काठमाण्डौं – प्रतिनिधिसभा सदस्यहरुले संसदमा चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभा बैठकमा समय माग गर्दै उनीहरुले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई फिर्ता ल्याएर राखिने ‘क्वारेन्टाइन स्थल’ विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार तत्काल व्यवस्था गरी उद्धार गर्नुपर्नेमा जोड दिए ।
सांसदहरुले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा नेपाली फसेको उल्लेख गर्दै तत्काल उनीहरुलाई उद्धार गरी नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराए । यस सम्बन्धमा संसदीय छलफलमा उचित प्राथमिकता पाउन नसकेको सन्दर्भसमेत उठेको थियो । सांसदहरुले कोरोना भाइरस प्रभावित क्षेत्रबाट ल्याइने नेपालीलाई राखिने ‘क्वारेन्टाइन स्थल’का रुपमा भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा राख्ने गरी तोकिनुमा जनताको भावना नबुझिएको दाबी गरे । उद्धार गरी ल्याइएकालाई घना बस्तीभन्दा टाढा राख्न पनि सरकारलाई सुझाइएको थियो ।
प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६ १७:०४