काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा विदेशी मुद्रा सञ्चिति करिब १८ प्रतिशतले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गत चैत मसान्तसम्मको विवरण समेटेर सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा यस्तो देखिएको हो ।
प्रतिवेदनअनुसार २०७९ असार मसान्तको तुलनामा चैत मसान्तमा विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले बढेको छ । असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति चैत मसान्तमा बढेर १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । पछिल्लो समय विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्स बढेकोले विदेशी मुद्रा सञ्चितिमा सुधार आएको अर्थविद्हरु बताउँछन् । साथै, नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढेकाले यसमा टेवा पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकोमा २०७९ चैत मसान्तमा १४.८ प्रतिशतले बढेर १० अर्ब ९४ करोड रुपैयाँ कायम भएको प्रतिवेदनमा उल्लेख छ ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०.६ प्रतिशतले बढेर १२ खर्ब ७३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति ०.२ प्रतिशतले बढेर एक खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । गत चैत मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
‘आर्थिक वर्ष २०७९/८० को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.० महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ,’ राष्ट्र बैंकको भनाइ छ । उक्त अवधिमा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ उत्पादन, कूल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २६.६ प्रतिशत, ७८.९ प्रतिशत र २४.४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० १३:३३