काठमाडौं– चालु आर्थिक वर्षको नवौं महिनामा मुलुकको मूल्यवृद्धि आठ प्रतिशत नजिक पुगेको छ ।
नेपाल राष्ट्र बैंकले गत चैत मसान्तसम्मको विवरण समेटेर बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा महँगी उच्च बिन्दुमा पुगेको पाइएको हो ।
प्रतिवेदनअनुसार चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ७.७६ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२८ प्रतिशत रहेको थियो ।
चालु आर्थिक वर्षको फागुन महिनामा यस्तो मूल्यवृद्धि ७.४४ प्रतिशत रहेको थियो । फागुनको तुलनामा चैतमा महँगी झन् बढेर ७.७६ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि ६.९३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ८.४२ प्रतिशत रहेको छ । खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेष्टुरेण्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १४.६८ प्रतिशत, मरमसलाको १४.६७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.७२ प्रतिशत, फलफूलको ११.०० प्रतिशत र सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत स्वास्थ्य उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.५४ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ८.७४ प्रतिशत र शिक्षाको ८.६७ प्रतिशतले बढेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ८.५७ प्रतिशतले महँगी बढेको छ । अघिल्लो आर्थिक वर्षको चैत महिनामा काठमाडौं उपत्यकाको मूल्यवृद्धि ६.२५ प्रतिशत थियो ।
त्यस्तै तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशत महँगिएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षको चैत महिनामा यी क्षेत्रमा क्रमशः ७.६१ प्रतिशत, ७.७९ प्रतिशत र ८.२५ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० १३:००