काठमाडौं- संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।
शनिबार विपक्षी दलका नेतासमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले ४८ घण्टाको समय राखेर परिषद्को बैठक बोलाएको हो ।
बैठक साँझ ६ बजेका लागि तय गरिएको छ । बैठकमा प्रधानन्यायाधीशका सम्बन्धमा परिषद्मा सहमति र संवैधानिक व्यवस्था अनुसार सर्वसम्मतिबाट सिफारिसको विषय बैठकको कार्यसूची रहेको छ ।
यसअघि वैशाख ६ गते राखिएको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश सिफारिसका सम्बन्धमा निर्णय हुन सकेको थिएन । करिब १५ महिनादेखि खाली रहेको प्रधानन्यायाधीशको पदपूर्तिका लागि प्रधानमन्त्री प्रचण्डले सक्रियता देखाउँदै आएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८० १३:१७