः सुधार हुँदै गइरहेको र परिवारले छिटो पठाइदिन गरेको अनुरोधका कारण नेपाल पठाइएको दूतावासले जनाएको छ ।
उनको किङ अब्दुल्लाह मेडिकल सिटी अस्पतालमा उपचार भएको थियो । रखाललाई ठक्कर दिने सवारीसाधनबारे प्रहरीले हालसम्म पनि कुनै विवरण प्राप्त गर्न नसकेको दूतावासले उल्लेख गरेको छ । उनी वैदेशिक रोजगारीको शिलशिलामा विगत सात वर्षदेखि साउदीमा थिए ।
रखाललाई नेपाल ल्याउँदा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोरेको जनाउँदै हाल परिवारले जिम्मा लिएर अस्पतालमा भर्ना गरी थप उपचारको क्रममा रहेको दूतावासले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८० १०:५३