काठमाडौं - चालु आर्थिक वर्षको नौ महिनामा वैदेशिक रोजगारीमा जाने र नेपालमा भित्रिने विप्रेषण आप्रवाह (रेमिट्यान्स) दुवै बढेको छ । गत चैत मसान्तसम्मको अवधिमा वैदेशिक रोजागरीमा जान श्रम स्वीकृति लिनेको संख्या ५१.५ प्रतिशतले बढ्दा रेमिट्यान्स २४.२ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार चैत मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।प्रतिवेदनअनुसार नौ महिनाको अवधिमा नेपालमा नौ खर्ब तीन अर्ब ३९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो ।अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । नौ महिनासम्म अमेरिकी डलरमा विप्रेषण आप्रवाह छ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो ।समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले बढेर तीन लाख ८७ हजार ८३९ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले बढेर दुई लाख १७ हजार ९५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० १२:२४