काठमाडौं (प्रस)– वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको पृथ्वीनरायण नगरपालिका–१० स्थायी घर भई हाल काठमाडौं नयाँ बसपार्क बस्ने ३१ वर्षीया सुदीप लामा तामाङ रहेका छन् ।
तामाङलाई वैदेशिक रोजगारीका लागि कम्बोडिया जान प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्ने भन्दै सोममाया तामाङसमेत गरी तीन जनाबाट पटक–पटक गरी ३१ लाख रुपैयाँ लिई ठगी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । तामाङले कम्बोडियामा एक प्रतिष्ठित कम्पनीमा मासिक दुई लाख रुपैयाँभन्दा बढी तलब हुने कम्प्युटर अपरेटरको काममा लगाइदिने प्रलोभनमा पारी पीडितहरुसँग रकम संकलन गरी फरार रहेको अवस्थामा पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ ।
सोममायालगायतले रोजगारीका लागि कम्बोडिया पठाइदिने नाममा आफूहरु ठगीमा परेको भन्दै वैदेशिक रोजगार विभागमा दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले नयाँ बसपार्कबाटै पक्राउ गरेको जनाइएको छ ।
पीडितहरुबाट पटक–पटक गरी रकम लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा विभागले उनलाई पक्राउ गरी उपस्थित गराइदिन प्रहरीलाई पत्राचार गरेको थियो । पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा बुझाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । यसअघि रोजगारीका लागि कम्बोडिया नै पठाइदिने भन्दै रकम ठगी गरी सम्पर्कविहीन भएका चितवनका राजु श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरी विभागमा बुझाएको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८० १०:३९